युकेका नेपाली पत्रकारलाई सहयोग गर्न आइएफजे तयार

लण्डन । इन्टरनेशनल फेडरेसन अफ जर्नलिष्ट (आइएफजे) ले युके र युरोपमा रहेका नेपालीहरुको क्षमता विकासका लागि सहयोग गर्न तयार रहेको बताएको छ । आइएफजे मुख्यालय ब्रसेल्स (बेल्जियम) मा मंगलबार नेपाल पत्रकार महासंघ युके र युरोप शाखाका अध्यक्षद्वयसितको भेटघाटमा आइएफजे अधिकारीहरुले सो कुरा बताएका हुन् ।
महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गीमगर तथा युरोप शाखाका अध्यक्ष केजिन राईले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न राखेको प्रस्तावमा आइएफजेका महासचिव एन्थोनी बेलांगरले सो क्षेत्रमा आफूहरु सहयोग गर्न तयार रहेको बताए । उनले त्यस्ता कार्यक्रम राख्न र त्यसका लागि आइएफजेले स्रोत व्यक्ति पठाउने र आफैँसमेत सहभागी हुने वचन दिए ।
नेशनल युनियन अफ जर्नजिष्ट (एनयुजे) का पूर्व महासचिवसमेत रहेका आइएफजे उपमहासचिव जेरेमी डियरले पत्रकारितामा विकसित नयाँ नयाँ आयामहरु, पत्रकारिताको सैद्धान्तिक तथा ब्यावहारिक क्षमता विकासका लागि सहयोग गर्न आफूहरु तत्पर रहेको बताए ।
अध्यक्षद्वयले आइएफजेलाई धन्यवाद दिँदै निकट भविष्यमा नै त्यस्ता कार्यक्रमहरुको तर्जुमा गरी जानकारी दिने बताए ।
महासंघका अध्यक्ष खपाङ्गी सम्मानित
यसैगरी, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरलाई प्रवासमा रही नेपाली पत्रकारितामा पुर्याएको योगदानका लागि नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्मान गरेको छ । मंगलबार साँझ बेल्जियमको लुभेनमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली महासंघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम र महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले मगरलाई सम्मानपत्र हस्तान्तरण गरे ।
युरोप शाखाका अध्यक्ष राईको सभापतित्वमा भएको सो कार्यक्रममा बेल्जियममा रहेका नेपालीका तर्फबाट एनआरएन अध्यक्ष गौतमले मगरलाई स्वागत गरेका थिए । यस्तै, विश्व मगर फेडरेसनका तर्फबाट अध्यक्ष मार्के मगरले मगरलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा मगरले बेलायतको नेपाली पत्रकारिताका बारेमा जानकारी दिएका थिए ।
युरोप शाखाका वरिष्ठ उपाध्यक्ष ओम शर्माको संचालनमा भएको सो कार्यक्रममा एनआरएन आइसिसीका सदस्यद्वय जानकी गुरुङ र नेत्र मगर, नेपाली काँग्रेसकी महासमिति सदस्य सीता सापकोटा, नेपाली जनसम्पर्क समितिका माधव सापकोटा, तामाङ समाजका बाबुराजा तामाङ र राम लामा, शेर्पा संघका पीटी शेर्पा र आङफुरी शेर्पा, विश्व मगर फेडरेसनका अध्यक्ष मार्के मगर, संघीय समाजका महासचिव लोक राना, पत्रकार वीरमान घर्तीमगर र निलम घिमिरे सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा पत्रकारहरु र सहभागीहरुबीच अन्तरक्रिया गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री