बेम्ब्लीमा मगर चलचित्र ‘खुर्पेटाे’ प्रदर्शन

लन्डन । मिफुरुङ्ग फिल्म प्रोडक्शन प्रालिको ब्यानरमा भिम रानाको परिकल्पना, राजेन्द्र आले (तुल) को लगानी र विश्वास मगर (विकास) को निर्देशनमा निर्माण भएको मगर कथावस्तुमा आधारित चलचित्र ‘खुर्पेटो’ बेलायतको साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लव हलमा प्रदर्शन भयो ।

चलचित्र मिफुरुङ वेम्ब्लीको आयोजनामा प्रदर्शन गरिएको हो । क्लवका उपाध्यक्ष सन्दीप रानामगरको उद्घोषणमा सञ्चालन भएको उक्त शोमा चलचित्र प्रदर्शन हुनु अगाडि वेम्ब्ली मगर संघका सचिव गञ्ज आलेमगरले मगर विषयवस्तुको चलचित्रका लागि समुदायको सहयोग खांचो रहेको बताए ।

उक्त अवसरमा मगर चलचित्रकर्मी संघद्धारा निर्माण भएको छोटो चलचित्र ‘गुठ’ प्रदर्शन गरिएको थियो । सो चलचित्रमा लोपोन्मुख परम्परागत प्रथाजनित कानुन हेर्न पाएकोमा दर्शकहरुले रमाइलो मानेका थिए । परम्परागत अभ्यासको बारेमा आफूले धेरै सुनेपनि देख्न नपाइरहेका बेला चलचित्रमा भएका ति दृश्य निकै रमाइलो र ज्ञानवर्धक भएको दर्शक पूर्णिमा थापामगरले बताइन् ।

कार्यक्रममा मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्कीमगरले वि.स. २०५१ सालदेखि मगर भाषा संस्कृतिमा चलचित्र निर्माण हुन शुरु भएपनि निर्माण, वितरण र प्रदर्शनको उचित विकास नभइसकेकाले त्यसका लागि समुदायको पनि ध्यान जानुपर्ने आवश्यकता औंल्याए । उनले कला सृजना र सम्वर्धन गर्न उपयुक्त वातावरण सिर्जना गर्दै जानुपर्ने धारणा राख्दै अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने प्रयासस्वरुप हाल आफू बेलायत आएर बेलायत मगर संघ र अरु नेपाली कलाधर्मीहरुसंग भेटघाट, छलफल र योजना तर्जुमा गरिरहेको बताए ।

चलचित्र प्रदर्शनपश्चात् चलचित्र र कलापक्ष निर्माण र वितरणबारे पनि आफ्नो विचार व्यक्त गर्दै मगर इन्भेष्टमेन्ट फोरमका अध्यक्ष रत्न राना मगरले आयोजकलाई धन्यवाद दिए ।

त्यसैगरी लुम्विनी बिहारका अध्यक्ष कृष्ण दर्लामीले चलचित्रकर्मीहरुले चलचित्र बनाउँदा दर्शक पक्षले पनि उत्तिकै सहयोग र चासो राख्नुपर्ने आवश्यकतामाथि प्रकाश पारेका थिए ।

वेम्ब्ली मगर संघका सांस्कृतिक संयोजक तथा चलचित्र ‘पातें’ लगायतकी कलाकार सरु रानाले चलचित्रकलालाई डायस्पोरामा बसेका नेपालीहरुले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताइन् । मन्तव्यका क्रममा मिफुरुङ्ग युथ क्लवकी अध्यक्ष यमुना आलेमगरले बेलायतमा भएको समुदायको कार्यक्रममा आफूहरुले सहयोग गर्दै आएको र यो साल चलचित्र प्रदर्शन कार्यक्रम आयोजना गरेको बताइन् ।
चलचित्र सकिएपछि पनि दर्शकहरु समीक्षा सुन्न, सुनाउन धैर्यसाथ बसिरहेका थिए ।

चलचित्रलगायत अन्य कलापक्षको उचित विकास नभई समाजको पूर्ण विकास नहुने वक्ता र दर्शकहरुको भाव थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री