यम बुद्धको पोस्टमार्टम रिपोर्टमा यस्तो देखियो

लन्डन । लन्डनस्थित आफ्नै घरको बाथरुममा झुण्डिएका नेपालका चर्चित रयापर अनिल अधिकारी (यम बुद्ध) को पोस्टमार्टम रिपोर्टले आत्महत्या नै भएको देखिएको परिवारका सदस्यले जनाएका छन् । रिपोर्टको प्रिन्टेड भर्सन पछि पोष्टबाट आउने भएपनि चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए । रिपोर्टमा बंगारा अलिकति सरेको पाइएको पनि जनाइएको छ ।

शनिबार बिहान लन्डनस्थित रइसलिपमा उनी बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए । पारिवारिक सदस्यका अनुसार, रोयल मेलको काम सकेपछि घर आइ खाना खाएर सुतेका यम राती तीनबजेतिर बाथरुम छिरेका थिए । बिहान ६ बजे घरकै अरु सदस्यले ढोका ढकढक गर्दा खुलेन । पछि भित्र जांदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

हाल उनको शव नर्थवीक पार्क अस्पतालमा छ । उनका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् ।

यसैबीच, यमले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइएको तथ्य पनि खुलेको छ । उनले किन पासपोर्ट च्याते त्यो चाहिं खुलेको छैन् । केही वर्ष यता श्रीमतिसंगै रहेका अधिकारी लन्डनमा भ्यालेन्टाइन कार्यक्रम गर्ने तयारीमा थिए । उनको नयां एल्बम ‘खतरा’ छिट्टै बजारमा आउंदै थियो । यमको मेरो जुत्तामा, साथी, आउंदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् । उनको निधनले नेपालको रयाप संगीतमा अपुरणीय क्षति पुगेको संगीतकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री