राजदूतले बेलायती महारानी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

15321498_1433193770042089_1828972480_o
लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बिहीबार बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत सुवेदीले महारानी एलिजावेथ द्वितियासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । सुवेदीले गत २९ सेप्टेम्बर, २०१६ मा पदभार ग्रहण गरेका थिए ।

ओहदा बुझाउने क्रममा राजदूत सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै बेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेको दूतावासले जनाएको छ ।

सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहालले बेलायती महारानी, सरकार र जनताप्रति नेपाल सरकार र नेपाली जनताको शुभेच्छा र शुभकामना समेत व्यक्त गरेका थिए ।

समारोहमा बेलायती महारानीले ओहदाको प्रमाणपत्र ग्रहण 
गर्दै नेपालको असाधारण तथा सर्वाधिकारसम्पन्न राजदूत नियुक्त भएकामा सुवेदीलाई वधाइ दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवसरमा महारानीले नेपालका राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना सन्देश राष्ट्रपतिसमक्ष 
पुर्याइदिन सुवेदीलाई आग्रह गरेकी छन् ।

महारानीले राजदूत सुवेदीले आफ्नो कार्यकालमा दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ र सुमधुर बनाउन सक्षम हुने विश्वास समेत व्यक्त गरेको दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख शरदराज आरनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजदूत डा. सुवेदीले मित्रराष्ट्र बेलायत र नेपालबीच रहिआएको दुई सय वर्ष पुरानो मैत्री सम्वन्ध अझ सुदृढ बनाउन आफू प्रतिवद्ध रहेको उल्लेख गरेका थिए ।

ओहदाको प्रमाणपत्र पेश गरेपछि कुटनीतिक प्रचलन अनुसार राजदूत डा. सुवेदीले दूतावासमा एक रिसेप्सन समेत आयोजना गरेका थिए । उक्त रिसेप्सनमा संयुक्त अधिराज्यका मार्सल (शिष्टाचार महापाल), सार्क र बिमस्टेक मुलुकका राजदूत र उच्चायुक्तहरु, बेलायती सांसद र लर्डस्, मेयरहरु, नेपालका लागि पूर्व बेलायती राजदूतहरु एवं ब्रिटेन नेपाल सोसाइटी लगायत नेपाली संघसंस्थाका प्रमुखहरुको उपस्थिति थियो ।

तस्विरहरुः मिलन तमु

15326027_10154807810328140_5675084158200351066_o

15321557_1433194163375383_657624902_o

15231475_1433194170042049_47955991_o

15293450_1433194013375398_810233604_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री