राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा नयाँ आधार – परराष्ट्रमन्त्री

1477992966474_rs_ktm_161031rs_ktm_161031161031_9043

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट बुधवारदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्ने विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति मुखर्जीको नेपालको तीनदिने (कात्तिक १७—१९) सद्भावना भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको छ । करिब १८ वर्षपछि भारतका राष्ट्रपतिबाट हुन लागेको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने मन्त्री डा. प्रकाशशरण महत बताउनुहुन्छ । राष्ट्रपति मुखर्जीको भ्रमणमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत र समाचारदाता हरि लामिछानेले मन्त्री डा. महतसँग गर्नुभएको कुराकानीको मुख्य अंश ः

प्रश्नः लामो समयको अन्तरालमा हुन लागेको भारतीय राष्ट्रपतिको भ्रमणको मुख्य कार्यक्रम र तयारीबारे केही बताइदिनु हुन्छ कि ? 

डा. महत- लामो समयपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट नेपालको सद्भावना भ्रमण हुनु सकारात्मक भएकाले यसलाई हामीले उच्च महत्व दिएका छौं । राष्ट्रपति मुखर्जी विमानस्थलमा अवतरण गरेपछि त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वागत हुनेछ । त्यसपछि उहाँ सिधै राष्ट्रपति भवन शीतलनिवास जानुहुनेछ । त्यहाँ राष्ट्रपतिसँग भेटवार्ता हुनेछ । भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीबाट पशुपति मन्दिरमा पूजाअर्चना, काठमाडौं विश्वविद्यालयको कार्यक्रम, काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने नागरिक अभिनन्दन, राष्ट्रपति र प्रधानमन्त्रीले उहाँको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सरिक हुनेलगायत कार्यक्रम छन् ।

साथै, राष्ट्रपति मुखर्जीसँग उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक राजनीतिक दलका नेताले शिष्टाचार भेट गर्नुहुनेछ । उहाँले जनकपुरको भ्रमण गरी त्यहाँस्थित रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्नुहुनेछ भने त्यहाँ जनकपुरबासीले उहाँको नागरिक अभिनन्दन गर्नेछन् । त्यसैगरी, पोखराको भ्रमण गरी त्यहाँस्थित भारतीय पेन्सन क्याम्पमा आयोजना हुने कार्यक्रममा सहभागी भएर राष्ट्रपति मुखर्जी स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपति मुखर्जीको भ्रमण एवम् सवारी व्यवस्थापन, सुरक्षालगायत आवश्यक सबै तयारी पूरा भएका छन् । भारतका राष्ट्राध्यक्षको भ्रमण भएकोले सुरक्षा संवेदनशीलतालाई विशेष महत्व दिएर उच्च प्राथमिकताका साथ तयारी भएको छ ।

प्रश्न- नेपाल–भारत सम्बन्धलाई कोशेढुङ्गाका रुपमा अगाडि बढाउने आधार र भ्रमणको मूल सन्देश के हो भन्ने लाग्छ यहाँलाई ?  

डा. महत- यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्छ । एउटा भ्रमणले सबै लक्ष्य पूरा हुन्छन् भन्ने होइन । विभिन्न चरण पार गर्दै हामी यो स्थानमा आईपुगेका छौं । मलाई विश्वास छ, यसले विगतमा देखिएका तिक्ततालाई मेटाएर नयाँ चरणमा सम्बन्ध अघि बढाउन मद्दत गर्छ । राष्ट्राध्यक्षको भ्रमण भएकाले अरु कार्यकारी प्रमखको जस्तो द्विपक्षीय संयुक्त वक्तव्य जारी गर्ने र दुई देशको बीचमा सम्झौता, समझदारी हुँदैनन् । मुलतः यो भ्रमण दुई देशबीचको सद्भाव प्रवद्र्धनमा केन्द्रित हुने भएकाले यसबाट उच्चस्तरको विश्वास आर्जन हुने र यसले आपसी सद्भाव विकास गर्दै अझ उच्चतहमा एकअर्कालाई बुझ्ने तथा पारस्परिक भावनालाई सम्मान गर्ने आधारहरु सिर्जना हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको स्वरुप पनि यस भ्रमणले तय गर्नेछ ।

प्रश्न- ऐतिहासिक एवम् कूटनीतिकरुपमा यो भ्रमणको सान्दर्भिकता र महत्वलाई कसरी लिनुहुन्छ ?  

डा. महत- हामीले मुलुकको परराष्ट्र नीतिलाई कूटनीतिक तवरले नै हेर्नुपर्छ । समस्या उत्पन्न भए त्यसलाई कूटनीतिक माध्यमबाटै समाधान खोज्नुको विकल्प छैन । हामीले मुलतः दुई ठूला छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ । कूटनीतिलाई हाम्रो आन्तरिक राजनीतिसँग जोडेर हेर्न हुँदैन । आन्तरिक विषयवस्तुमा राजनीतिक दलले आपसमा बहस गर्नुपर्छ, आ–आफ्ना तर्क पेश गरौंला तर परराष्ट्र नीतिलाई आन्तरिक राजनीतिको परिपूरण गर्ने हतियारका रुपमा प्रयोग गर्न हुँदैन । मूलभूतरुपमा कूटनीतिक टेबलमा आफ्ना राष्ट्रिय स्वार्थ र आवश्यकताका विषयमा हामीले गहन गृहकार्यसहित स्पष्टरुपमा आफ्ना कुरा प्रस्तुत गर्ने गरेका छौं ।

भारत भ्रमणमा जाँदा हामीले त्यस्ता विषयमा आफ्ना कुरा स्पष्टरुपमा राखेका छौं । परराष्ट्रमन्त्रीका रुपमा मैले प्रधानमन्त्रीको भ्रमण अघि भारतमा भएका कार्यक्रममा ती विषय उठाएको छु । नेपाल ठूलो सैन्य तथा आर्थिक शक्ति होइन । हाम्रो पावर भनेको ‘पस्र्युएसनको पावर’ हो । हामीले आफ्ना कुरालाई तर्क र आधारसहित प्रस्तुत गर्ने र सहयोगका लागि आग्रह गर्ने हो । यो सरकार गठन भएपछि म चारपटक भारत गएँ, आफ्ना कुरा ठोस ढङ्गबाट राखेको छु । डुबानको समस्या, कतिपय पुराना सन्धि सम्झौताको कार्यान्वयन नभएका विषय, गण्डक सिँचाइको विषय नउठेको लामो समय भएको थियो । त्यो विषयले प्रवेश पाएको छ । त्यसका कारण कूटनीतिक बाटोबाट हामीले आफ्ना कुरालाई राख्नुपर्छ । त्यसकारण तर्कसङ्गतरुपमा आफ्ना कुरा राख्ने हो भने नतिजा आउँछ भन्ने मलाई विश्वास लागेको छ ।

भारतका राष्ट्रपतिको यो भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझ विकसित पार्ने आधारशिलाको रुपमा हामीले लिएका छौं । यो भ्रमणले विगतका तिक्ततालाई समाप्त पार्न मद्दत पुग्ने विश्वास मलाई लागेको छ ।

प्रश्न- केही समयअघि नेपाल–भारत सिमानामा उत्पन्न अवरोध र अन्य समयमा भएका कूटनीतिक उतारचढावलाई सकारात्मक रुपमा परिवर्तन गर्न यो भ्रमणले कस्तो प्रभाव पार्छ भन्ने लाग्छ ?  

डा. महत- हामीले विगतका कुरामात्र गरेर समस्याको समाधान निस्कँदैन । समस्याहरु टेबलमा राख्ने र त्यसको यथार्थ विश्लेषणको आधारमा समाधान खोज्ने प्रयास भएको छ । मन्त्रिस्तरीय बैठकमा अधिकांश विषयलाई हामीले छलफल गरेका छौं । विगतमा भारतबाट मात्रै कुरा आउँछ भन्ने थियो तर अहिले हामीले धेरै विषय भारतसमक्ष राखेका छौं । यसपटक भारतीय पक्षबाट हामीले उठाएका कुरा राम्रोसँग सुनिएको छ । हाम्रा चासोका विषयलाई गम्भीरतापूर्वक लिइएको छ । यो सकारात्मक विषय हो ।

प्रश्न- राष्ट्रपति मुखर्जीको यो भ्रमणलाई उत्तरको छिमेकी चीनलगायत मुलुकबाट हुने उच्चस्तरीय भ्रमणको सुरुवात मान्न सकिन्छ ? 

डा. महत- भारत र चीनका आ–आफ्नै विशेषता छन् । आफ्नो सम्बन्ध जुनजुन देशसँग जस्तो छ त्यसैमा केन्द्रित रहेर हामीले काम गर्नुपर्छ । त्यसपछि मात्र परिणाम आउँछ । हामीले विशेषगरी दुई छिमेकी देशसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका छौँ । अन्य मित्रराष्ट्रले नेपाललाई सहयोग गरिरहेका छन्, उनीहरुसँग पनि सम्बन्धका विभिन्न विषयवस्तु र आयामहरु छन् । त्यसकै आधारमा सम्बन्धलाई विकसित गर्ने हो । भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा चीनका राष्ट्रपतिसँग भेटवार्ता हुँदा पनि मैले नेपालका राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई स्पष्टरुपमा राखेको छु । दुई देशको सम्बन्धलाई विकसित गर्न चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण भएको छ । उहाँले नेपालको भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँ चाँडै यहाँ आउने कुरो छ । चीनसँग भएका समझदारी र सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा पनि गम्भीररुपमा छलफल भएको छ । हामी तिनलाई कार्यान्वयन गर्न क्रियाशील हुन्छौं ।

prakash-mahat

प्रश्न- राष्ट्रपतिसँगको भेटघाटमा केही सम्झौतामा हस्ताक्षर हुने पनि कार्यक्रम छ ? 

डा. महत- त्यस्तो कार्यक्रम छैन । भारतका राष्ट्रपतिले सहयोगका विषयमा घोषणा गर्न चाहनुभयो भने केही आउन सक्छ, तर यो भ्रमण विशुद्ध सद्भावना भ्रमण नै हो । यसमा कुनै खास सहयोगका क्षेत्रमा हस्ताक्षर हुँदैन । विशेषगरी दुई देशबीचको सम्बन्ध विस्तार गर्ने र सद्भाव बढाउनमा नै वार्ता केन्द्रित हुन्छ ।

प्रश्न- भ्रमणलाई फलदायी बनाउन के गर्न सकिन्छ ? 

डा. महत- यो भ्रमणलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी हुनु उपयुक्त होइन । हामीले यसलाई सद्भाव र मित्रता सरकारी तहमा भन्दा पनि जनस्तरमै प्रस्तुत गर्नुपर्छ । हामी नेपाली पाहुनाको सत्कारका लागि संसारमै परिचित छौं, त्यो पहिचानलाई कायम राख्नुपर्छ । कुनै विषयलाई राजनीतिकरण गर्नु हुँदैन । यो भ्रमण राष्ट्रको प्रतिष्ठासँग गाँसिएको छ, त्यसलाई सबैले ख्याल गर्नुपर्छ ।

प्रश्न- तपाईले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको परराष्ट्र नीतिलाई कसरी सञ्चालन गर्ने सोच बनाउन भएको छ ? 

डा. महत- परराष्ट्रनीति समग्रमा राष्ट्रको नीति हो । यसलाई कुनै पार्टीको रुपमा व्याख्या नगरी सबैको सल्लाह सुझाव लिने र सहयोग गर्ने साझा नीतिका रुपमा विकास गर्नुपर्छ । त्यसका लागि विदेश नीतिको विस्तृत पुनरावलोकन गरेर अन्तक्र्रियात्मक सहभागितामार्फत सुस्पष्ट साझा राष्ट्रिय धारणा विकसित गर्न हामी प्रयासरत छाँै । मुलुकको विदेशनीतिलाई सघाउने ‘थिङ्क ट्यांक’को आवश्यकता छ जसले विभिन्न विषयमा ठोस अनुसन्धानका आधारमा सुझाव एवम् सल्लाह परराष्ट्र मन्त्रालयलाई दिन सकोस् । परराष्ट्र मामिलाको अध्ययन प्रतिष्ठान त छ त्यसले अपेक्षानुसार काम गर्न सकेको छैन । यसलाई नयाँ रुपमा विकास गर्नुपर्छ ।

अहिले लाखौं नेपाली विदेशमा रोजगारीमा रहेकाले विदेशका हाम्रा मिसनलाई सशक्त बनाउँदै नेपाली कामदारको सुरक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सक्रियतामार्फत राम्रो उपस्थिति देखाउने हो । शान्ति सेनालगायत विषयमा नेपालको योगदानअनुसारको हैसियत प्राप्त गर्ने विषयमा पनि हाम्रो ध्यान गएको छ । जापान, युरोपेली मुलुक र अमेरिकासँगको सम्बन्धलाई बढी फलदायी बनाउने विषय पनि हाम्रो प्राथमिकतामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री