हिमपहिरोमा १४ भारतीय सैनिकको मृत्यु

श्रीनगर (भारत), १४ माघ । भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रहरुमा अवस्थित भारतीय सैनिक चौकीहरुमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या १४ पुगेको छ । भारतीय सैनिक स्रोतले शुक्रबार सो जानकारी दिएको छ ।

हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ ।

चार जना भारतीय सैनिकको थप शव शुक्रबार निकाले पछि सो सङ्ख्या १४ पुगेको बताइएको छ । भारतीय सैनिक कर्णेल राजेश कालियाका हिमपहिरो गएको स्थानहरुबाट बिहीबारबाट नै उद्धारकार्य सुरु गरिएको थियो ।

छुट्टाछुट्टै स्थानमा रहेको सैनिक चौकीहरुमा बुधबार रातिबाट गएको यस हिमपहिरोमा परी कम्ती २१ भारतीय सैनिक पुरिएका थिए । तीमध्ये सात जनालाई भने जीवितै उद्धार गरिएको थियो ।

हिमपहिरो र पहिरो काश्मिरमा एक साधारण घटनाको रुपमा हँुदै आएको पाइन्छ । जसको कारण सीमा रेखामा रहेका भारतीय र पाकिस्तानी सैनिक ठूलो सङ्ख्यामा ज्यान गुमाउने गरेका छन् ।

गतबर्ष भारत अधिनस्थ काश्मिरमा छुट्टाछुट्टै इलाकामा गएको दुई वटा हिमपहिरोमा परी कम्तीमा १४ सैनिकको मृत्यु भएको थियो ।

त्यसैगरी पाकिस्तान नियन्त्रित काश्मिरमा सन् २०१२ मा गएको भीषण हिमपहिरोमा परी कम्तीमा १४० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा १२९ जना पाकिस्तानी सैनिक रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री