‘सामूहिक हत्या’ बारे एम्नेस्टीको प्रतिवेदन असदले मानेनन्

राष्ट्रपति बसर अल असद

वासिङटन, २८ माघ । अन्तर्राष्ट्रिय मानव अधिकार समूह, ‘एम्नेस्टी इन्टरनेसनल’द्वारा दाबी गरिएको सिरियाली अधिकारीले झन्डै १३ हजार सिरियाली नागरिकलाई पाँच वर्षको अन्तरालमा सरकारी जेलमा हत्या गरेको भन्ने आरोपको सिरियाली राष्ट्रपति बसर अल असदले शुक्रबार खण्डन गर्नुभएको छ ।

एम्नेस्टी इन्टरनेसनलले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै सिरियाली प्रशासनले जेलभित्र विभत्स सामूहिक हत्या गरेको यस्ता खालका युद्ध अपराध वा मानवताविरोधी अपराध अझै पनि राजधानी दमासकस नजिकैको सयद्नया जेलमा भइरहेको आरोप लगाएको छ ।

‘याहु न्युज’ सँगको प्रतिक्रियामा सिरियाली राष्ट्रपति असदले उक्त प्रतिवेदनले एम्नेस्टी इन्टरनेसनलको विश्वसनीयतामाथि प्रश्न चिह्न खडा गरेको छ भन्नुभयो । “यो सर्वथा पक्षपातपूर्ण र राजनीतिक पूर्वाग्रहले आएको छ । प्रसिद्ध संस्थाबाट यस्तो कमजोर र तथ्यहीन प्रतिवेदन आउनु लज्जाको विषय हो ।”

यसैगरी एम्नेस्टी इन्टरनेसनलले प्रतिवेदन ८४ जना प्रत्यक्षदर्शी, जेलरक्षक, कैदी र न्यायाधीशसँगको कुराकानीका आधारमा तयार पारिएको भन्दै सिरियामा मानव अपराधले सीमा नाघेको आरोप लगाएको छ ।

प्रतिवेदनका विषयमा आएको विवादसँगै सिरियामा उच्च सरकारी अधिकारीलाई ‘झुण्ड्याएर मार्ने’ अख्तियारी दिइएको भन्ने हल्लाबारे राष्ट्रपति असदलाई सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “यो साँचो होइन, पक्कै सत्य होइन ।”

असदले अहिले झुट समाचारको खेती हुने गरेको सवैले बुझेको बताउनुभयो । सिरियाली न्याय मन्त्रालयले प्रतिवेदनको यसअघि नै खण्डन गरिसकेको छ ।

सिरियामा सन् २०११ देखि सुरु भएको सरकारविरुद्धको आन्दोलन र आन्दोलनलाई निष्क्रिय पार्ने बहानामा भएका कारबाहीमा अहिलेसम्म तीन लाख १० हजार सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, ‘सिरियन अबजरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री