सिरिया द्वन्द्वबारे वार्ता गर्न विद्रोही र सरकारलाई आमन्त्रण

सिरियन डेमोक्रेटिक फोर्सेसका लडाकुहरु आइएस विरुद्ध लड्न तयारी अवस्थामा । तस्विरः एएफपी

अलमाटी (काजकिस्तान), २९ माघ । काजकिस्तानको विदेश मन्त्रालयले शनिबार सिरियाली सरकार र विद्रोही पक्षलाई दोस्रो चरणको वार्ताका लागि जेनेभामा जानुभन्दा पहिले यसै विषयमा थप छलफल गर्न अस्तानामा आउन निमन्त्रणा पठाएको छ ।

अस्तानमा यही फेब्रुअरी १५ र १६ गते छलफल गर्ने गरी अस्ताना आइपुग्न सम्बद्ध पक्षलाई बोलाइएको मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

रसिया, टर्की र इरानको पहलमा अस्तानामा भएको पहिलो चरणको वार्ता जनवरी २३ मा बोलाइएको थियो भने दुवै पक्षले आवश्यक तयारीसाथ दोस्रो वार्तामा सहभागी हुने सहमति भएको थियो ।

दोस्रो चरणको औपचारिक वार्ताको पूर्वसन्ध्यामा हुने छलफलमा सिरियाली सरकार तथा विद्रोही पक्षबाट आफ्ना प्रतिनिधि सहभागी गराउन आग्रह गरिएको छ भने वार्तामा संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुरा र अमेरिकी पर्यवेक्षकहरुलाई पनि आमन्त्रण गरिएको छ ।

अस्ताना वार्ताले सिरिया युद्धविराम र स्थायित्वका उपाय खोज्ने विषयलाई छलफलको मुख्य एजेन्डा बनाइने बताइएको छ । जेनेभा वार्तापूर्व गर्न सकिने ‘व्यावहारिक कदम’ बारे बाटो तय गर्नसमेत वार्ता सफल हुने विश्वास काजकिस्तानले लिएको छ ।

यही फेब्रुअरी २० मा जेनेभामा हुने वार्ताको तयारीस्वरुप अस्तानामा थप छलफल गरिन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री