आइतबार, भदौ ४ २०७४ | Sun, August 20, 2017
नेपालको समय: ००:२६ | UK Time: 19:41

यात्रा संस्मरणः बाल्टिक सागर

भीम राई
प्रकाशित मिति:२०७३ पुष २२ गते १२:३३

%e0%a4%86%e0%a4%ae%e0%a5%8d%e0%a4%b8%e0%a4%9f%e0%a4%b0%e0%a4%a1%e0%a4%be%e0%a4%ae

भूमध्य सागरको रमाइलो क्रुजिङ्ग । गत वर्ष कतातिर छुट्टी मनाउन जाने द्विविधामा परें । जुन जुलाईको मौसम बेलायतमा अति उत्तम । बेलायत भन्दा बाहिर जान तारा रहर गर्दिनन् । यस समय छोरा छोरीको ग्रीष्मकालिन छुट्टीको समय ठिक यतिबेलै पर्ने । पारिवारिक छुट्टीको लागी यो अति अनुकुल समय पनि हुन्छ ।

छोराले भर्खरै आम्सटरडम गएर पांच दिन बिताएको थियो ।

नेपल्स र भरोना फेरी एक हप्ताको लागी जाने निर्णय भयो जुन २०१४ मा । म पूर्ण वयस्क भइसकेको छु, उनी भन्छन् । के टेर्थे अब हामीलाई । उनलाई लाग्छ, उ त्यसै तेत्रा भएका ? अब उप्रान्त परिवारसंग कहिले क्रुजिंग नजाने पहिले नै निर्णय गरिसके उनले । उमेर पुग्यो ठिक्कै होला ? जस्तो लाग्थे छोरीले चाहिं वा पछि घुम्ने अवसर नमिल्ला कि ? भनेर हामीसंग च्यापिने रहर गर्थिन् ।

फेरी क्रुजिङ्ग नै रोजाइमा परयो हाम्रो । पटक पटक फ्लाई एण्ड क्रुज कति गर्ने ? बरु यस पटक नयां अनुभव लिने । बेलायतबाट सिधै ‘क्रुज’ समात्ने निधो गरें दक्षिणी बन्दरगाह साउथहयाम्टोनबाट । टिकटको अग्रिम चांजो पांजो मिलाएं ।

१२ जुन २०१४ को दिन । बिहानै तारा, छोरी र म लिभरपुल छाडयौं क्रुजिङ्गको लागि । लिभरपुलबाट साउथहयाम्टोनको दुरी ३८० किलोमिटर छ । पुरै ५, ६ घन्टाको ड्राइभिंग फुच्चे कार ‘सी क्लास २२०’ बाट शुरु भयो । कार पानीजहाजको अगाडी रोकें, अनि लगेज झारें । हेलेन आएकी रहिछे, कार लगेर पार्क गर्नका लागि । पार्कको पहिले नै पैसा तिरिसकेको थिएं । दुई हप्तापछि उनले कार सफा (भ्यालेटिंग) गरेर ल्याई दिने वाचा गरिन् । धन्यवाद टक्रयाएं हेलेनलाई ।

एमएससी (ओपेरा) दुई हप्ताको लागी बुक गरेको थिएं इटालियन क्रुजिङ्ग कम्पनीको । जहाजमा पुगे पछी ‘चेक इन’ भयो । ‘क्रुज’ मा स्वागत हल्का पेय पदार्थ संगै भयो । अलिकति ‘सेम्पेन’ लिएं । बन्दरगाहको गर्मीले मिठो लाग्यो । गाइड गरेर कोठामा पुरयाए पानी जहाजका कर्मचारीले । रूम नम्बर (५५५) ५ औं तलामा रहेछ । प्रख्यात चुरोटको नाम परेछ । चुरोट नपिउने मानिसलाई । तारा कोठामा पुग्ने बित्तिकै सरसमान मिलाउन लागिन् ।

साउथहयााम्टनलाई विदाई गर्न १२ औं तलामा निस्कियौं । विशाल साइरन बज्यो । दिउंसोको ४ बजे पानीजहाजले ‘साउथहयाम्टोन’ छोड्यो विदाइको मिठो गीत सहित । जहाज बिस्तारै अंग्रेजी च्यानलतर्फ जहाज लाग्यो । पानीजहाजका यात्रीहरु इटालियन, जर्मन, ब्रिटिश, स्पेनिस, बेल्जियन, अमेरिकन, फ्रेन्च र तीन जना नेपाली थिए ।

सन २००४ मा (एम एस सी ओपेरा) निर्माण गरिएको रहेछ । सन २००६ बाट मात्रै यिनले यात्रीहरुलाई सेवा दिंदै आएकी छिन् । यस पटक विभिन्न देशका गरेर जम्मा २७४० जना यात्रीहरु थियौं । प्रथम श्रेणीको सुविधाको लागि ७५० जना जहाजमा कर्मचारीहरु थिए ।

सुविधा ठयाक्कै त्यस्तो नहोला पैसा चाहिं फस्ट क्लासको तिरेका थियौं । कर्मचारीहरु सुरक्षा अधिकारीसहित १५ जना नेपाली पनि थिए जहाजमा । फेमिलाइरेजेसन गर्दै गर्दा क्लेनेथ्ली, वेल्स् निवासी पूर्व मित्र डेविड र उनको पत्नी लिन्डासंग जम्का भेट भयो । वा….. कस्तो अचम्म स्मल वर्लड, धेरै खुसी लाग्यो आगामी दुई हप्ता संगै हुने भनेर ।

जहाजमा सबै भन्दा पहिले फायर प्राक्टिस भए । क्रुजमा अनिवार्य 
(कम्पलसरी) गर्ने पर्ने अन्तर्राष्ट्रिय नियम जस्तै अचानक आगो लाग्यो भने कुन ठाउंमा भेला हुने ? साथमा के लाने ? आगो मुख्य दुश्मन हो पानीजहाजको किनभने २४ सै घन्टा इन्जिन चलिरहेको हुन्छ ।

जहाजमा अचानक नेपाली भाई बल पुनसंग भेट भयो । भान्सामा काम गर्दा रहेछन् उनी । बारमा काम गर्ने बहिनी भरोसा काठमाडौं निवासी रहेछिन् । प्रथम नेपाली क्रुज यात्री भेट्दा हर्षले गदगद भइन् उनी । उनले सित्तैमा कक्टेल (सेक्स अन द बीच) पिलाइन् । धेरै धन्यवाद दियौं बहिनीलाई ।

बिहान ८ बजे पानीजहाज द नेदरलेन्डको ‘इज्मुदीन’ बन्दरगाहमा रोकियो । स्नान गर्न थालें ब्रेकफास्टपछि । दुर्भाग्य धारामा चिप्लिएर लडेर 
हुरुक्कै भएं । खुट्टाको बुढी औंलामा नराम्रोसंग चोट लाग्यो । छोरीले इमर्जेन्सी नम्बर ११११ डायल गरिन् । कोठामा जर्मन नर्स आइन् । सोफिया उनको नाम रहेछ । रगत बढी बगेकाले सोफियाले व्हीलचेयर म्यान (फिलिपिनो) झिकाइन् । व्हीलचेयरमा चढाएर जहाजको मेडिकल केन्द्र लगे मलाई । पछाडि फर्केर हेरें । ताराले तुरुक्कै आंसु झारिन् । म हेर्न सकिन उनी 
रोएको ।

म शत प्रतिशत होसमा नै थिएं । घाउमा ब्यान्डेज लगाएर छाडी देला भन्ठानेको थिएं । आम्सटरडाम घुम्न आतुर थिएं म । दसा बाजा बजाएर आउंदैन रहेछ, त्यसै भयो । कतै आम्सटरडम घुम्न नपाइने हो कि भनेर मनमा अलिकति पीर परयो ।

सोफियाले सहानुभूति दिदै मेडिकल केन्द्र पुरयाइन् ।

मेसोडोनियन डाक्टर र युक्रेनियन नर्सले खुट्टाको औंला निरीक्षण गरे । तीन सेन्टिमिटर भन्दा बढी काटेको रहेछ । सिलाउने समान तयार बनाउनु भनेर डाक्टरले नर्सहरुलाई भने । घट्ना मेरो गल्तीले भएको हो, पानीजहाजको होइन् भनेर फर्ममा सहि गराएं । नत्र उपचार नपाइने रे । पछि पैसा ‘क्लेम’ नगरोस् भनेर । डाक्टरले घाउ सिलाए, दुई जना नर्सहरुको सहयोगमा ।

अब २४ घण्टा अल्कोहल पिउन, माछा मासु खान र पानीजहाजबाट बाहिर जान निषेध पो भने डाक्टरले । मेरो होस् हवास उड्यो आम्सटरडम घुम्ने रहर त्यतिकै मर्ने भयो भनेर । कोठामा आमा र छोरी घुम्नको लागि तयार थिए । विनम्र अनुरोध गरें डाक्टरसंग । बल्ल आफ्नै ‘रिस्क’ मा आम्सटरडम जाने अनुमति मिल्यो । खुसी हुंदै मेडिकल केन्द्रबाट कोठामा आएं एउटा खुट्टामा चप्पल र अर्कोमा जुत्ता लगाएर शहरको यात्रामा निस्कें आम्सटरडम, द नेदरलेन्ड । अलिक ढिलो भयो जाबो खुट्टाले गर्दा । ट्याक्सी समातेर आम्सटरडम लागियो ।

द नेदरलेन्डको राजधानी लगभग ८ लाख जनसंख्या भएको यो शहर । हारवीच, इंगल्याण्डबाट पानीजहाजमा हुक अफ हलेण्ड पुगेको थिएं । आम्सटरडाम चाहिं पुगेको थिइन । प्रथम चोटी हो यो । बन्दरगाहबाट लगभग ४५ मिनेट लाग्यो ट्याक्सीमा ।

संसारको मात्र एउटा यस्तो शहर, सामुन्द्रिक सतह भन्दा २ मिटर मुनि रहेको छ । माछा भन्दा मुनि चराहरु उडिरहेका हुन्छन् यहां । १७ औं शताब्दीको शहर । १६० वटा जति नहर (क्यानल) हरु छन् यहां ।

सानो डुंगा (बोट) बाट हल्का चक्कर मारियो । स साना टापुहरु जोड्ने १२ सय पुलहरु रहेछन् अति सुन्दर भएकोले यसलाई उत्तरको भेनिस भनिंदो 
रहेछ ।

अब हामी आन फ्रान्क हाउस (संग्रहालय) तर्फ लाग्यौं । १५ वर्षीया आन फ्रान्क यही घरमा लुकेका थिइन् दोस्रो विश्व युद्धको समयमा । उनले आफ्नो डायरीमा नाजीहरुले गरेको अत्याचारको विषयमा लेखेकी थिइन् । एकजना धोकेबाजले उनी लुकेको नाजीलाई खबर गरिदिएपछि नाजीहरू आएर उनका सबै परिवारलाई समाते । उनको बाबु ओट्टो फ्रान्क चाहिं भाग्न सफल भए । पक्रेकाहरुलाई मार्नका लागि सिधै रेल बाट अक्स्वीच कन्सन्ट्रेसन क्याम्प पुरयाएका थिए । आजभोली यो क्याम्प पोलेण्डमा पर्दछ ।

उनलाई मार्च १९४५ मा १५ वर्षको उमेरमा मृत्युदन्ड दिइयो । आन फ्रान्कको डायरी २५ जुन १९४७ मा उनका बाबुले प्रकाशनमा ल्याएका थिए । आन फ्रान्क हाउसबाट सिधै ड्याम स्क्वायर तर्फ लाग्यौं हामी । अनुमानित दिशातिर जांदै थियौं हामी किनभने आम्सटरडामको नक्सा थिएन । ढिलो भएको बेला झन हराइयो । तारा अब आगो बनिन् । जब हराइन्छ, तब रिसाउंछिन् । कहिले हराइला अनि रिसाउला भएकी रहेछिन उनी । यस्तो कुनै ठाउं नचिन्नेले किन संसार घुम्नु खोजेको भन्दै बर्बराउन थालिन् उनी । 
अहं केहि जस्तो लागेन मलाई किनभने यो दोश्रो चोटी थियो । पहिले चोटी न्यूयोर्कमा हराउंदा चाहिं पसिनै पसिना भएको थिएं । उनको रिसाई र गर्मीको मिक्स्चरले ।

तनाव कम गर्न नजिकैको रेस्टुरेन्टमा लाने एउटा उपाय निकाले । हल्का लन्च मगाएं, अलिक शान्त भइन् उनी । छेवैको दोकानबाट म्याप किनें, अब त कसो हराइला ? ढुक्क भएं म्याप पाएपछि ।

पूर्व सैनिक म्याप रिडिंग इन्स्ट्रकचर पो त म । म्यापले काम गर्यो, बल्ल पुगियो ड्याम स्क्वायर ।

यसको नजिकै डी वालेन, जहां रेड लाइट डिस्ट्रिक अवस्थित छ । सन् १८११ मा नेपोलियन बोनापार्टको फ्रेन्च सिपाहीलाई मनोरन्जन दिलाउनका लागि खोलिएको । अहिले संसारको सबैभन्दा प्रख्यात बेश्यालय (रेड लाइट) क्षेत्र हो यो । सरर घुम्न सुरु भयो, लगभग ३०० वटा भाडामा लिएको कोठीहरु रहेछन् ।

यौनकर्मीहरु मेसिनद्वारा निर्मित मानिस जस्तै अग्ली अनि पातली 
देखिन्थे । स्वर्गबाट झरेका परिहरु जस्तै दुई जना कालीहरु बाहेक उनीहरु अलिक मोटी देखिए । सायद मातेको बेला उनीहरु पनि अप्सरा जस्तो देखिन्छन् होला । एउटा कोठीको भाडा दिनको ८५ तथा रातको ११५ यूरो रहेछ, एउटी यौन कर्मीले सुनाएकी ।

विभिन्न राष्ट्रका प्रतिनिधित्व गर्ने रहेछन् युवतीहरुले । जसमा ७५ प्रतिशत जति पूर्बी युरोप र बांकी एसिया तथा अफ्रिकाबाट आएका छन् रे । माइकलले भने, नेपाली पनि थिए कि कतै ? छैन होला । सबै अफ्रिका गएका छन् रे । ‘डान्स रेस्टुरेन्ट’ मा नाच्नको लागि । पत्रिकाका अनुसार माइकल अमेरिकन रहेछन् । भट्टी पसल बाहिर बसेर गांजा तान्दै थिए, मोरो गांजा पिउन लिगल रहेछ । मलाई पनि अफर गरे गांजा तान्ने हो ? मैले अफर अस्विकार गरें । लाग्यो शिवरात्री पर्खन नपर्ने, अनि जोगी नभए नि हुने ? कोही त अझै स्मार्ट कपडा लगाएको पनि देखिन्थे ।

यूरोपीयन युवतीहरुले १५, २० मिनेटको सेवावापत ग्राहकलाई ५० यूरो लिन्छन्, एसियन र अफ्रिकनहरुले ४० यूरो मात्रै भन्दै कुहिरेले भने । सबैकुरा थाहा रहेछ, मोरोलाई । माइकल रेगुलर कस्टमर रहेछ, गांजा पसलको । करिब ७ सय जति यौनकर्मी रहेका छन् यहां, माइकलले थपे । सायद कत्तिको त नाम पनि थाहा छ होला माइकललाई ।

‘डी वालेन’, त्यति व्यस्त थिएन, सायद दिउसो भएर होला ?

यौनकर्मीहरुसंग म भन्दा धेरै ताराले बोलिन खै के के सोधिन ? मैले खासै चासो लिइन । रमिता हेर्नमा ब्यस्त रहे । दुई तीन जनाको समूहमा हिंड्नु पर्छ, भन्ने सुनेको थिएं, खतरा हुन्छ भनेर हामीले त्यसै गरयौं । मानव अधिकार सम्बन्धि कानुन अध्ययन गर्दै गरेकी छोरीले बरु धेरै प्रश्न गर्नुपर्ने हो, क्यारे ? उनले बोलेको त्यति सुनिएन ।

क्रमशः

(राई पूर्व ब्रिटिश गोर्खा सैनिक हुन्)

तपाईको प्रतिक्रिया




फेसबुक