सिर्जना अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आर्मीलाई उपाधि

सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेलमा बिजयी खेलाडी पुरुषतर्फ त्रिभुवन आर्मी टीमलाई नगद, ट्रफी र स्वर्ण पदक वितरण गरिँदै । तस्बिर ः निमदत्त सुवेदी, पोखरा, रासस

पोखरा, २९ माघ । सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

पोखरा रङ्गशालामा आज भएको पुरुषतर्फको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै उपाधि जितेको हो । आर्मीले पुलिसलाई २५–२१, २१–२५, २७–२५ र २५–१३ अङ्कले पराजित गरयो ।

यस्तै, महिलातर्फ सशस्त्र प्रहरीको एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–१ सेटले हराउँदै उपाधि जित्यो । एपिएफले डायमण्डलाई २५–१८, २५–१४, १८–२५ र २५–१५ अङ्कले पराजित गरयो ।

उपाधिसँगै पुरुषतर्फको विजेता आर्मीले रु एक लाख ५५ हजार ५५५ तथा उपविजेता पुलिस क्लबले रु ७७ हजार ७७७ ट्रफी र प्रमाणपत्र प्राप्त गरयो भने महिलातर्फको उपाधि विजेता एपिएफले रु एक लाख ५५ हजार ५५५ र उपविजेता न्यू डायमण्डले रु ७७ हजार ७७७ ट्रफी र प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ तेस्रो भएको पश्चिमाञ्चल टिमले रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गरेको छ । गत माघ २२ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा पुरुष तथा महिलातर्फ ६-६ वटा टिमको सहभागिता रहेको भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो ।

विजयी टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक नरेश सिंहलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सृजना विकास केन्द्रको प्रायोजन तथा नेपाल भलिबल सङ्घ कास्कीको तत्वावधानमा प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै उत्कृष्ट खेलाडी वेष्ट स्पिकर, व्लोकर, सेटर, डिफेन्स र सर्भरलाई पनि रु पाँच-पाँच हजार नगद पुरस्कार दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री