पोखरामा २५ श्ययाको मातृशिशु मितेरी अस्पताल उद्घाटन

1475060775723_hb_pkr_121127_hari-photo-3

पोखरा, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मातृशिशु मितेरी अस्पताल पोखरा र जापानको कोमागाने सहरीबीच भएको भगिनी सम्बन्धको प्रतीक भएको बताउनुभएको छ ।

पोखरा उपमहानगरपालिकाको बाटुलेचौरमा सञ्चालन भएको २५ श्ययाको जिल्लास्तरको मातृशिशु मितेरी अस्पतालको यहाँ आज उद्घाटन गर्दै उहाँले अस्पतालले महिला, बालबालिका र गर्भावस्थामा रहेका शिशुको उपचारमा अत्यावश्यक सेवा पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच लामो समयदेखि सुमधुर सम्बन्ध कायम रहेको चर्चा गर्दै जापान नेपालको विकासको एक साझेदार देश भएको धारणा राख्नुभयो ।

प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाले भरिपूर्ण सुन्दर रमणीय पोखरा पर्यटकको गन्तव्यस्थल भएको चर्चा गर्दै राष्ट्रपति भण्डारीले पोखरालाई स्वास्थ्य पर्यटन सहरका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री हुँदा मन्त्रिपरिषद्को बैठकबाट मातृशिशु मितेरी अस्पताललाई २५ श्ययाको जिल्ला अस्पताल बनाउन निर्णायक भूमिका खेलेको भन्दै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

सोही समारोहमा उहाँले अस्पतालको विकासमा उल्लेखनीय योगदान पुरयाउने विभिन्न महानुभावलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नवनिर्मित अस्पतालले मातृशिशु मृत्युदर घटाउन सहयोग पुरयाउने बताउँदै जापान सरकारले आगामी दिनमा पनि यसप्रकारका अन्य सहयोग गर्ने जानकारी दिनुभयो ।

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले नवजात शिशुको मृत्युदर घटाउन नसक्नु अहिले देशका लागि चुतौतीको विषय बनेको धारणा राख्नुभयो । अस्पताल विकास समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा जाइका निर्देशक जुन साकुमाले अस्पतालको निर्माणमा सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

बाटुलेचौर स्वास्थ्य चौकीको स्तरोन्नति र मातृशिशु मितेरी अस्पताललाई समायोजन गरी स्वास्थ्य मन्त्रालयअन्तर्गत जिल्ला अस्पतालका रुपमा सो अस्पताल सञ्चालन गरिएको हो ।

पोखरा उपमहानगरपालिका र जापानको कोमागाने सहरबीच भगिनी सम्बन्ध भएका अवसरमा अस्पताल नेपाल सरकारलाई आज हस्तान्तरण गरिएको हो ।

कोमागाने सहर, नेपाल सरकार र स्थानीय जनसहयोग गरी करिब रु १४ करोड अस्पतालको भवन निर्माण र उपकरण खरिदमा खर्च भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री