इयुसँग नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह


बेल्जियम भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग भेटवार्तामा गर्नुहुँदै । तस्बिर ः नेपाली राजदूतावास वेल्जियम–रासस

काठमाडौँ, ४ फागुन । बेल्जियममा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गर्नुभएको छ ।

युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग बुधबार भएको भेटवार्तामा मन्त्री डा महतले सो आग्रह गर्नुभएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । युनियनले नेपाली उडानहरुमा हवाई सुरक्षा मापदण्ड पूरा नभएको भन्दै विगत केही समययतादेखि नेपाली हवाई उड्डयनमा प्रतिबन्ध लगाउँदै आएको छ ।

यस्तो मापदण्ड नेपाली उडानमा अब पूरा भएकाले उक्त प्रतिबन्ध फुकुवा गर्न मन्त्री डा महतले गरेको अनुरोधको जवाफमा मोगरिनीले यस प्रावधानको पुनरावलोकन गरी हेर्ने र आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सो भेटका क्रममा मन्त्री डा महतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै संविधानको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा मोगरिनीले संविधान सभामार्फत निर्मित संविधानप्रति युरोपियन युनियनको समर्थन रहेको भन्दै कार्यान्वयनका लागि पनि शुभकामना दिनुभयो ।

उहाँले नेपालले आगामी केही समयभित्रै सम्पन्न गर्न लागेको निर्वाचनका लागि सफलताको कामना गर्दै निर्वाचनका लागि आवश्यक कुनै सहयोगका लागि नेपाल सरकारबाट अनुरोध भएमा त्यसमा सघाउन युनियन तत्पर छ भन्नुभयो । त्यसैगरी सो भेटका क्रममा मन्त्री डा महतले नेपालको विविध क्षेत्रको विकासमा युरोपियन युनियनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । साथै नेपालमा भूकम्पपछिको पुननिर्माणका साथै पूर्वाधार निर्माणका क्षेत्रमा थप सहयोगको आग्रह गर्नुभयो । त्यस्तै उहाँले युरोपियन लगानी बैँकमार्फत नेपालमा ठूला आयोजनाहरुका साथै पूर्वाधारका क्षेत्रमा लगानीका लागि युरोपियन युनियनलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा युरोपमा नेपालको निर्यात प्रोत्साहन हुनेगरी बजारको पहूँच लगायत थप सहुलियतका लागि पनि उहाँले आग्रह गर्नुभएको थियो । मन्त्री डा महतले युरोपियन युनियनको विदेशमन्त्रीको रुपमा कार्यरत मोगरिनीलाई नेपाल भ्रमणका लागि पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री