भारी हिमपातले युरोपको जीवन कष्टकर, कम्तीमा ६५ को मृत्यु

बेलग्रेड, सर्बियाको एउटा खाली वेयरहाउस अगाडि खानाको लाइनमा बस्दै आप्रवासी । हिमपात र चिसो मौसमका कारण उनीहरुको जीवन कष्टकर भएको छ । तस्विरः एपी

बुखारेस्ट (रोमानिया), २७ पुस । पूर्वी युरोपभरी ठूलो परिमाणमा हिमपात हुँदा त्यहाँका बासिन्दाको दैनिक जीवन कष्टकर हुँदै गइरहेको जनाइएको छ । मुठ्ठीजस्तो बाक्लो कम्बल ओछ्याए सरहको हिमपातले अनगिन्ती कष्टहरू उपरीमाथि थुपरी लागेर आइरहेका छन् ।

अति कठ्याङ्ग्रिनु पर्ने गरी बढेको ठण्डीका कारण बस, रेलजस्ता साधनहरू ठप्प भै दिनाले यात्रामा ज्यादै कठिनाइ र बिलम्ब, ठाउँ ठाउँमा बिद्युत आपूर्ति बन्द, शून्य डिग्रीभन्दा धेरै तलको तापक्रमले हजारौँ मानिसलाई तहस नहस र चिन्तित तुल्याएको छ ।

यस वर्षको कडा ठण्डी युरोप भर फैलिँदा कम्तीमा ६५ जनाको ज्यान लिइसकेको छ । आज मात्र कडा ठण्डी कै कारण पोल्यान्डमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै आज बिहानैदेखि रोमानियामा सुरु भएको हिमपात, खपिनसक्नुको जाडो र चीसो हावाका कारण १३० गन्तव्यतर्फ जाने सडक यातायात ठप्प भएका छन् भने रेलहरू राम्ररी चल्न नसक्दा सबैतिर ज्यादै बिलम्ब भएको छ ।

शीघ्र यातायात सेवा (कम्म्युटर), मध्यम तथा लामो दूरीका हजारौँ बस तथा मिनीबसहरू यातायात सञ्चालन गर्न नसकी सुरुङ्गमार्ग (सब–वे) मा आश्रय लिई रोकिरहन बाध्य छन् । सडकभरी तथा यत्रतत्र हिउँ जमेकाले हिमक्रिडा (स्की) का अनगिन्ती सौखिनहरू कतैकतै बडो रमाएर खेलिरहेका पनि देखिन्छन् ।

त्यस्तै, सर्बियामा पनि कठ्याङ्ग्रिने ठण्डीले छ जनाको ज्यान लिएको छ । त्यहाँका सरकारी अधिकारीहरूले भारी हिमपात भइरहेका क्षेत्रका बस्तीबाट १३० जनालाई उद्धार गरी अन्तै लगेका छन् ।

बाटोघाटोको हिउँमा फसेका यात्रुहरूको उद्धार गर्न बिशेष प्रकारका दर्जनौँ गाडी परिचालन गरिएको छ । हिमपातबाट नराम्ररी प्रभावित रोमानिया र सर्बियाका सबै स्थानका विद्यालय अनिश्चित कालका लागि बन्दसमेत गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री