युक्रेनमा पछिल्लो झडपबारे ट्रम्प र पोरोसेन्कोबीच फोनवार्ता हुने

तस्विरः एपी

किभ (युक्रेन), २२ माघ । युक्रेनमा पछिल्ला केही दिनयता भएका झडपबाट झन्डै दुई दर्जन मानिसको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग कुराकानी गर्नुहुने भएको छ ।

गत आइतबार पूर्वी युक्रेनको आमाइभका क्षेत्रमा युक्रेनी सेना र रसिया पक्षधर विद्रोहीबीच भएका झडपमा एक हप्ताको अन्तरालमा २५ जना भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाली राष्ट्रपतिबीच भएको फोन वार्ता लगत्तै युक्रेनमा भएको झडपलाई युक्रेनी सरकारले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा आमेरिकी राष्ट्रपति ट्रम्पको रसियासँगको सम्बन्ध सुधारमा भनाइ र गराइमा एकरुपता देखिन्छ वा यो केवल कूटनीतिक वक्तव्यबाजी मात्र हो भनी परीक्षा गर्ने उद्देश्यले विद्रोहीलाई उक्साएको युक्रेनको बुझाई छ ।

राष्ट्रपति पोरोसेन्सको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी अमेरिकी राष्ट्रपतिसँग यस सम्बन्धमा कुराकानी हुने जनाएको हो ।

युक्रेनमा गत आइतबारदेखि सुरु भएको सरकारी सेना र रसिया पक्षधर विद्रोहीबीचको झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या शुक्रबारसम्म २५ जनाभन्दा बढी पुगेको स्थानीय सञ्चार माध्यमले जनाएका थिए ।

सरकारी सेना र विद्रोहीबीच बिहीबार दिउसोसम्म तोप र रकेट आक्रमण जारी रहेको भएपनि बिहीबारदेखि स्थितिमा सामान्य सुधार आएको सरकारी अधिकारीले बताएका छन् । उक्त क्षेत्रमा दुई पक्षबीच भएको भिडन्तपछि अमदाइभका र वरपरका मानिसहरु विस्थापित भई चिसोमा खुला आकाशमुनी जम्मा भई बसेका बताइएको छ ।

रसिया र युक्रेनले पछिल्लो झडप सुरु हुनुमा एक अर्कालाई दोषी भन्दै आरोप प्रत्यारोप लगाइरहेका छन् भने अन्तर्राष्टिय समुदायबाट झडप र मृत्यु सम्बन्धमा गहिरो चासो व्यक्त भएको छ । संयुक्त राष्ट्रसङ्घ, यूरोपियन युनियनलगायतले मिन्स्क सम्झौताको उल्लङ्घन गर्दै भएका पछिल्लो झडपप्रति संवेदनशील बन्न सरकार, विद्रोही र सम्बद्ध पक्षसँग आग्रह गरिसकेका छन् ।

यसैवीच मानवीय सहयोग मामिला हेर्ने अन्तरराष्ट्रिय सङ्गठन (ओसिएचए)ले युक्रेनमा सन् २०१६ मा भन्दासन् २०१७ मा सात लाख मानिसलाई आधारभूत मानवीय सहयोगको आवश्यकता हुने आफ्नो एक प्रतिवेदनमार्फत शुक्रबार जानकारी गराएको थियो ।

अध्ययनले यूक्रेनमा यस वर्षको अन्तसम्म मानवीय सहायताको पर्खाइमा रहने नागरिकको सङ्ख्या ३८ लाख पुग्ने जनाएको छ ।

राष्ट्रसङ्घका अनुसार युक्रेनमा सन् २०१४ को अप्रिलमा सुरु भएको द्वन्द्वका कारण करिब १० हजार युक्रेनीको मृत्यु भएकोमा दुई हजार सर्वसधारण रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री