बेलायतमा देवकोटा जयन्ती मनाइयो

image23
लन्डन । बेलायतको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले एक समारोबीच महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जयन्ती मनाएको छ । परिषदले सोही समारोहमा बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई स्वागत सम्मान समेत गरेको छ ।

वेम्लीस्थित वेम्ली तन्दुरी रेष्टुरेन्टमा बुधबार सांझ आयोजित साहित्यिक कार्यक्रममा परिषदका कार्यवाहक अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले विशिष्ठ स्वागत सम्मान स्वर्ण धातुपत्र र काव्यिक सम्मानपत्र पढेर सुनाइ राजदूत डा. सुवेदीलाई अर्पण गरे ।

तत पश्चात १०८ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती प्रमुख अतिथि, अतिथिहरू र सहभागीहरूबाट महाकविको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा महामहिम राजदूतले कवि तथा गीतकार घन बहादुर थापा मगरको नयाँ कृतिहरू मेरो चिनो मेरो देश कविता संग्रह र मायाको संसार गीति एल्वम लोकार्पण गरे ।

सम्वोधनका क्रममा राजदूत सुवेदीले आफूले कार्यक्रमलाई साहित्यिक, प्राज्ञिक राजनैतिक तथा वौद्धिक प्रतिभाहरुसंग भेटघाट गर्ने अवसरका रुपमा लिएको बताए । उनले नेपालबाट सात समुद्र तरेर आइसक्दा पनि बेलायतवासी नेपालीले आफ्नो भाषा साहित्य, कला संस्कृति, संस्कार र परम्परा नबिर्सिएकामा गौरवान्वित भएको पनि बताए । राजदूतले नेपालीहरु जहां जहां जान्छन् आफू हिंडेको बाटो र जन्मेको माटो बिर्सिदैनन् भन्ने धारणा पनि राखे ।

सुवेदीले दूतावास सबै नेपालीका लागि भएको र नेपालीहरुका लागि नेपाली राजदूत हो भन्ने ठान्न पनि आग्रह गरे । कार्यक्रममा राजदूत दुबसु क्षेत्रीले आफ्नो गजल पनि वाचन गरेर सुनाए ।

समारोहमा यती नेपाली एशोसिएसन यूकेकी अध्यक्ष श्रीमती पिपला देवानले देशका वरिष्ठ साहित्यकार सुवेदीलाई बेलायतमा राजदूतको रूपमा स्वागत गर्न पाउंदा गर्व लागेको बताइन् । देवानले सन् १९९५ मा स्थापना भएको परिषदले बेलायतमा धेरै साहित्यकार जन्माइ सकेको र गीतकार, कवि घन बहादुर थापा मगर पनि यसैको उत्पादन भएको चर्चा गरिन् ।

कार्यक्रमका सभापति एवं परिषदका कार्यवाहक अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अद्वितीय रहेको चर्चा गर्दै विमोचित कृतिका लेखक एवं परिषदका सल्लाहकार मगरका सिर्जनाले नेपाली साहित्यमा थप योगदान पुर्याएको बताए ।

परिषदका सल्लाहकार कृष्ण भट्ट तथा बिशिष्ठ अतिथी युबराज मास्कीले मगरका कृतिहरूमा समेटिएका रचनाहरू मौलिक शैली र राष्ट्रिय भाव बोकेका बताउंदै संगीतकार पावल चाम्लिङको एकल संगीत रहेको मायाको संसार एल्बम गीत, संगीत र गायनपक्ष तीनै कोणबाट अब्बल रहेको चर्चा गरे ।

एल्बममा ६ वटा गीत समावेश गरिएका छन् जसमा स्वरुप राज आचार्य, राजेशपायल राई, टीका प्रसाईं, मिलन अमात्य, सञ्जय तुम्रोक र तारा श्रीस मगरको सुमधुर स्वर छ । श्रीमती कृष्णा थापा मगरद्वारा प्रस्तुत एल्बम रिभेन्ज म्यूजिक क्रियसनले बजारमा ल्याएको हो । मगरको यसअघि नै देशको माटोमा मेरो फूल र ‘क्याक्मीको कोसेली’ नामक २ वटा कविता संग्रह बजारमा आइसकेको छ ।

उनले पहिलो कृति देशको माटोमा मेरो फूल…को बिक्री वितरणबाट उठेको रकममा थपेर दुई लाख साठी हजार रुपैंया पहिरोले भत्किएको स्याङ्गजाको क्याक्मी गाविस देउराली पोखरी छाप निमाविको भवन पुनर्निर्माणमा सहयोग गरेका थिए भने २०७३ मा अर्को कृति क्याक्मीको कोसेलीबाट उठेको रकममा थप गरि २,४७, ३५० रुपैयां र ३०० थान किताब भूकम्पले भत्काएको पोखरी भन्ज्याङ कुतुम्सा निमाविलाई प्रदान गरेका थिए । यस एल्बमको विक्री वितरणबाट संकलित रकम पनि सहयोग गर्ने भएका छन् ।

कार्यक्रममा परिषदका सहअध्यक्ष समाजसेवी ध्रुब केसी, निर्वतमान अध्यक्ष तथा सल्लाहकार खगेन्द्र नेपाली, नेपालबाट आएका युवराज मास्की रानामगर, एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए यूकेका उपाध्यक्ष दासुराम पाण्डे, परिषदका आजीवन सदस्य तथा नेपाल पर्यटन बोर्डका बेलायत जनसम्पर्क प्रतिनिधि पशुपति भण्डारी, तमुधिं लन्डनका डेभिड गुरुङ र प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडाले नव नियुक्त राजदूतको स्वागत तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै परिषदका उपाध्यक्ष कवि रेशमलाल अर्यालले विदेशमा भाषा साहित्य जस्ता नेपाली पहिचानलाई जोगाई राख्न परिषदको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले साहित्यकार नै बेलायतमा राजदूत पाउंदा साहित्यकर्मीहरूको हौसला र उचाई अझ बढेको उल्लेख गरे । मगरका कृतिहरूले नेपाली सहित्यमा एउटा अर्को ईंटा थप्दै आफ्नो पहिचान बनाउन सफल रहेको पनि उनको धारणा थियो ।

समारोहमा कवि तथा गीतकार घन बहादुर थापा मगरले आफ्ना कृतिहरूमा नेपाल र नेपालीको ढुकढुकी रहने गरेको चर्चा गर्दै परिषदको संरक्षक र बेलायतको राजदूतमा वरिष्ठ साहित्यकार दुबसु क्षेत्रीलाई स्वागत गर्न पाउंदा र उनको हातबाट आफ्ना कृतिहरू लोकार्पण गर्न पाउंदा आफूलाई अत्यन्त खुसी लागेको बताए ।

परिषद्की महासचिव डा. सुधा श्रेष्ठ र पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउतद्वारा सञ्चालित उक्त समारोहको मध्य भागमा आयोजित कवि गोष्ठीमा कवि कवयित्रीहरू हरिसिंह थापा, कृष्ण भट्ट, घन बहादुर थापा मगर, रामकृष्ण सिंखडा, वसन्त रायक्षेत्री, गोकुल भण्डारी, पिपला देवान, वीरेन्द्र कुँवर, बासु शर्मा, रेशमलाल अर्याल, ललित न्यौपाने, डा.सुधा श्रेष्ठ, फणिन्द्र भट्टराई, खगेन्द्र नेपाली, दुबसु क्षेत्री र कोमल मल्लले आफ्नो रचना वाचन गरे ।

समारोहको अन्त्यमा कार्यक्रम गर्न विविध सहयोग पुरयाउने समाजसेवी व्यक्तित्वहरू घन बहादुर थापा मगर तथा कृष्णा कुमारी थापा मगर, श्रीमती पीपला देवान, गोकुल भण्डरी, ध्रुब केसी, ओम तामाङ तथा वेम्ली तन्दूरी परिवार, ज्ञानेन्द्र राउत, हरिसिंह थापा, कोहिनुर मल्ल, एभरेष्ट गौतम, वीरेन्द्र कुँवर, सनम वैराग र नेपाल च्याप्टरका मुख्य सचिव राजेशजंग शाहमा धन्यवाद ज्ञापन प्रस्ताव पारित गरिएको थियो ।

साँझ ६.४५ बजेबाट सुरू भएको उक्त कार्यक्रममा दूतावास परिवार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, लव्ध प्रतिष्ठित समाजसेवी, व्यवसायी, विद्यार्थी, पत्रकार, कवि तथा साहित्यकार र विशिष्ठ व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री