राजनीति: व्यक्तिदेखि सरकारसम्म, सरकारदेखि व्यक्तिसम्म

dr-bachchu-kailash-kaini

डा बच्चुकैलाश कैनी

राजनीति भन्नाले सामान्यतया कुनै दर्शनअनुसार सरकार र देश संचालनको लागि नीति, रणनीति, नियम र कानून बनाउने र शासन संचालनको प्रक्रिया निर्धारण गर्ने भन्ने बुझिन्छ । यी कुराहरु राज्य संचालनको लागि मुलभूत कुरा हुन् । आज विश्वका हरेक मुलुकमा कुनै न कुनै रुपमा कुनै न कुनै दर्शन सरकार संचालन गर्ने राजनीतिक दलको दर्शनको रुपमा होस् वा अरु कुनै रुपमा जानी वा नजानी लागु भएका छन् ।

राजनीतिको कुरा गर्ने बित्तिकै शक्ति, श्रोत र साधनको बाँडफाँड,  अधिकारको प्रत्यायोजन, उत्तरदायित्व, कर्तव्यको अनुभूति, निर्णय गर्ने क्षमता र पारदर्शिता जस्ता कुराहरुलाई बिशेष रुपमा जोड दिने गरिन्छ । तसर्थ, मैले यो लेखमा यी कुराहरु कसरी व्यक्ति, परिवार  र समाजको लागि झन् महत्वपूर्ण रुपमा लागु हुन्छन् र हामी कसरी राजनीतिभन्दा टाढा भाग्न सक्दैनौ भन्ने कुराको चर्चा गर्ने जमर्को गर्दैछु ।

जसरी राज्य संचालनमा शक्ति, श्रोत र साधनको सही बाँडफाँड र उपयोग निकै महत्वपूर्ण मानिन्छ, त्यसरी नै घरपरिवार संचालनको लागि पनि यी कुराहरु सबैको लागि सही र उपयुक्त किसिमले गर्नु पर्ने हुन्छ । शासन संचालनमा जत्तिकै घर संचालनमा पनि घरमुली र हरेक परिवारले आफ्नो शक्ति, अधिकार, काम र कर्तव्यलाई राम्रोसँग बुझ्नु पर्छ र सोहीअनुरुप ब्यबहारमा उतार्नु पर्छ । हाम्रो अधिकारसँगै कर्तब्य पनि आउँछ र अधिकारको माग गर्दा आफ्नो कर्तब्य भुल्नु हुँदैन भन्ने साश्वत सत्यलाई सबैले पालना पनि गर्नुपर्छ ।

हामी व्यक्तिको रुपमा घर संचालनमा मात्रै हैन, एउटा राज्यको नागरिकको रुपमा सरकार वा राज्य संचालनको कुरामा पनि धेरैजसो अधिकारको कुरा गर्छौ तर आफ्नो कर्ताब्यपालनाको कुरा भने बिरलै गर्ने गर्छौ । कुनै पनि देश बनाउने जिम्मा सरकारको र जनप्रतिनिधिको त हुन्छ नै, तर कुनै न कुनै रुपमा त्यो देशका हरेक नागरिकको पनि केही न केही भूमिका हुन्छ । भोट दिने र सही जनप्रतिनिधि चुन्ने, समाजमा भईरहेका अन्याय, असमानता र हरेक समस्याको बारेमा आवाज उठाउने, आफ्नो परिवार र समाज बनाउनको लागि कुनै न कुनै योगदान दिने जिम्मा हरेक नागरिकको हो ।

जनप्रतिनिधिको कुरा मात्रै हैन, सबैको हकमा पहिला हरेक व्यक्ति आफू असल मानिस हुनु जरुरी छ । असल मानिसले नै आफ्नो घरपरिवार संचालन गर्न र समाज सुधार गर्न सकारात्मक रुपमा सहयोग गर्छ । जब हरेक परिवार र समाजमा समस्याहरु कम हुन्छन वा हरेक परिवार र समाज ठीक किसिमले संचालन हुन्छ, अनि रास्ट्र बिकास गर्ने कुरा पनि सहज हुन्छ ।

जसरी घरपरिवार संचालन गर्न पनि परिवारको जेष्ठ नागरिकको नेतृत्वदायी भूमिका, चुस्त व्यपस्थापन, सही समयमा सही निर्णय गर्ने क्षमता, सबैसँग सरसल्लाह तथा परामर्श र सबैको सहयोग उत्तिकै चाहिन्छ, त्यसरी नै सरकार र रास्ट्र पनि सही रुपमा संचालन हुने हो । आखिर परिवार चलाउने, समाज हाँक्ने र देश बनाउने कुराको मुलभूत आदर्श र सिद्धान्त उस्तै उस्तै हो । व्यक्ति, परिवार, समाज र देश सबै निकाय संचालनको लागि पनि कुशल नेतृत्व, श्रोत र साधनको सही उपयोग, पारदर्शिता, चुस्त ब्यबस्थापन आदि जस्ता कुरा जरुरी हुन्छ । व्यक्तिदेखि सरकारसम्म सबैको सफलताको मन्त्र कठोर परिश्रम, अनुशासन, नीति र नियमको पालना, सहकार्य, पारदर्शिता, उत्प्रेरणा आदि नै हुन् ।

पारदर्शिताको कुरा गर्ने हो भने सरकार र जनप्रतिनिधिले मात्रै हैन हरेक व्यक्ति र संघसंस्थाले आफ्नो ब्यबहार पारदर्शी बनाउन जरुरी छ । धेरै जसो मानिसको ब्यबहार आफू कसरी कम कर तिर्ने र राज्यबाट कसरी धेरैभन्दा धेरै सहुलियत लिने भन्नेमा केन्द्रित हुन्छ । त्यति मात्रै हैन जो मानिसहरु कसरी सकेसम्म कमभन्दा कम कर तिर्न अनेक उपाय लगाउँछन् तिनै व्यक्तिहरु जनप्रतिनिधि र सरकार पारदर्शी भएन भन्ने गुनासो राख्न पनि पछि पर्दैनन् । सबैले सरकार र जनप्रतिनिधिको ब्यबहार पारदर्शिता खोज्नु स्वभाविक हो । तर त्यसो भन्दैमा कोही पनि आफू अपारदर्शी हुन मिल्दैन र कुनै पनि व्यक्ति समाजमा आफ्नो कर्तब्यबाट बिमुख हुन मिल्दैन ।  कर अरुको लागि मात्रै हैन आफ्नो र समाजको लागि पनि तिर्ने गरिन्छ भन्ने कुरा हामी धेरैजसोले भुल्ने गर्छौ । देश विकासलाई एक्लो रुपमा हेर्न मिल्दैन र देश विकासको कुरा हरेक कुरा जस्तै व्यक्ति, परिवार र समाजसँग पनि जोडिएको हुन्छ ।

राजनीति राज्य संचालनको लागि सबैको लागि मार्गदर्शन हो । जनप्रतिनिधि जनताको मताधिकार मार्फत शक्ति र अधिकार प्राप्त गर्छन र देश संचालन गर्छन् । त्यसैले लोकतन्त्रमा राज्यको सबै अधिकार र शक्तिको श्रोत जनता नै हुन् । जनता भनेको म, तपाई र हामी सबै हो । हामी सबै असल र योग्य हुने हो भने मात्रै हामी असल जनप्रतिनिधि छान्न सक्छौ । आफू कत्तिको असल र योग्य हुने भन्ने कुरा हामी र हाम्रो ब्यबहारमा पनि फरक पर्ने कुरा हो । सबैभन्दा पहिला हरेक व्यक्तिमा राजनीतिक, सामाजिक र आर्थिक चेतना आउनु जरुरी छ । त्यसका लागि राज्यको भूमिका मात्रै हैन, व्यक्ति, परिवार र हाम्रो समाज सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।  अन्त्यमा, आफू भलो त जगत भलो ।

अर्कोतर्फ, कुनै पनि देशको राजनीतिक ब्यबस्था र नेतृत्व सफल हुने हो भने त्यो देश सजिलै बिकास हुन्छ । आर्थिक बिकास हुन्छ । सामाजिक र राजनीतिक चेतनाको पनि बिकास हुन्छ । फलस्वरूप, हरेक व्यक्ति र समाजको पनि स्वत: उन्नति र प्रगति हुन्छ । व्यक्ति र समाजको उन्नतिको लागि राज्यको भूमिका निकै ठूलो हुन्छ । कोही आफू जति अग्रसर भए पनि देशमा राम्रो शिक्षा, स्वास्थ्य, पूर्वाधार, बाटोघाटो, यातायात आदिको ब्यबस्था छैन भने खासै ठूलो उन्नति र प्रगति गर्न सक्ने अवस्था हुँदैन । त्यसैले पनि कुनै व्यक्ति, परिवार र समाजको उन्नति र प्रगतिको लागि सफल राजनीतिक ब्यबस्था, कुशल राजनीतिक नेतृत्व र प्रभावकारी राज्यसंयन्त्रको जरुरत हुन्छ । अनि मात्रै हरेक व्यक्ति, परिवार र समाजलाई प्रगति र उन्नति गर्ने असवर दिन सकिन्छ ।

त्यसैले राजनीति भनेको माथिबाट लादिने कुरा मात्रै हैन । तलको जनस्तरदेखि माथि सरकारसम्म र माथि सरकारदेखि जनस्तरसम्म दोहोरो रुपमा हेर्नु पर्ने कुरा हो जस्तो लाग्छ मलाई । जसरी देश बिकासको लागि सरकार र राज्यको उल्लेखनीय भूमिका हुन्छ, त्यसरी नै  हरेक व्यक्ति, परिवार र समाजको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । अस्तु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री