अमेरिकाको सुपर पावर अवसानतिर ?

सन् १९५५ देखि १९७५ सम्म करिब २० वर्षको असफल भियतनाम युद्धपश्चात अमेरिकाको कुनै पनि ठाउंमा गएर गरेको युद्ध सफल रहन सकेन । कम्युनिष्टलाई सखाप पार्ने उद्देश्य लिएर भियतनाम छिरेको अमेरिकी सेना करिब ५८ हजार ३१५ जनाको मृत्युसंगै तीनलाख घाइते सैनिक लिएर फर्कनु पर्यो । त्यसैगरि, करिब ३६ हजार अमेरिकी आर्मीले १९५० देखि ५३ को कोरियाली युद्धमा समेत ज्यान गुमाउनु 
पर्यो ।

बीचमा भएका सानातिना युद्धमा समेत ठूलो सफलता नमिलेको अमेरिकालाई सन् २००१ को ट्वीन टावर आक्रमणपछि कुनै पनि सफलता मिलेको छैन् । आतंककारीको नामै नसुनेका संसारका अरबौं जनतालाई अफगानिस्तानपछि एउटा लहर नै शुरु भयो वार अन टेरर, जुन अफगानिस्तानबाट शुरु भएर इराक, लिबिया, लेबनान, सिरिया हुंदै अहिले युरोप तथा अमेरिका पुगिसकेको छ । सानो संख्यामा रहेका आतंककारी अहिले लाखौं संख्यामा छन् भन्दा अन्यथा हुंदैन । ओसामा बिन लादेन, सद्दाम हुसेनको अवसानसंगै आतंककारी सखाफ गर्ने अमेरिका तथा उसका सहयोगी राष्ट्रहरुको योजना केबल योजनामा रहेर अहिले कतै रसियाले त्यो कार्यको सफलता हात पार्ला नभन्न सकिन्न जुन सिरियाबाट अमेरिका तथा अन्य पश्चिमेली देशहरुको असफलताले गर्दा ।

यसबाट के देखिन्छ भने अमेरिकाको एकलौटी रुपमा देखिंदै आएको शक्ति कतै रसियाले ब्रेक लगाएको त छैन् ? करिब एक ट्रिलियन डलरभन्दा बढि खर्च गरेर पनि शान्ति ल्याउन नसकेको इराक अब आफ्नो हात रसियातिर बढाउन खोज्दै छ । अमेरिकाप्रति अफगानिस्तान पनि उत्तिकै आजित भएको समाचार बेला बेला प्रकाशमा आउने गरेका छन् । अमेरिकाको सम्बन्ध फिलिपिन्ससंग पनि राम्रो नहुनु, चीनसंग दुश्मन बढ्नु, रसियालाई मनै नपराउनु, युरोपलाई कब्जामा लिन र आफ्नो स्वार्थमामात्र प्रयोग गर्न खोज्नु, यूके युरोपबाट बाहिर आउनु, डोनाल्ड ट्रम्प नयां राष्ट्रपति बन्नु कतै यो संयोगमात्र नभएर अमेरिकाको सुपर पावरको टाइटल समेत गुम्न लागेको संकेत हुन्छ । यदि रसियाले शक्ति सन्तुलन (ब्यालेन्स पावर) बढाउंदै जाने हो र चीनले समेत अन्तर्राष्ट्रिय रुपमा आफ्नो संलग्नता बढाउने हो भने यो अमेरिकाको सुपर पावर रसिया र चीनसंग जाने निश्चित छ । चतुर दिमागले दशकौं राज्य चलाएका भ्लादिमिर पुटिन र व्यवसायिक मात्र ज्ञान भएका ट्रम्प यो टाइटिल जोगाउन सक्नेछन् वा उनकै कार्यकालमा गुमाउने छन् भन्नेकुरा अहिले चर्चामा छ ।
आणविक हतियारको सबैभन्दा धनी देश रसियालाई उछिन्न अमेरिकालाई दशकौं लाग्नेछ र पुटिनको बढ्दो पपुलारिटी, बढ्दो मिलिट्री आविष्कार र चतुर दिमाग भएका राष्ट्रपतिलाई सधैं राम्रो भन्ने ट्रम्प अगाडि कसरी मुकाविला गर्नेछन् त्यो विश्वले चनाखो भएर हेरिरहेको छ ।

दुई कार्यकाल बिताएर खासै अन्तर्राष्ट्रिय रुपमा आफ्नो पकड जमाउन असफल, खाडी मुलुकहरुमा शान्ति ल्याउन असफल, सिनेटमा समेत अल्पमतमा परेका ओबामा नाम मात्रको राष्ट्रपति भएर बिताइरहेको बेला आफ्नो पपुलारिटी जमाउन र असफल देखाउन अहिले संसारको आंखा साइबर हमला र रसियालाई गाली गर्नमा बितेको छ । करिब नेपालमा जस्तै आफ्नो पार्टीले चुनाव हारेमा धांधली भएको भन्न रुचाउने राजनीतिक पार्टी र ओबामामा खासै फरक देखिन्न । हरेक ठाउंमा असफल, आफ्नो पार्टी तथा पार्टीका तर्फबाट राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनलाई जिताउन असफल भएको र डोनाल्ड ट्रम्पलाई उम्मेदवारी हुन समेत लायक नभएको भनेर भाषण 
गर्ने ओबामा अहिले टाउको काटेर केही समयका लागि छाडेको कुखुरा जस्तो भएका छन् ।

अमेरिकामा अत्यधिक लोकप्रियता कमाउंदै गएका, कसैले पनि विश्वास नगरेका, पूर्ण रुपमा अमेरिका तथा विश्व लागेर हराउन टार्गेट गरिएका विजयी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको पपुलारिटीबाट ब्रेक लगाउन ओबामा तथा डेमोक्रेटिकको योजना कति सफल हुन्छ, त्यो संसारले निकै नियालेर हेरिरहेको छ ।

अन्त्यमा बेलायतका लेबर लिडर, डोनाल्ड ट्रम्प, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन तथा संसारलाई युद्धबाट जोगाउन, नेटोलाई डिजल्भ गर्न, कुनै पनि देशको आन्तरिक राजनीतिमा वाह्य राष्ट्रले हस्तक्षेप नगर्ने अभियानमा लाग्ने हो भने न त हाम्रो पिंढीले अर्को युद्ध नै देख्ने छ, न त आतंकवाद । तर, विडम्बना आणविक हतियारको युद्धमा होमिएको यो संसार कतै पुटिन र डोनाल्डको कार्यकाल समाप्तिसंगै विदा हुने हो कि ? म जस्तै अरबौं जनता शान्तिको नाममा शान्ति नै जप्नु बाहेक के नै गर्न सक्छौं र ? सक्छौं केवल पर्खेर हेर्न ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री