उदीयमान अंकिता

पाेर्चुगल । रोल्पाको बुढागाउँबाट आफ्नो सपना फुल्ने ठाउँ खोज्दै काठमाडौं आइपुग्दा अंकिता मगरले सुरुमा पुतलीसडकको अभिनव कला मञ्जरीमा गुरु लाक्पा शेर्पाबाट आफ्नो स्वर अर्जाप्ने मौका पाइन् । जनकल्याण माध्यमिक विद्यालय, सिम्पानीमा अध्ययन गरिरहेकै बेला मञ्चमा उक्लेर स्वर गुन्जाउन थालेकी उनले बागबजारस्थित गुरुकुलमा गुरुदेव कामतलाई संगीतको गुरु थापिन् । यिनै अभ्यास र साधनाबाट अंकिताको नेपाली गीत र संगीतको क्षेत्रमा उदय भएको छ ।

कोही छैन कोही छैन
मलाई लड्दाखेरि हात दिने कोही छैन
मलाई दुःख पर्दा साथ दिने कोही छैन…

गोविन्दमधु आचार्यको शब्द र संगीतको यो सुगम संगीतको गीत अंकितालाई कलाकारिताको पहिचान जनाउने गीत हुन पुगेको छ । तीन वर्षअघि रेकर्ड भएको र हाल युट्युवमा ब्यापक गुन्जने यो गीतकै कारण अंकितालाई देश विदेशमा प्रस्तुतिका लागि निम्तो आइरहेछ । हालै बेल्जियमको लुभेनमा आयोजित कार्यक्रममा दमदार प्रस्तुति दिएर आएकी अंकिता भन्छिन्,’अहिले कला क्षेत्रमा म नयाँ नै छु, भविष्यमा अझै केही गर्छु भन्ने आत्मविश्वास बढेको छ ।’

सुरुमा सल्यानबाट प्रशारण हुने कपुरकोट एफएमको लागि उनले जिङ्गल गाइन् । यो नै उनको स्वरले रेकर्ड हुने पहिलो अवसर थियो । उनको स्वर रेकर्ड हुने क्रममा लोकदोहोरी गीत, तीज गीत र भोजपुरी चलचित्रको गीतसम्म पुगिसकेको छ ।

अहिले अंकिता पोर्तुगलमा संघर्ष गरिरहेकी छन् । यहाँ पनि ब्यस्त रुपमा कार्यक्रममा निम्त्याइने कलाकार हुन्, उनी । कार्यक्रम सञ्चालनलाई बेजोड रुपमा प्रस्तुत गर्ने उनको क्षमताका कारण उनी कार्यक्रममा सहभागी भएपछि उद्घोषक र कलाकार दुवैको भूमिका सहजताका साथ निर्वाह गर्ने क्षमता छ, उनको । त्यसैले एक ब्यक्ति दुई भूमिका भएपछि उनी कार्यक्रमहरुमा प्राथमिकताका साथ निम्त्याइने नै भइन् ।

अंकिता परिन्, गायिका अञ्जु पन्तको फ्यान । त्यसैले रोल्पाको बुढागाउँमा बारीका कान्लातिर ब्यस्त भइरहेको बेला होस् वा वनजंगलमा गोठाला जाँदा उनी अञ्जु पन्तका गीतहरु खुबै गाउँथिन् । उनका दिदीहरु पनि लोकगीत गाउने । अनि बुवा मनवीर र आमा तुलका घर्तीबाट आशिर्वाद र प्रेरणाको वर्षा । गाउँले दाइ गुरु घर्ती मगरको सहयोगबाट काठमाडौं आएकी उनी अव पोर्तुगलमा रहेर नेपाली गीत संगीतलाई समृद्ध बनाउने सपना बोकेर हिँडिरहेकी छन् ।

नेपालको रोल्पा, सल्यान, दाङ, महेन्द्रनगर र कैलालीमा उत्कृष्ट साँगीतिक प्रस्तुति पस्किसकेकी अंकिता गीत र संगीतलाई आफ्नो जीवनको एउटा लक्ष्य ठान्छिन् । “मेरो लागि संगीत जीवनको अभिन्न अँग हो”, उनी भन्छिन् । चाँडै एउटा एल्बम् निकाल्ने योजनामा रहेकी अंकिताको धारणा छ,“संगीत छ, र त म छुजस्तो लाग्छ ।”

अंकिता उदीयमान कलाकार हुन् । उनी नेपाली कलाकारिता क्षेत्रमा सुरिलो र भरपर्दाे स्वरका साथ स्थापित हुन संघर्ष गरिरहेकी छन् । आधा दशकदेखि संघर्षरत उनी एक दिन सफल गायिका बनेर निस्कनेमा कुनै शंका छैन । मात्र छ, उनलाई हौसला र मायाको ।
उनले गोविन्दमधु आचार्यकै शब्द र संगीतमा गाएकी छन्,
नखाने कसम खाइएछ
मन दुख्ने माया लाइएछ…

तर, उनले संगीतमा लगाएको समर्पणपूर्ण माया भने लोभलाग्दो छ । मन दुखाउने छैन, त्यो मायाले ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री