दुई गुना तलब वृद्धिले भन्दा असल पार्टनरले मानिस बढि खुशी

आचार्य

आचार्य

राम्रो मानसिक स्वास्थ्य र असल श्रीमान / श्रीमती (पार्टनर ) भए दुई गुना तलब वृद्धिले भन्दा बढि मानिस खुशी रहन्छ भन्ने कुरा नयाँ अध्ययनले देखाएको छ । लन्डन स्कुल अफ इकोनोमिक्सले दुईलाख भन्दा बढि मानिससंग गरेको खोजमा कसरी बिभिन्न कुराले मानिसको खुशीमा असर गर्छ भन्नेबारे अध्ययन गरिएको थियो ।

चिन्ता या डिप्रेसनबाट गुज्रिरहेको मानिस सबैभन्दा कम सुखी हुने देखिएको छ भने  सम्बन्धको शुरुवातले सबैभन्दा बढी खुशी बढाउने कारण पाइएको छ । यो अध्ययन धेरै अन्तर्राष्ट्रिय सर्वेक्षणको आधारमा गरिएको हो । १ देखि १० अंकको नापमा कसैको आम्दानी दोब्बरले बढ्दा खुशी शुन्य दशमलब २ भन्दा कमले बढेको देखिएको छ ।

जे भएपनि आफ्नो जीवनसाथी हुदां खुशी शुन्य दशमलब ६ ले बढेको छ भने जीवनसाथीसंगको पारपाचुके तथा मृत्युको कारणले खुशीको नाप नकारात्मक देखाएको छ ।

मानसिक स्वास्थ्य समस्या 

डिप्रेसन या अति चिन्ताको कारणले खुशी शुन्य दशमलब ७ ले झरेको छ । बेरोजगारको कारणले पनि खुशी कम आउनुको कारक देखिएको छ । यस रिपोर्टका लेखक प्रो. रिचर्ड लेयार्डले राज्यलाई धनको सृजना गर्नु भन्दा पनि खुशीको सिर्जना गर्नुपर्ने कुरा जरुरी भएको बताए ।

विश्वमा चारमा एक जनालाई आफ्नो जीवनकालमा मानसिक रोगले पीडित हुनसक्ने तथ्यांकले देखाएको छ । संसारमा ४५ करोड भन्दा बढी मानिसको मानसिक अस्थिरताको कारणले स्वास्थ्यमा प्रतिकुल असर गर्नुको साथै असक्तताको निमित्त प्रमुख कारण भएको जनाइएको छ । बढ्दो महत्वकांक्षा तथा चिन्ताका कारणहरु पैसा, जागिर, रोग तथा सम्बन्ध आदिले मानसिक रोगको समस्या बढाउन सहयोग गर्छ ।

डिप्रेसन, व्यग्रता, भय, सन्त्रास (प्यानिक), ओसिड़ी (Obsessive-compulsive disorder) खानामा विशृंखलता आदि मानसिक रोगका उदाहरण हुन् । यसमा डिप्रेसनको समस्या धेरैलाई पाइएको छ । करिब एक दशमलब नौ करोड या जनसंख्याको ९ दशमलब ५ प्रतिशत अमेरिकनहरूलाई डिप्रेसन भएको अनुमान गरिएको छ । बिश्व स्वास्थ्य सङ्गठनले संसारमा करिब पैतिस करोड मानिसलाई डिप्रेसन भएको जनाएको छ ।

यसले संसारको स्वास्थ्य क्षेत्रमा भार पार्ने ठुलो काम गरेको छ । पुरुष भन्दा महिला बढी डिप्रेसनको शिकार भएका छन् । डिप्रेसनको सहि तरिकाले उपचार गर्न सकिन्छ । अति चिन्ताले अति धूमपान र मद्यपान गर्ने, काममा दुर्घटना हुन सक्ने हुन्छ । यो बेला व्यक्तिले टेन्सन सामना गर्न सक्दैन । परिवार र साथीभाई बिच व्यक्तिगत नाता कमजोर हुन्छ । यदि यस अवस्थामा व्यक्तिले चिन्ता सन्तुलन गर्न तत्काल कदम नचाले शारीरिक वा मानसिक रूपले असन्तुलन आउछन । मानसिक समस्याको लागि आफ्नो चिकित्सकसंग चाडै नै परामर्श गर्न संकोच मान्नु हुदैन ।

इंग्ल्यान्डमा असी प्रतिशत ४० देखि ६० बर्षका मानिसहरु मोटो 

हालै प्रकाशित तथ्यांक अनुरुप इंग्ल्यान्डमा दसमा आठ जना ४० देखि ६० बर्ष उमेरका मानिसहरुले अस्वस्थकर जीवनशैली अंगालेकोले वजन बढी भएको र यसले उनीहरुको स्वास्थमा धेरै समस्या आउन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् । अफिसको निष्क्रिय जागिर, फास्टफुड खाना, अधिक मदिरा सेवन, व्यायामको कमि आदिले समस्या उत्पन्न गरेको जनाइएको छ ।   

जीवनशैलीको सुझाब

त्यसैले खुशी र स्वस्थकर हुनको लागि जीवनशैली बारे जानकारी लिइ यसलाई आत्मसात गर्नुपर्छ । एउटा सानो जीवनशैली परिवर्तनले भविष्यमा आफ्नो स्वास्थ्यमा धेरै प्रभाव पार्छ ।

नियमित व्यायाम: घटीमा ५ /६ पल्ट हप्तामा २०–३० मिनेट व्यायाम गर्नुपर्दछ । एरोविक व्यायाम गर्नु राम्रो मानिएको छ । यो व्यायाम गर्दा हाम्रो पूरा शरीरको ठूलो अस्थिपन्जर मांशपेशीको उपयोग हुन्छ अनि यसले शरीरमा अक्सिजन सक्षम तरिकाबाट सदैव माग गर्दछ । एरोविक व्यायामका उदाहरणहरूमा पौडी खेल्नु, साइकल चलाउनु, नाच्नु, दौडनु आदि पर्दछन् । छिटो हिड्नु अझै पनि सबै भन्दा वेस एरोविक व्यायाम हो । आफ्नो रुटिङमा कसरी नियमित व्यायाम गर्न सकिन्छ विचार गर्नुपर्दछ । जस्तै पसलमा जाँदा गाडीको सट्टा हिँड्ने, बसबाट झर्दा अलि वरै झर्ने अनि बाँकी हिड्ने, साथी भाइसँग पनि बसेर गफ गर्नुको सट्टा हिँडेर गर्ने आदि । नियमित व्यायामले शक्ति र मांशपेशी को तागत बढाउँदछ । महत्त्वपूर्ण कुरा चाहि यस्तो व्यायाम गर्दा धेरै बल जाने तर कम शक्तिको गर्नुपर्दछ । आफूलाई मनपर्ने कुनै काम गरे हुन्छ जसले आफ्नो उमेर क्षमता, दक्षता अनुरुप पनि विचार गर्नुपर्दछ ।

नियमित व्यायामका फाइदाहरू-

–व्यायाम गर्दा इन्ड़ोर्फिन रगतमा छोडिन्छन् । यो केमिकलले सकारात्मक सोच र खुसी बढाउँदछ ।

–व्यायामले दिमागको नकारात्मक सोच घटाउँदछ । गहिरो निन्द्रा बढाउछ ।

–कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेभल कम गर्न मद्दत गर्दछ ।

-रक्तचाप कम गर्नुको साथै शरीरको मोटोपनको प्रतिशत घटाउँदछ ।

–जोर्नीहरूलाई मद्दत पुर्‍याउँदछ, मसलको शक्ति र तागत बढाउँदछ ।

-आत्मविश्वास तथा काम गर्न सक्ने क्षमता बढाउँदछ ।

स्वास्थ्यकर खाना : स्वस्थ्यकर खानाले, चिन्तासँग लड्न सुधार पुर्‍याउँदछ । खानाले हाम्रो शरीरको प्रत्येक अङ्गहरूमा असर गर्दछ, मुटु, फोक्सो दिमाग आदिमा । स्वस्थ्य खानाले तन्दुरुस्तीको साथसाथै शक्ति, नसाहरूमा पोषण, रगत संचालनमा सुधार, श्वासप्रश्वासमा सजिलो, रक्तचाप कम, पाचन प्रणालीमा सहयोग, पक्षघात हुने जोखिमबाट कम, सामान्य स्वस्थ्यमा सकारात्मक र शान्त रहन मद्दत आदि गर्दछ ।

खानामा हरहमेसा चिल्लो, चिनी, नुन, क्याफिन ,मदिरा  आदि कम खाने गरेमा स्वस्थकर बन्न सकिन्छ । दिनमा प्रसस्त फलफुल र सब्जी खानु पर्छ। शरीरलाई आवस्यक मात्रामा पानी पिउनु पर्दछ।

आराम : आराम गर्दा किताव पढ्ने, आफूलाई आनन्द लाग्ने क्रियाकलापहरू गर्ने, साथीभाइसँग भेटघाट  आदिले हाम्रो चिन्ताको लेभललाई कम गर्ने  महत्त्वपूर्ण काम हुन्छ । यो कार्य दैनिकरुपमा गर्न सकेमा अझ जीवन सुन्दर हुन्छ ।

निन्द्रा: बेचैन हुनु  चिन्ताको उग्ररुप हो । जति थकाइ लाग्दछ उति चिन्ता बढ्छ र सुत्न गाह्रो पर्दछ । त्यसैले निन्द्रा ठूलो औषधी हो, जति गहिरो निन्द्रा पर्‍यो स्फूर्ति शरीरमा आउछ । नियमितरुपमा बेलुका चाँडै सुती बिहान चाँडै  उठ्नु उत्तम हो ।

धूमपान त्याग्नु : धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउंछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो । यसको लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो ।

मदिरा सेवन कम गर्ने:  यदि तपाई मदिरा सेवन गर्नु हुन्छ भने हप्तामा १४  युनिट भन्दा बढी सेवन गर्नु हुदैँन भन्ने बेलायती सरकारको सुझाब छ । अत्यधिक मदिरा सेवनले खास गरी रक्तचापलाई अधिक असर गर्दछ र यसले स्ट्रोक हुने जोखिमलाई धेरै बढाउँदछ ।

(१ युनिट = २५ ml Sprit, Half pint Beer, 125ml wine)

वजनलाइ ध्यान दिने ठूलो भुँडी अथवा स्याउको जस्तो शरीरको बनोटले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, बाथ आदिको जोखिम बढाउंछ । आफ्नो उचाई अनुरुपको तौल हुनुपर्छ । यसको लागि सामान्य  नियम अनुसार आफ्नो उचाई जति इन्च छ त्यतिनै किलो तौल हुनुपर्छ भन्ने मान्यता भनेर बुझ्नु पर्छ ।

जीवनशैली परिबर्तन गर्न कहिल्यै ढिलो हुदैन । आफ्नो स्वास्थ्यको बारे आफै जागरूप भइ खुशी र निरोगी तर्फ ध्यान दिऔं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री