सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको दोस्रो दिन महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लाम्गादेले कीर्तिमान बनाएकी छिन् ।
सुनसरीको इटहरी रङ्गशालामा चन्द्रकलाले ४३ दशमलव ९४ मिटरको दूरी थ्रो गर्दै उक्त कीर्तिमान बनाएकी छिन् । गत वर्ष १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भएको छनोटमा चन्द्रकलाले ४३ दशमलव ९० मिटरको कीर्तिमान बनाएकी थिइन् ।
चालू प्रतियोगितामा चन्द्रकलाको यो दोस्रो कीर्तिमान हो । अघिल्लो दिन शनिबार चन्द्रकलाले ११ दशमलव ५६ मिटर फाल्दै सुटपुटमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्नुभएको थियो । नेपाल आर्मी क्लबकी लक्ष्मी थाकले ३९ दशमलव ९९ मिटरको दूरी थ्रो गर्दै दोस्रो तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सीमाकुमार थारुले ३९ दशमलव २७ मिटरको दूरी थ्रो गर्दै तृतीय भएकी थिइन् ।
पुरुष ज्याभ्लिनमा आर्मीका रामबहादुर कुमालले ५६ दशमलव ८८ मिटर टाढा फालेर पहिलो हुनुभएको छ । प्रहरीका नरेन्द्रजङ्ग शाहीले ५३ दशमलव ४० मिटर टाढा फालेर दोस्रो र एपिएफका प्रेमप्रकाश खड्का ५१ दशमलव ६७ मिटर फलेर तेस्रो भएका छन् ।
पुरुष लङगजम्पमा आर्मीका डिल्ली खत्रीले स्वर्ण जित्नुभयो । उहाँले ६ दशमलव ९१ मिटर हाम्फालेर स्वर्ण पदक प्राप्त गर्नुभएको हो । प्रहरीका गोपाल चौधरीले ६ दशमलव ५९ मिटर हाम्फालेर रजत तथा चन्द्रदेव जोशीले ६ दशमलव ३८ मिटर हाम्फालेर कांस्य प्राप्त गरेका छन् ।
सोही स्पर्धाको महिलामा ५ दशमलव ०५ मिटर हाम्फालेर प्रहरीकी केशरी चौधरीले शीर्ष स्थान प्राप्त गर्नुभयो भने आर्मीकी कृष्णा चौधरीले ४ दशमलव ९४ मिटर हाम्फालेर दोस्रो तथा एपिएफकी शिला चौधरीले ४ दशमलव ८४ मिटर हाम्फालेर तेस्रो भएकी छन् ।
पुरुष हर्डल्स (बाधा दौड) ११० मिटरमा आर्मीका विशेष महतोले १५ दशमलव ८५ सेकेन्डमा निर्धारित दूरी पुरा गरी पहिलो भएका छन् । १६ दशमलव ५४ सेकेन्डका साथ रामप्रसाद थारु दोस्रो तथा १७ दशमलव ४३ सेकेन्डका साथ प्रहरीका चन्द्रदेव जोशी तेस्रो भएका छन् ।
महिला १ सय मिटर बाधा दौडमा एपिएफकी सविता चौधरीले १६ दशमलव ९५ सेकेन्डमा पहिलो, मध्यमाञ्चलकी प्रमिला थारुले १७ सेकेन्डमा दोस्रो र प्रहरीकी केशरी चौधरी १७ दशमलव १० सेकेन्डमा तेस्रो भएकी छन् ।
पुरुषको पाँच हजार मिटर दौडमा एपिएफका गोपीचन्द्र पार्कीले निर्धारित दूरी १५ मिनेट २६ दशमलव १० सेकेन्डमा पुरा गरेर पहिलो हुनुभयो भने १२ औँं सागका कास्पधारी एवम् ओलम्पियन हरिकुमार रिमालले दोस्रो स्थानमा चित्त बुझाएका छन् । आर्मीका उहाँले १५ मिनेट २६ दशमलव ६० सकेन्डमा सो दूरी तय गरेका थिए । सातौं राष्ट्रिय खेलकुदको म्याराथनका स्वर्ण विजेता प्रहरीका भूमिराज राई १५ मिनेट ३० दशमलव ४ सेकेन्डसहित तेस्रो भए ।
उक्त प्रतिस्पर्धाको महिलामा एपिएफकी कान्छीमायाले १८ मिनेट १३ दशमलव ४ सेकेन्ड समय लगाएर पहिलो हुनुभयो । आर्मीकी सानुमाया कार्कीले १८ मिनेट ३३ दशमलव ३९ सेकेन्डमा दोस्रो तथा आर्मीकै विश्वरुपा बुढाले १८ मिनेट ३७ दशमलव ०४ सेकेन्डमा तेस्रो भएकी छिन् ।
महिलाको ४ गुणा ४ सय मिटर रिलेमा आर्मी पहिलो, एपिएफ दोस्रो र मध्यपश्चिमाञ्चल तेस्रो भएका छन् । त्यसै, प्रतिस्पर्धाको पुरुषमा आर्मी, एपिएफ र मध्यमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे ।
हक्की
सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरमा जारी पुरुष हक्की प्रतियोगितामा नेपाली सेना सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित डिपिएस स्कुलको खेलमैदानमा आज भएको पहिलो खेलमा पश्चिमाञ्चललाई एकका विरुद्ध तीन गोल अन्तरले हराउँदै नेपाली सेना सेमिफाइनलको यात्रा तय गरेको हो ।
दोस्रो खेल मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलको निर्धारित समयसम्म एक÷एक गोलको बराबरीमा टुङ्गियो । दुइटै टोलीले समान एक÷एक अङक पाएका छन् ।
महिला हक्कीमा मध्यमाञ्चलले पूर्वाञ्चलाई शुन्यका विरुद्ध चार गोल अन्तरले हराएको छ । मध्यमाञ्चलको तर्फबाट निकिता बस्नेत, रीतिका रानाले एक एक गोल गरे भने पिङ्की सिजालीले दुई गोल गरेकी थिइन ।
त्यस्तै, अर्काे खेलमा नेपाली सेनाले पश्चिमाञ्चललाई शुन्यका विरुद्ध पाँच गोलले पराजित गरेको छ ।
नेपाली सेनाको तर्फबाट सीताकुमारी चौंधरीले ह्याट्रिक गर्नुभयो भने सीतामाया वल र टङ्कमाया खपाङ्गीले एक÷एक गोल गर्नुभएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टोली सेनाको गरी ६ टोली सहभागी छन् ।
इटहरी– सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको क्षेत्रीय रङ्गशालामा भइरहेको महिला तथा पुरुष भलिबल खेलअन्तर्गत आज महिला र पुरुषका तीन तीन खेल सम्पन्न भएका छन् ।
महिलातर्फको भलिबल खेलमा पूर्वाञ्चल र मध्यमाञ्चल टोलीबीच भएको पहिलो प्रतिस्पर्धामा मध्यमाञ्चल टोलीले पूर्वाञ्चललाई २५–३, २५–२० र २५–४ को सोझो सेटले पराजित गर्दै अघिल्लो चरण्मा प्रवेश गरेको छ ।
त्यसैगरी आजै भएको नेपाल प्रहरी र सुदूरपश्चिमाञ्चलबीचको अर्को महिलाकै खेलमा नेपाल प्रहरीले सुदूरपश्चिमाञ्चल टिमलाई २५–६, २५–८ र २५–१० को सोझो सेटले पराजित गरेको छ ।
यसैगरी पश्चिमाञ्चल र मध्यमाञ्चलबीच भएको खेलमा पश्चिमाञ्चल टोलीले मध्यमाञ्चल टोलीलाई २५–११, २५–२० र २५–८ को सोझो सेटले पराजित गर्दै अघिल्लो चरणमा पुगेको छ । त्यसैगरी आजको सशस्त्र प्रहरीको एपिएफ र नेपाली सेनाको टोलीबीच भएको अन्तिम खेलमा एपिएफले नेपाली सेनाको टोलीलाई २५–८, २५–१८ र २५–२० को सेटले पराजित गरेको छ ।
त्यस्तै पुरुषतर्फको पूर्वाञ्चल र नेपाली सेनाबीचको पहिलो खेलमा नेपाली सेनाले पूर्वाञ्चल टोलीलाई २५–२१, २५–१७ र २५–१६ ले पराजित ग¥यो भने पुरुषतर्फ नै सशस्त्र प्रहरीको एपिएफ र मध्यपश्चिमाञ्चल टोलीबीच भएको खेलमा एपिएफले मध्यपश्चिमाञ्चल टोलीलाई २५–११, २५–१७ र २५–७ कै सोझो सेटले पराजित गरेको छ ।
त्यस्तै पश्चिमाञ्चल र मध्यमाञ्चलबीच भएको उक्त खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल टोलीलाई २५–१५, २५–१५ र २५–१५ को सोझो सेटले जित निकालेका छन् । त्यस्तै आजै नेपाल प्रहरी र सुदूरपश्चिमाञ्चलबीच भएको पुरुषको अन्तिम खेलमा नेपाल प्रहरीले सुदूरपश्चिमाञ्चल टोलीलाई २५–१०, २५–१२ र २५–११ को सोझो सेटले विजय प्राप्त गरेको छ ।
व्याडमिन्टनको टिम इभेन्टस्मा सेनालाई दुईवटै स्वर्ण
झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज काँकरभिट्टामा सम्पन्न खेलमा व्याडमिन्टन टिम इभेन्टस्तर्फको दुईवटै स्वर्ण पदक नेपाली सेनाले जितेको छ ।
टिम इभेन्टस्को पुरुषतर्फको फाइनलमा सेनाले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई शुन्यका विरुद्ध तीनले हराउँदै स्वर्ण जितेको हो । महिलातर्फको फाइनलमा सेनाले सशस्त्र प्रहरीलाई नै शुन्यका विरुद्ध दुईले हराउँदै स्वर्ण पदकमाथी कब्जा जमाएको हो । दुवै प्रतिस्पर्धामा एपिएफले रजत पदकमा नै चित्त बुझायो ।
यस्तै दुवै इभेन्टस्मा सुदूरपश्चिमले दुईवटा कास्य तथा आयोजक पूर्वाञ्चल र नेपाल प्रहरीले एक एक कास्य पदक जितेका छन् ।