अन्ततः हटाइए ज्ञवाली, डा. पोखरेल नियुक्त

डा गोविन्दराज पोखरेल

काठमाडौँ, २७ पुस । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उहाँलाई अवकाश दिई डा पोखरेललाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

अघिल्लो मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई पुनः२४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पुनःनिर्माणको काममा तीव्रता नआएको भन्दै उहाँलाई स्पष्टीकरण सोधिएको थियो ।

नवनियुक्त डा पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षका साथै पुनःनिर्माण प्राधिकरणसम्बन्धी ऐन आउनुपूर्व प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।

बिदाहरु पुनरावलोकन हुने 

बैठकले राष्ट्रिय पर्व र चाड बिदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

आज राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो । पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।

मन्त्री केसीको असन्तुष्टि 

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिन तीन पटकसम्म बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

उहाँले विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गर्नुभयो ।

निजामती ऐन संशोधनमा लोक सेवाको परामर्श 

बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

पदबाट हटाइएकामा आश्चर्य लागेको ज्ञवाली

काठमाडौँ, २७ पुस । आज पदमुक्त हुनुभएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको नतिजा एकपछि अर्कै गर्दै आइरहेका बेलामा सरकारले आफूलाई पदबाट हटाएकामा आश्चर्य व्यक्त गर्नुभएको छ ।

ज्ञवालीले आज एक प्रेस नोट जारी गर्दै पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै अगाडि बढाइरहेका बेला सरकारले आज आफूलाई प्रमुख कार्यकारी पदबाट हटाउन गरेको निर्णयले समग्र पुनःनिर्माण र पुनःस्थापनाका कार्यलाई प्रभावित गर्ने अवस्था सिर्जना हुने चिन्तासमेत व्यक्त गर्नुभएको छ ।

प्रेस नोटमा भनिएको छ, “प्रमुख कार्यकारी अधिकृतको पदमा मलाई मिति २०७२ साल पुस १० गतेको मन्त्रिपरिषद्को बैठकबाट पाँच वर्षका लागि नियुक्ति गरिएकामा आज भएको उक्त अन्यायपूर्ण निर्णय उपर कानूनी उपचार खोज्नुपर्ने अवस्था सिर्जना भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु ।”

आफू प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा अहोरात्र खटिएको उल्लेख गर्दै उहाँले प्राधिकरणबाट भएको पुनःनिर्माणसम्बन्धी कार्यलाई अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरिरहेको दाबी गर्नुभएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री