बेलायतका पर्यटन दूत भण्डारीका ११ महिना यसरी बिते

पशुपति भण्डारी

लन्डन । नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले जिम्मेवारी सम्हालेको ११ महिनापछि आफ्ना काम सार्वजनिक गरेका छन् । बुधबार सांझ एभरेष्ट इन ब्ल्याकहिथमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रियामा भण्डारीले आफूले गरेका काम र भावी योजना सुनाए ।

भण्डारीले गत वर्ष फेब्रुअरीमा पर्यटन दूतको जिम्मेवारी सम्हाले यता लुइसम स्काउट आवद्ध ४४ जना बेलायतीलाई नेपाल भ्रमण गराएको, बेलायतस्थित व्यवसायीहरु सम्मिलित ट्रेड डेलिगेसन नेपाल लान सहयोग गरेको, नेपाल आयरल्याण्ड डे, लन्डन मेला र डब्लुटिएममा नेपाल पर्यटन बोर्ड यूकेको सहभागिता जनाइ नेपालको पर्यटनलाई प्रचार प्रसार गरेको, साउथ इष्ट लन्डन च्याम्बर अफ कमर्सको नेटवर्किङ इभेन्टमा सहभागी भएको, गोर्खा मेमोरियल स्मारक उद्घाटनका क्रममा फोकस्टन केन्टमा सहभागिता, डब्लुटिएममा सहभागिता, ब्ल्याकहिथ भिलेज डेमा सहभागी, ल्यानकेष्टर युनिभर्सिटीमा नेपालको पर्यटन सम्वन्धि जानकारी कार्यक्रम गरेको, चाल्टर्न प्राइमरी स्कुलका विद्यार्थी र शिक्षकलाई एभरेष्ट इनमा बोलाएर नेपाल सम्वन्धि जानकारी दिएको उनले जानकारी दिए ।

‘म जहां पुग्दा पनि एभरेष्ट इन र पशुपति भण्डारी होइन, नेपाल पर्यटन बोर्ड यूके र नेपालको पर्यटन बोकेर हिंडिरहेको हुन्छु’, उनले भने, ‘तपाईंहरुको सबैको सहयोग र साथले यी सबै काम सम्भव भएका हुन् । यसका लागि म आभारी छु । आउनुस् आगामी दिनमा पनि हातेमालो गरेर नेपाल र पर्यटन विकासमा लागौं ।’

रेष्टुरेन्ट व्यवसायी समेत रहेका भण्डारीले बेलायतमा रहेका करिब अढाइ सय रेष्टुरेन्टले कम्तीमा आफ्नो रेष्टुरेन्टमा आउने ग्राहकलाई नेपाल घुम्न जान प्रेरित गरे त्यो ठूलो योगदान हुने बताए ।

भण्डारीले सन् २०१७ लाई ‘भिजिट नेपाल युरोप’ का रुपमा मनाउने तयारी भइरहेको जानकारी दिंदै यसको औपचारिक उद्घाटन आगामी मार्चमा दूतावासबाट हुने बताएका छन् । उनले भिजिट नेपाल युरोप अन्तर्गत ०१७ भरि १५ वटा प्रमुख कार्यक्रम गर्ने घोषणा गरे जसमा नेपाली नयां वर्षमा सांस्कृतिक कार्यक्रम, वुद्ध जयन्ती, एभरेष्ट डे, फोटो प्रदर्शनी र वर्कसप, संगीत महोत्सव, वल्ड कल्चर डे सेलेब्रेसन छन् । त्यसैगरि नेपाली मेला, लन्डन मेला, स्कटल्याण्ड महोत्सव र हाइथ महोत्सवमा नेपाल पर्यटन बोर्ड यूकेको सहभागिता जनाउने उनको योजना छ । वल्ड टुरिजम मार्केट (डब्लुटिएम) र एसियन तथा ब्रिटिस करी अवार्डसमा सहभागिता जनाउने आफ्नो योजना पनि उनले सुनाए ।

भण्डारीले पर्यटन दूत कसैबाट एक पेनी नलिइ गर्ने जिम्मेवारी भएको स्पष्ट पार्दै नेपालको पर्यटन प्रवर्धनमा समस्त नेपाली समुदायको सहयोगको अपेक्षा समेत गरे ।

कार्यक्रममा नेपालबाट आएका पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर मनिराज लामिछानेले नेपालको पर्यटन प्रवर्धनमा यूके दूत भण्डारीको पहल प्रशंसनीय रहेको जनाउंदै बेलायतका नेपालीले विदेशी पर्यटकलाई नेपाल घुम्नका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गरे । लामिछानेले एकजना पर्यटकले नेपालमा दशजनालाई रोजगारी दिने जनाउंदै नेपाल पर्यटकको स्वागत गर्न सधैं आतुर रहेको पनि बताए ।

कार्यक्रममा नेपाली राजदूतावासका अट्याची तेजेन्द्र रेग्मीले बेलायतबाट पर्यटक नेपाल पठाउन दूतावासको पनि प्रमुख भूमिका रहने बताउंदै १ जनवरीदेखि उही दिन भिजा दिने व्यवस्था मिलाइएको बताए ।

एनआरएनए यूके आइसीसी सदस्य संगिता मरहट्ठाले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए केन्द्रिय सल्लाहकारहरु विश्वआदर्श पण्डित र मेजर (रि) डमर घले, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेल, व्यवसायी कृष्ण भट्ट, तमु समाज बेलायतका सल्लाहकार सुवसिंह गुरुङ, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, एनआरएनए यूके प्रवक्ता खुशी लिम्बु, समाजसेवी चिरन्जिवी ढकाल, पत्रकार चिरन शर्मा, भोजराज बराल, गणेश खड्का लगायतले आ आफ्ना सुझाव सल्लाह दिंदै 
भण्डारीको एकल प्रयासमा भएका पर्यटन प्रवर्धन सम्वन्धि गतिविधि प्रशंसनीय भएको उल्लेख गरे । वक्ताहरुले भण्डारीको स्वयंसेवा प्रेरणादायी भएको जनाउंदै आफ्नो तर्फबाट सक्दो सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा एभरेष्ट इनका निर्देशक यादव भण्डारीले धन्यवाद मन्तव्य दिए । कार्यक्रमका सहभागीलाई एभरेष्ट इन रेष्टुरेन्टले स्वादिष्ट खाना तथा पेय पदार्थ व्यवस्था गरेको थियो ।

तस्विरहरुः बीरेन्द्र श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री