‘मुटु’ पछि करिश्मा घमको ‘स्पन्दन’

karishma

लण्डन । गीतकार तथा कवयित्री करिश्मा घमको दोस्रो गीति एल्बम ‘स्पन्दन’ सार्वजनिक भएको छ ।
आस्फोर्ड केन्टस्थित केनिङ्टनमा शनिबार आयोजित कार्यक्रममा कवि औतारी साइला, राप्ती समाज बेलायतका अध्यक्ष हिक्मतसिङ रोका लगायतका अतिथिहरुले सो एल्बम विमोचन गरेका थिए ।
कार्यक्रममा उक्त एल्वममा समावेश ‘आँखाभरि तिम्रै तस्विर’ बोलको गीतको श्रव्यदृश्य समेत कार्यक्रमका प्रमुख अतिथिको हातबाट सार्वजनिक गरिएको थियो ।

साहित्यकार घमको एकल शब्द रहेको उक्त गीति एल्वममा बेलायतका युवा गायक गंगाराज राईको एकल स्वर रहेको छ भने बसन्त सापकोटा, महेश खड्का, कल्याण सिंह र गायक राई स्वयमले पनि केही गीतमा संगीत भरेका छन् । त्यस्तैगरी गायक राईका साथमा गीतकार स्वयम घमले पनि एउटा गीतमा आवाज दिएकी छिन् ।

बेलायतबासी साहित्यकार नमराज राईले संचालन गरेको उक्त विमोचन कार्यक्रममा विश्व नेपाली सहित्य महासंघ साउथ युके महासचिव जानुका राईले स्वागत मन्तब्य दिने क्रममा देशबाट टाढा रहेतापनि आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली भाषा, सहित्य र संगीतको सेवाका लागि साहित्यकार घम र गायक राईले महत्वपूर्ण योगदान पुर्याउँदै बताइन् ।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ साउथ युकेका अध्यक्ष विजय हितानले सहित्यकार घमका ‘स्पन्दन’ एल्वमको समीक्षा गर्दै नेपाली साहित्य र संगीत क्षेत्रमा गीत र कविताजस्ता विधामा सशक्त रुपमा कलम चलाउँदै आएकी साहित्यकार घमका सृजनाहरु पहिलो गीति एल्वम ‘मुटु’को गीतहरु भन्दा यो दोस्रो एल्वमका गीतहरुको संरचनागत पक्ष अझ परिस्कृत हुँदै आएको बताए । उनले प्रस्तुत एल्बममा भाषाशैली सबैले सहजतासाथ बुझ्न सक्ने सरल रहेको धारणा व्यक्त गरे भने गायक गंगाराज राईको आवाजमा स्वर सम्राट स्वर्गीय नारायण गोपालको गन्ध पाइने पनि उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि हिक्मतसिं रोकाले शुभकामना मन्तब्य दिने क्रममा आफ्नै जिल्लावासी चेली घमले बेलायतमा बसेर नेपाली साहित्यमा लगातार कलम चलाउँदै वर्षैपिच्छे एल्वम निकाल्नुका साथै राप्ती अञ्चलका महिला वर्गलाई प्रतिनिधित्व गर्दै अगाडि बढ्दै गएकोमा पूरै राप्तीबासीकै गौरवको कुरो हो भन्दै साहित्यकार घमको खुलेरै प्रशंसा गरे । रोकाले गायक गंगाराज राईले पनि बेलायतबासी गीतकारहरु चन्द्रवती राई, डिल्लीराम राई, र करिश्मा घमका गीतहरुमा एकल स्वर दिएर लगातार एल्वमहरु निकाल्न सफल भएकोमा गायकको गायन क्षमतालाई मान्नै पर्छ भन्दै प्रशंसा गर्दै भावी दिनहरुमा पनि गीतकार र गायकलाई सफलताले सगरमाथा चुम्न सकुन् भनी शुभकामना ब्यक्त गरे ।

शुभकामना दिने क्रममा विश्व नेपाली साहित्य महासंघ साउथ युकेका सल्लाहकार समाजसेवी साहित्यकार घन थापा मगरले भने अरुले भन्दा पृथक र रोचक ढंगले तुरुन्त रचना गरी कवितात्मक शैलीमा लेख्नसक्ने घमलाई ३२ लक्ष्यणले युक्त भएकी नेपाली समाजका ससक्त चेलीको संज्ञा दिए । त्यस्तै गायक राई पनि बेलायतका युवा गायकहरुमा अब्बल दर्जाका साह्रै मीठा आवाजका धनी भएको बताए ।

शुभकामना दिने क्रममा गीतकार तथा समाज सेवी बीरचन्द्र राई, समाजसेवी शिवकुमार राई लगायत धेरै ब्यक्तित्वहरुले गायक र गीतकारलाई प्रशंसा गर्दै सफल भविस्यको शुभकामना दिएका थिए ।
साहित्यकार घमको ‘नाशो’ कविता संग्रह र ‘मुटु’ गीति एल्वम गतवर्ष नै सार्वजनिक भइसकेको छ भने बेलायतबाट संगीत क्षेत्रमा उदाएका कर्णप्रिय स्वरका धनी गायक राईले ६ वर्ष शास्त्रीय संगीत अध्ययन गरेका छन् । उनको ‘आभास ’, ‘उपमा’ र ‘स्पन्दन’ गरी तीनवटा एल्वम आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री