बिहीबार, मंसिर ७ २०७४ | Thu, November 23, 2017
नेपालको समय: १३:०७ | UK Time: 07:22

छाती दुखेको बेवास्ता नगरौं – लेखक, साहित्यकार आचार्य

विनेपाली
२०७३ असोज १३ गते ९:४८
आचार्य

आचार्य

२९ सेप्टेम्बरलाई विश्व मुटु दिवसका रुपमा संसारभर मनाइन्छ । विश्वभर मानिसहरु मुटुरोगबाट पीडित हुने क्रम जारी रहंदा यसरोग सम्बन्धि चेतना फैलाउनु दिवसको प्रमुख उद्देश्य हो ।

१८ वर्षको उमेरमा बेलायतमा छात्रवृत्ति पाएर ए लेभल पढ्न 
गोरखाबाट आएका विकलचन्द्र आचार्यलाई अर्थ व्यवस्थापन विषयमा स्नात्तकोत्तर गरेर आफ्नो पेशामा तल्लीन रहंदै गर्दा ३४ वर्षको उमेरमै अकस्मात ह्दयघात भयो । तर, ह्दयघातलाई उनले लुकाएर राखेनन्, बरु आफूलाई लागेको रोगबारे अध्ययन गरे । यसबाट अरुलाई सावधान गराउन मुटुरोग सम्बन्धि दुईवटा किताब लेखे । लगातार लेखहरु प्रकाशित गरिरहन्छन् उनी, मुटुरोगीहरु कहां सम्भव भएसम्म पुग्छन् । मुटुरोग सम्बन्धि चेतना फैलाउन लागि परेका छन् आचार्य ।

चारवटा पुस्तकका लेखक, साहित्यकार एवं नेपलिज हार्ट फाउन्डेसन यूकेका अध्यक्ष आचार्यसंग मुटु दिवसको उपलक्ष्यमा लन्डनमा गरिएको कुराकानीको अंश प्रस्तुत छ ः

विश्व मुटु दिवसको खास सन्देश के हो ?

मुटु हाम्रो प्रधान अंग भएकोले यसको हेरविचार सधैं गर्नुपर्छ । मुटुरोग सम्बन्धि न्यूनतम ज्ञान राखी सबैले मनन गर्नुपर्दछ । समयमा नै सतर्कता अपनाएर मुटुरोगबाट अकालमा कसैले पनि ज्यान गुमाउन वा पीडित हुन नपरोस् भन्ने नै यस दिवसको मुख्य सन्देश हो ।

मुटुरोगबाट जोगिने उपाय के के हुन् ?
कार्डियोभास्कुलर डिजिज भित्र मुटु र सञ्चार सम्बन्धी सबै 
रोगहरू जस्तै कोरोनरी मुटुरोग (एन्जाइना र ह्दयघात) र स्ट्रोक पर्दछन् । यी मान्छे मर्ने रोग मध्य प्रमुख हुन् । मुटुको रोग लाग्ने कुनै एउटा मात्र कारण छैन् तर केही जोखिमका तत्वहरू जस्तै धूमपान, परिवारमा मुटुरोगको इतिहास, उच्च रक्तचाप, उच्च रगत कोलेस्ट्रोल, मधुमेह, मोटोपन, चिन्ता आदिले मुटुरोग लाग्ने सम्भावना बढाउंछ ।
तपाईंलाई आफ्नो नाम, ठेगाना थाहा भएजस्तै आफ्नो कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको मात्राको नम्बर थाहा पाउन जरुरी छ । यही अनुसार खानपान र क्रियाशिलता बढाई आवश्यक परे डाक्टलाई भेट्नु पर्दछ ।
वर्षमा कम्तीमा एकपटक रगत जांच्नुहोस् । यसले कोरोनरी मुटुरोगबाट बच्न वा सावधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ । जोखिमका तत्वहरुलाई समयमा नै ध्यान दिई उचित जीवनशैली अपनाएर मुटुरोगबाट जोगिन सकिन्छ । धुमपान त्याग्ने, मद्यपान छोड्ने या निकै कम गर्ने, प्रशस्त मात्रामा फलफुल र सब्जी खाने, होलग्रेन अन्नहरू, रातो मासुको बदलामा माछा खाने, जनावरबाट पाइने चिल्लो जस्तै बोसो, बटर, घीउ आदि कम गरि थोरै मात्रामा शुद्ध तोरीको तेल, सूर्यमुखी तेल आदि खाने बानी गर्नुपर्छ ।

नेपालीलाई मुटुरोग लाग्ने जोखिम कस्तो छ ?
अध्ययनले यो देखाएको छ कि दक्षिण एसिया र अफ्रो क्यारिबियनका मान्छेहरुलाई कोरोनरी मुटुरोग लाग्ने सम्भावना अन्यत्र देशकालाई भन्दा धेरै बढि हुन्छ । वंशानुगत तथा जीवनशैलीले महत्वपूर्ण भूमिका खेल्दछ । बढ्दो शहरीकरण र अस्वथ्यकर जीवनशैलीले गर्दा नेपालमा कलिलै उमेर देखि मुटुरोगबाट पीडित हुनेको संख्या उल्लेख्य बढिरहेको छ ।

पहिला उमेर ढल्किंदै गएपछि मुटुरोग लाग्छ भनिन्थ्यो । अहिले कलिलै उमेरमा नै किन देखिएको होला ?

बढ्दो महत्वकाक्षा, कम क्रियाशील जीवन, स्वास्थ्य सम्बन्धि न्यूनतम ज्ञानको कमी तथा चिन्ता व्यवस्थित गर्न नसक्नु नै मुख्य कारणहरु हुन् भन्ने मलाई लाग्छ । दैनिक बोझपूर्ण क्रियाकलापले दिमागलाई शिथिल बनाई मानिस संयमबाट दूर भएको अवस्था नै चिन्ताग्रस्त परिवेश हो । चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । यसले गलत क्रियाकलापतिर प्रेरित गर्न सक्छ । जस्तै टेन्सन भयो भनि धुमपान गर्नु, बोर लाग्यो भनि बढी रक्सी पिउनु, अल्छी लाग्यो भनेर धेरै सुत्नु आदिले स्वास्थ्यमा प्रतिकुल असर पार्छ ।

तपाईं आफैं पनि ह्दयघातबाट पीडित हुनु भयो र यसबारे अध्ययन गर्नुभयो, यो किन हुन्छ र यसको लक्षणहरू के के हुन् ?

मुटुले शरीरमा रगत पम्प गर्दछ यद्यपि मुटुको मांसपेशी आफैंलाई रगतको आपूर्ति चाहिन्छ । स्पेशल रगतको भेसलको नेटवर्कलाई 
कोरोनरी आर्टरी भनिन्छ । यहां दुईवटा शाखा हुन्छन् जुन मुटुको सतह मा रहन्छ र ३–४ मिलिमिटर फराकिलो हुन्छ, जसले मुटुमा अक्सिजन आपूर्ति गर्दछ । कोरोनरी आर्टरीहरूको काम रगत र अक्सिजन मुटुको मांसपेशीलाई आपूर्ति गर्नु हो । कोरोनरी मुटुरोग तब हुन्छ जब कोरोनरी आर्टरीहरूका भित्ताहरूमा विस्तार विस्तार चिल्लो जम्मा भइ सांघुरो बनाइन्छ । समयमा आर्टरी यति सांघुरो बन्छ कि यसले चाहिएको बेलामा मुटुको मांसपेसीमा अक्सिजनयुक्त रगत (जस्तो व्यायाम गर्दा) पठाउन सक्दैन । यस्तो अवस्थामा मुटुमा पीडा हुन्छ । यही दुखाइ या असजिलो हुनुको कारणलाई एन्जाइना भनिन्छ । यो अवस्थालाई आर्थलोसोर्लोसिस भनिन्छ र चिल्लो जम्मा भएकोलाई आर्थोरोमा भनिन्छ । जब आर्थोरोमा अस्थिर बन्न पुग्छ, यो टुट्नसक्छ र रगत जम्ने (ब्लड क्लट) हुनसक्ने बनाउन सक्छ । यदि ब्लड क्लटले कोटोनरी आर्टरी बन्द गर्छ भने मुटुको मांसपेशी अक्सिजन र रगत नपाएर त्यसै रहन्छ र सधंैको लागि नोक्सान हुन सक्छ । यसलाई ह्दयघात भनिन्छ । ह्दयघातको अवधिमा जीवन नै जोखिम हुने गरि मुटुका रिदमहरुको विकास हुन सक्छ । त्यसैकारणले ह्दयघातको अकस्मात उपचार गरिन्छ ।
ह्दयघातको लक्षण छातीको बीच भागमा एकदम दुख्ने देखि छातीमा साधारण असुविधा हुन्छ जसले बिरामी जस्तो अनुभव गराउंछ । दुखाई चाहिं एकदम गरुंगो या कसिएको हुन्छ जुन दुखाई पाखुरा, घांटी, गर्धन, पछाडि या भुंडीमा पनि सर्न सक्दछ । घांटी, बंगारा, पाखुरा या भुंडीमा मात्रै असर गर्न सक्छ । ह्दयघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुंगो हुने, वान्ता आउने या श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मान्छेहरू ह्दयघात हुंदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् ।

कहिलेकाहीं ह्दयघात ‘शान्त’ हुन्छ र यसले कम असुविधा महसुस हुन्छ । जस्तै कोही मान्छेलाई छाती दुख्न यति कम हुन्छ कि डाक्टरकहां जांदैनन् । अरू मेडिकल टेष्ट गर्दा धेरै समय पछि थाहा हुन सक्छ अथवा नियमित स्वास्थ्य परीक्षण गर्दा मात्र ह्दयाघात भएको भन्ने पत्ता लाग्छ ।

कसैलाई ह्दयघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स या अस्पताल पुग्नुपर्दछ । धेरै मान्छेहरू एम्बुलेन्स बोलाउन कुर्दा या अस्पताल जान ढिलो गरेर जीवनलाई जोखिममा राख्दछन् । तसर्थ यथाशक्य चांडै अस्पताल पुग्नुपर्छ जसले जीवन बचाउन सक्दछ ।

भनेपछि छाती दुखेको बेवास्ता गर्नु हुंदैन भन्ने हो ?
एकदम सही कुरा हो । सन् ७० र ८० को दशकमा धेरै मानिस अस्पताल नै नगई अकालमा ह्दयाघातबाट मरेपछि पश्चिमी देशका सरकार र गैर सरकारी संस्थाहरुले छाती दुखेको बेवास्ता 
नगरौं… भन्दै धेरै नै विज्ञापन गरि मानिसहरुलाई अस्पताल जान उत्प्रेरित गरेका थिए । यस्ता सन्देशमुलक विज्ञापनको अभ्यासले हालैका दिनमा मानिसमा चेतनाको अभिवृद्धि धेरै भएको छ । तरपनि अझै कयौं मानिसहरु अज्ञानताको कारणले मुटुरोगबाट ज्यानै गुमाउने या पीडित हुने क्रम जारी नै छ । त्यसैले छाती दुखेको बेवास्ता गर्नु हुंदैन, माथि भनिएका लक्षणहरु भए तुरुन्त अस्पताल पुग्नु पर्छ, शंकामा त्यसै बस्नु हुंदैन । समय महत्वपूर्ण हुनसक्छ ।
छाती दुख्ने प्रायः कारण कोरोनरी आर्टरीहरू सांघुरिएर हो । तर सबै छाती दुखाइ वा असुविधा मुटुसंग सम्बन्धित हुंदैन । छोटो चर्को छाती दुखाइ प्राय मांशपेशीय दुखाइ हुनसक्छ । कोही मान्छेहरूलाई चिन्ताले भावविव्हल हुंदा देव्रे स्तनमुनि बिस्तारै लगातार दुखिरहने पनि हुन सक्छ । अपच वा ग्यास्ट्रिकले पनि छातीको बीच भागमा दुख्ने कारण बन्न सक्छ तर साधारणतया यो व्यायाम भन्दा खानासंग सम्बन्धित हुन्छ । हिमोग्लोबिन धेरै कम भएर पनि छाती दुख्ने हुन सक्छ । कोहि महिलालाई महिनावारी हुदां पनि छाती दुख्न सक्छ । मुटुरोगका जोखिमका तत्वहरु भएका मानिसहरुलाई छाती दुखेको छ भने यसलाई झनै बेवास्ता नगरी तुरुन्त डाक्टरको परामर्श लिनुपर्छ ।

तपाईंलाई ३४ वर्षको उमेरमा ह्दयघात भयो, ह्दयघात भइसके पछि सामान्य जीवन बिताउन सकिन्छ ?

सही उपचार गर्ने र माथि चर्चा गरिए अनुसार जोखिमलाइ थाहा पाउने, त्यहि अनुसार जीवनशैली बदल्ने, डाक्टरको सल्लाहमा आफ्नो औषधि समयमा खाने, क्रियाशील बढाउने जस्ता गतिविधिले ह्दयघात भएपछि सामान्य जीवनयापन गर्न सकिन्छ । त्यो बाताबरण घर परिवार लगायत सबैले बुझ्नुपर्छ । ह्दयघात भएको व्यक्तिलाई सधैं बिरामीको रुपमा हेरिनु हुंदैन । मुख्यकुरा स्वास्थ्यकर खाना र क्रियाशील जीवन ह्दयघात भइसकेको व्यक्तिले मात्र गर्ने होइन, सबैले गर्नु जरुरी हुन्छ ।
जीवन एकनासले बग्दैन, कहिले सुसाउंदै त कहिले शान्त हुंदै, कहिले सुन्दर बिहानीमा अनि कहिले अन्धकारमा बग्छ । जस्तोसुकै अवस्थाको पनि सामना गर्न तयार हुनुपर्छ भन्ने नै शिक्षा मेरो लागि भयो ।

नेपालमा मुटुरोगको उपचार के कस्तो देख्नु हुन्छ ?
खासगरी काठमाण्डौंमा मुटुरोगको उपचार राम्रो छ तर यो देश अनुसार महंगो छ । नेपाल जस्तो गरिब देशमा मुटुरोग लागेपछि धेरैले आर्थिक भार खप्नुपर्ने अवस्था भएकोले मुटुरोगबारे चेतना अरु फैलाउन टड्कारो आवश्यकता छ । रोग लागिसकेपछि पनि सही उपचार गरि सतर्कता अपनाउंदै सामान्य जीवन बिताउन सकिन्छ भन्ने कुरा नै मेरो अनुभव छ ।

तपाईं विगत आठ वर्ष देखि मुटुरोगको चेतना फैलाउन लाग्नु भएको छ, के कस्तो अनुभव पाउनुभएको छ ?

मुख्यकुरा हामीमा मुटुरोग सम्बन्धि ज्ञानको अभाव पाएको छु मैले । सामान्य रोगबारे लक्षण थाहा नपाउनु या बेवास्ता गर्नु, अस्पताल जान या अरुलाई भन्न संकोच मान्नु जस्ता कुराहरु मैले धेरैलाई भेटेपछि थाहा पाएको छु । तर, रोग लागिसकेपछि पश्चाताप, भय, एक्लोपन आदि समस्यासंग सामना गरिरहेको मैले देखेको छु । यसमा मैले सक्दो सहयोग गर्ने प्रयास जारी नै राखेको छु ।

मुटु दिवसमा विशेष केही अरु केही भन्नु छ ?
माथि भनिएअनुसार आफ्नो स्वास्थ्यका लागि आफू स्वयं जागरूप होऔं । आफ्नो ज्यानको आफैंले हेरविचार गर्ने हो । स्वास्थ्यकर जीवनशैलीबारे जानकारी लिइ अपनाउने काम गरौं । मुटुरोगको कारणबाट ज्यान गुमाउने या पीडित हुनुपर्ने क्षण कसैले पनि भोग्नु नपरोस् भन्ने मेरो कामना हो । स्वास्थ्य सम्बन्धि न्यूनतम जानकारी आफू राखांै र अरुलाई पनि सिकाउने काम गरौं । जीवन भनेको अनुपम हो, त्येसैले सबै सधंै खुशी भइ हरदिन उत्सवको रुपमा मनाऔं ।

प्रस्तुतिः नवीन पोखरेल

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक