नयां राजदूत सुवेदी आज राती लन्डन आउंदै, कार्यभार भोलिदेखि

durga2

राजदूत डा. दुर्गाबहादुर सुवेदी

लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी आज बुधबार लन्डन उत्रंदैछन् । उनी मध्यरात १२ बजे टर्मिनल फोरमा उत्रने तालिका छ ।

राजदूत सुवेदीले भोलिदेखि कार्यभार सम्हाल्ने कार्यवहाक राजदूत शरदराज आरनले जनाए ।

बेलायती विदेश मन्त्रालय (एफसीओ) मा क्रेडेन्सियल बुझाएपछि औपचारिक रुपमा उनले मिसन सम्हाल्नेछन् । महारानीलाई ओहोदा बुझाउने कार्यक्रम भने एफसीओले नै पछि तय गर्नेछ ।

झन्डै अढाइ वर्षपछि लन्डन दूतावासले राजदूत पाएको हो । वि.सं. २०४४ सालमा अधिकृतका रुपमा परराष्ट्र सेवा थालेका सुवेदीले झण्डै तीन दशक अवधिमा परराष्ट्रका विभिन्न निकाय र मिसनमा रहेर काम गरिसकेका छन् ।

यसअघि उनी नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसन र मिनिष्टर काउन्सिलरका रुपमा कार्यरत थिए । उनले बहराइनमा कार्यवहाक राजदूतको भूमिका निभाइसकेका छन् ।

बेलायतस्थित लिड्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए र त्रिभुवन विश्वविद्यालयबाट नेपालको परराष्ट्र र कुटनीति सम्वन्धमा विद्यावारिधी गरेका उनी साहित्यमा दुबसुका नामले चिनिन्छन् । उनका ‘अश्वमेध यज्ञका घोडाहरु’ कविता संग्रह र ‘कोलाज मन’ गजल संग्रह प्रकाशित छन् । उनले ‘तिमीले छोडेका यादहरु’, ‘मुटु चोर्ने आंखाहरु’, ‘चुपचाप चुपचाप’ गीति संग्रह लेखेका 
छन् । सुवेदीका गीत, कविता र गजल गरी झण्डै एक दर्जन बढि साहित्यिक रचना प्रकाशित छन् ।

यसबाहेक सुवेदीले ‘समसामयिक नेपाली गजल’, ‘समकालीन नेपाली कविता’, ‘प्रतिनिधि नेपाली गजल’, ‘समकालीन नेपाली कविताको रुपयात्रा’, ‘म्यान्माली नेपाली कविता’ र ‘मानवअधिकारका लागि नेपाली कविता’ लगायत एक दर्जन बढि साहित्य ग्रन्थको सम्पादन पनि गरेका छन् ।

तीन महिनाअघि लन्डन मिसनमा आइपुगेका कार्यवहाक राजदूत शरदराज आरनले यस अवधिमा बेलायतको नेपाली समुदायलाई नजिकबाट नियाल्ने अवसर पाएको उल्लेख गरे । ‘नेपाली समुदायका धेरै गतिविधिमा प्रत्यक्ष संलग्न हुन पाएं’, उनले भने, ‘नेपाली मेला, लन्डन मेला, आयरल्याण्ड डे लगायत प्रमुख गतिविधिका कारण धेरैलाई चिन्न र बुझ्न 
पाएं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री