सधै जिउनको लागि संघर्ष गर्ने
दैनिक परिश्रम गर्ने
आदरणीय धनबहादुर दाई
हाम्रो डांडाघरे धनबहादुर दाई
धनको कुरा गर्दागर्दै
थोरै रकम कमाउने आशमा
छिमेकी मुलुकमा
परिश्रम गर्दागर्दै
एक्कासी मरेछन् ।
उनको लागि धन केवल जिउने माध्यम थियो
उनलाई त बिहान बेलुकीको छाक टार्ने
केवल दाल भातको आशा थियो
आफ्नो जिउ ढाक्ने
दुई सरो लुगाको चाहना थियो
उनको लागि त्यति पुग्ने रकम नै
एकदम ठूलो धन थियो ।
तल्लाघरे लक्ष्मीबहादुर काकाको लागि पनि
धन त धन नै थियो
तर यो प्रतिष्ठा र मानको मापन थियो
कति धेरै घर, जग्गा, सम्पत्ति र गरगहना भन्ने
धाक र शानको विषय थियो
उनको लागि विदेशी रक्सी
राम्रा लुगा
आयातित गाडी
शोखको कुरा थियो
धनको त के कुरा
उनको लागि यो शान र मान थियो ।
मैले धनबहादुर दाईलाई पनि देखें
मैले लक्ष्मीबहादुर काकालाई पनि भोगें
म माथिल्लो घरमा पनि गएँ
म तल्लो घरमा पनि गएँ
न त मैले धनबहादुर दाईलाई
केही सहयोग गर्न सकें
न त लक्ष्मीबहादुर काकासंग
केही लिन नै सकें
म सधै म नै रहें
मेरो खुसि म हुनुमा नै रह्यो
न त धनको लागि म बाँचे
न त मेरो लागि नै धन बाँच्यो ।