बेलायतमा सबैको प्यारी आरती दिदी

arati-didi

लन्डन । बेलायतस्थित नेपाली महिलालाई सशक्त बनाउन रातदिन जुटिरहेकी छन् उनी । यहांका नेपाली महिला सशक्तिकरणका लागि सन् २०१४ मा स्थापित नेपलिज वुमन एसोसिएसनकी अध्यक्ष हुन् आरती श्रेष्ठ । काम र परिवारिक रेखदेखको वाध्यताबीच समाजसेवा र उनी एक अर्काका पर्याय हुन् । २७ वर्ष यता बेलायत कर्मथलो बनाएकी आरती श्रेष्ठलाई नचिन्ने नेपाली समुदायमा कमै होलान् । नेपाली भन्दा बढि बेलायतीसंग निकट रहेर उनले मातृभूमिका लागि च्यारिटी गरिरहेकी छिन् ।
इलिङ क्षेत्रमा स्थायी बसोवास भएपनि उनको मन, मस्तिष्क नेपालतिरै छ । भूकम्प होस् वा प्राकृतिक विपत्ति । आर्थिक सहयोग जुटाउन अग्रसर भइहाल्छिन् आरती । उनको नेपलिज वुमन एसोसिएसनले भूकम्प पीडितलाई आफ्नै खाता र चन्दादाताबाट संकलित ६ हजार पाउण्ड पठायो । एसोसिएसनले आगामी १० डिसेम्बरमा अटिजम केयर नेपालको सहयोगार्थ लन्डनमा च्यारिटी गर्दैछ । कफी मर्निङ होस् वा तीज कार्यक्रम । संकलित रकम च्यारिटीमै खर्चिरहेको छ 
एसोसिएसनले ।

हरेक जाडो मौसममा नेपाल गएर कीर्तिपुरवासी गरिब बालबालिकालाई न्यानो कपडा बांड्छिन् उनी । अवकास प्राप्त वृद्धवृद्धालाई बी एण्ड बी अस्पतालमा निशुल्क स्वास्थोपचारको चांजोपांजो मिलाइदिने काम पनि उनको जिम्मामा छ । नेपालमा पुस्तकालय खोलिदिएकी छन् ।

श्रेष्ठका लागि समाजसेवा गर्ने माध्यम बनेका छन् उनी आवद्ध विभिन्न सामाजिक संघसंस्था । नेपलिज क्याटरिङ एसोसिएसन यूके उपाध्यक्ष, यती नेपलिज एसोसिएसन यूके सल्लाहकार, ब्रिटेन नेपाल सोसाइटी कार्यकारी सदस्य हुन् आरती । ‘बेलायत आइसकेपछि राम्रो कुरा सिकेर देशका लागि पनि केही गरौं न भन्ने लाग्छ’, उनी भन्छिन्, ‘देशप्रति कसलाई माया नहोला, मिलेर गरौं धेरै काम गर्न सकिन्छ ।’

उनका पति रत्न शंकर श्रेष्ठ (आर एस) तत्कालिन आरएनएसीमा सिनियर अपरेसन डिरेक्टर र इन्सट्रक्टर पाइलट थिए । आर एसले पनि आरतीको समाजसेवामा साथ दिएका छन् । परिवारको सपोर्ट नहुंदो हो त उनी हरेक ठाउंमा अगाडि बढ्न कदापी सक्थिनन् ।

बाबा डाक्टर थिए, भैरहवाका खान्दानी । घरमा हात्ती, घोडा पालिन्थ्यो । आरतीलाई बाल्यावस्थामा अभाव कहिल्यै भएन । १३ वर्षमै एसएलसी पास भएपछि आरती काठमाण्डौं आइन् उच्च शिक्षा लिन । होस्टेल बस्दा चाहिं उनले धेरै संघर्ष गर्नु पर्यो । दाईहरुले पैसा नपठाएपछि अमेरिकी पिस कोरमा जागिर गर्न थालेको उनले सम्झिइन् । ३ वर्ष कमलादी होस्टेलमा बिताएपछि बिहे भएको प्रसंग आउंदा उनी अलिक भावुक भइन् । श्रीमान् नेवार, आफू क्षेत्री । त्यतिबेला अन्तरजातीय बिहे धेरै गार्हो थियो समाज र परिवारमा । धेरै जोखिम मोलेर बिहे गरेपछि पाइलट श्रीमानसंग बेलायत आएकी थिइन् उनी । बेलायत टेक्ने बित्तिकै आम मानिसले झेल्ने सास्ती उनले पनि 
भोगिन् । नेपाली ज्यादै कम थिए त्यस ताका । बेलायत आएर अध्यागमन, नेशनल हेल्थ सर्भिस (एनएचएस) मा नेपाली, हिन्दी र बंगाली भाषामा अनुवादको काम गरिन् उनले । यतैको समाज र हावापानीमा घुलमिल भएपछि उनलाई पछाडि फर्केर हेर्नु परेन ।

नेपाल छंदा आरतीले अमेरिकन पिस कोर्पसमा लामो समय काम गरिन् । काठमान्डूस्थित अमेरिकी र ब्रिटिश दूतावासमा कुटनीतिज्ञहरुलाई नेपाली भाषा पढाउने काम समेत गरिन् । उनले १८ वर्ष अफिसियल ट्रान्सलेटर (अनुवादक) को जिम्मेवारी पनि सम्हालिन् ।

बेलायतमा रेष्टुरेन्ट व्यवसाय पनि चलाएकी छिन् उनले । हिमालयन स्पाइस रेष्टुरेन्ट मार्फत नेपाली खाना र नेपालको पर्यटन प्रवर्धन गर्न सानै भएपनि भूमिका निर्वाह गरेको उनी स्मरण गर्छिन् । 
उनको प्रोपर्टी बिजनेश छ लन्डनमा, चारवटा घर छन् । नेपालमा कोलम्बस कलेज छ, अब होटल खोल्ने योजना छ । देशमै केही 
रोजगारी सृजना गरौं भनेर नेपालमा व्यवसायमा शुरु गर्न लागेको उनले जनाइन् ।

एक छोरा, एक छोरी र चार नाति नातिनीकी अभिभावक उनी 
अझैं सक्रिय र तन्दुरुस्त छन् । पारिवारिक साथ, पतिको मार्गदर्शन र सकारात्मक सोचले काम गर्न जोस जांगर बढेको उनी बताउंछिन् ।

उनको बानेश्वर नजिक शंखमुल मार्गमा १० कोठाको घर छ चार 
रोपनी जग्गामा फैलिएको । बांसबारीको आलिसान घर भाडामा छ । यसले पुष्टि हुन्छ आरतीलाई नपुग्ने केही छैन् । त्यो अथाह सम्पत्तिकी हकदार आरती बांकी जीवन अरुलाई दिएर, ख्वाएर ‘पिस अफ माइन्ड’ मा व्यतित गर्ने मनस्थितिमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री