दुई वर्ष देखि बन्द ऐतिहासिक तमु सङ्ग्रहालयको ताला खुल्यो

लमजुङको सदरमुकाम बेसीसहरमा दुई वर्षअघि देखि बन्द रहेको ऐतिहासिक तमु सङ्ग्रहालय भवनको ताला खोल्दै प्रजिअ मोहनबहादुर जिसी । तस्बिर ः सन्देश पौडेल, लमजुङ, रासस

(लमजुङ) बेसीसहर, ६ माघ । सदरमुकाम बेसीसहरमा दुई वर्षअघि देखि बन्द रहेको ऐतिहासिक तमु सङ्ग्रहालय भवनको ताला खोलिएको छ ।

तमु ह्युला छोंज धीं लमजुङ र आदिवासी जनजाति महासङ्घबीच आन्तरिक विवादका कारण बन्द रहेको भवनको ताला प्रशासनले बुधबार खोलेको हो । सङ्ग्रहालय व्यवस्थापन, नयाँ सहमति लगायतमा सहमति जुटेपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले ताला खोल्नुभएको हो ।

गुरुङ अगुवाबीच विवाद बढेपछि स्थानीय प्रशासनले तमु सङ्ग्रहालयमा दुई वर्षअघि ताला लगाइएको थियो । सङ्ग्रहालयमा स्थानीय प्रशासनले २०७१ साल पुस २२ गते ताला लगाएको थियो । भवनमा तालाबन्दी भएपछि सङ्ग्रहालयमा रहेको तमु ह्युला छोंज धीं जिल्ला कार्यसमितिको प्रशासनिकलगायत कार्य बन्द भएको थियो ।

संस्थामा अनियमितता भएको आरोप लगाउँदै तमुवान् युथ भोलिन्टियर्सको नाममा केही युवाले २०७१ साल जेठ १५ गते ताला लगाएका थिए । ताला खुलाउने विषयमा सहमति नजुटेपछि तमु ह्युला छोंज धींको समिति र सङ्ग्रहालय व्यवस्थापन समितिले सोही महिनाको १८ गते पत्रकारसम्मेलन गरी संस्थालाई प्रशासनको जिम्मा लगाएको थियो ।

स्थानीय प्रशासनले सम्बन्धित पक्षलाई बोलाएर पटक–पटक सहमति जुटाउनका लागि प्रयास गरे पनि असफल भएपछि प्रशासनले ताला लगाएर संस्थाको जिम्मा लिएको थियो । विवाद समाधानका निम्ति सांसद जमिन्द्रमान घले, राप्रपा केन्द्रीय नेता हेमजङ्ग गुरुङ र नेपाली काँग्रेसका गमप्रसाद गुरुङ लागिपरेका थिए । सहमतिअनुसार तमु ह्युला छोंज गुरुङ राष्ट्रिय परिषद्को नयाँ कार्यसमिति चयन गरिएको छ ।

गुरुङ अगुवा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष प्रेमबहादुर घले, सङ्ग्रहालयका महासचिव ताराराज घले र नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष खेमजङ्ग गुरुङले लिखित सहमति जनाएका छन् ।

आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को समयावधि सकिएकाले आगामी चैतभित्र अधिवेशन गर्ने, तमु सङ्ग्रहालयको साधारण सभा र आदिवासी जनजातिको अधिवेशन प्रक्रिया सँगसँगै गर्ने लगायतको सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री