ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति, शपथकै दिन यस्तो गर्जन

ट्रम्प श्रीमती मेलानियाका साथ शपथ ग्रहण समारोहमा ।

न्यूयोर्क । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पले शुक्रबार शपथ ग्रहण लिएका छन् । अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलस्थित पश्चिम क्षेत्रको अग्रभागमा आयोजित एक भव्य समारोहबीच ७१ वर्षीय ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायधीस जोन रोबर्टस जुनियरले पदको शपथ ग्रहण गराएका थिए । शपथसंगै रियल स्टेट खर्बपति ब्यापारी ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा पाका राष्ट्रपति भएका छन् । यसअघि सन १९८१ मा पदभार ग्रहण गर्दा रोनाल्ड रेगन ७० वर्षका थिए ।

शपथ लिनेक्रममा ‘ह्वाइट हाउस’ प्रवेशको परम्परा अनसार राष्ट्रपति निर्वाचित ट्रम्प राष्ट्रपति बाराक ओबामाको कफी निम्तोमा शुक्रबार बिहान हवाइट हाउस पुगेका थिए । त्यसपछि दायां सिटमा ओबामा एवं बायां सिटमा ट्रम्प सवार लक्जरी कार ‘लेमोजिन’ अमेरिकी कंग्रेस भवन क्यापिटोल हिल बाहिर आयोजित शपथ ग्रहण समारोहमा पुगेको थियो ।

दाहिने उठाएर बायां हात बाईबलमा राख्दै शपथ लिने परम्परा अनुरुप ट्रम्पले श्रीमती मेलानिया ट्रम्पको हातमा रहेको बाइबलमा हात राख्दै शपथ लिएका थिए । ट्रम्पले अमेरिकी संविधानको आर्टिकल दुई, भाग एक एवं क्लज आठमा उल्लेखित ३५ शब्दमा उल्लेखीय शपथ दोहोर्याएका थिए । राष्ट्रपति पदप्रति पूर्ण प्रतिवद्व रहने एवं अमेरिकी संविधानको संरक्षण, रक्षा एवम बचाउका लागि आफूले हदैसम्मको क्षमता प्रयोग गर्ने उल्लेखीय शपथ शब्दहरु प्रति ट्रम्पले आफनो प्रतिवद्वता प्रकट गरे ।

स्थापना देखि नै अमेरिका धर्म निरपेक्ष मुलुक भएपनि बाइबल छोएर शपथ लिने परम्परालाई अमेरिकी राजनीतिमा धर्मको बलियो प्रभावको रुपमा बिश्लेषण गरिन्छ । जर्ज वासिङटन देखि हयारी ट्रुम्यान सम्मका राष्ट्रपतिले शपथ ग्रहणमा बाइबललाई ‘किस’ गर्ने चलन रहेपनि सन १९५३ डवाईट आईजनहावरको पाला देखि बाइबलमा हात राख्ने चलन शुरु भएको हो ।

ट्रम्पले शपथ अघि राष्ट्रपतिहरुको चर्चको रुपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर आर्शिवाद लिएका थिए । शपथपछि त्यहां उपस्थित हजारौं जनमानसलाई सम्बोधन गर्दै ट्रम्पले २० जनवरी शुक्रबारदेखि वासिङटन डिसीमा केन्द्रित अधिकार जनतामा हस्तान्तरण भएको दाबी गरेका थिए । शपथ समारोहमा पूर्व राष्ट्रपतिहरु जिमी कार्टर, बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस उपस्थित थिए । अस्वस्थताका कारण पूर्व राष्ट्रपति सिनियर बुस भने अनुपस्थित थिए । समारोहपछि ट्रम्पले निवर्तमान राष्ट्रपति ओबामा दम्पतिको विदाई गरेका थिए ।

गत नोभेम्बरको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्पले डेमोक्रयाटिक पार्टी प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । इलेक्टोरल कलेजमा जित हासिल गरेपनि ट्रम्पले हिलारी क्लिन्टनको तुलनामा झण्डै तीस लाख मत कम पाएका थिए । पपुलर भोटमा हारेर पनि राष्ट्रपति पदमा निर्वाचित हुने अपवादको यो घटना अमेरिकी राजनीतिको पाचौं अध्याय हो । ट्रम्प हवाइट हाउसमा आसिन हुने पहिलो व्यक्ति हुन् जोसंग कुनै खाले सैनिक सेवा एवं राजनीतिक क्षेत्रमा काम गरेको अनुभव छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री