लन्डनमा सुनियो एक्ला डलर अर्बपति चौधरीको संघर्ष र सफलता

लन्डन । मानिसको जीवन आ आफ्नै अनुभव, उतारचढाव, सफलता एवं असफलताका अनेक दृष्टान्तले भरिपूर्ण हुन्छ । कतिपयका सपनाहरु बीच बाटोमै ओइलाएर झर्छन् । तर, थोरैका सपनाले मात्र उपयुक्त समयमा फुल्दै फक्रंदै शिखर चुमेका हुन्छन् । आइतबार सांझ लन्डनमा यस्तै सफलता र संघर्षका थुप्रै अनुभव सुनाउंदै थिए नेपालका एक्ला डलर अर्बपति व्यापारी बिनोद चौधरी ।

आफ्नो आत्मकथाको अंग्रेजी संस्करण ‘मेकिङ इट बिगः दि इन्सपायरिङ स्टोरी अफ नेपाल्स फष्ट बिलिनियर इन हिज वन वर्डस’ विमोचन र अन्तरक्रिया कार्यक्रममा अर्बपति चौधरीले बेलायती डायस्पोरामाझ आफ्नो बाल्यकाल, व्यवसायको लामो रोमाञ्चकारी अनुभव र सफलता बडो उत्प्रेरक ढंगले सुनाउंदै दर्शक मन जित्न सफल भए । उनका संघर्षका कथाले दर्शकदीर्घा स्तब्ध पनि भयो ।

ढाका टोपी लगाएर कहिले नेपाली, कहिले अंग्रेजीमा प्रस्तुत भएका चौधरीले झण्डै अढाइ घण्टा युवासहित नयां एवं स्थापित व्यवसायीहरुलाई प्रेरित गर्ने मन्तव्य दिए । महत्वकांक्षा र गृहकार्य गरेर 
नयां सोचका साथ अघि बढे व्यवसायमा पंूजी समस्या नहुने उनको तर्क थियो । चौधरीले नेपालमा ७० प्रतिशत निजी क्षेत्रले लगानी गरेको जनाउंदै विदेशमा बस्ने नेपालीहरुले छोटो समयमा नै व्यापार र लगानीमा गरेको सफलताले नयां क्षितिज खोलेको चर्चा गरे ।

चौधरीलाई फोर्बस म्यागेजिनले सन् २०१३ मा नेपालको एकमात्र डलर अर्बपतिका रुपमा चित्रित गरेको थियो । उनले वाइवाइ चाउचाउ नेपालबाहेक भारतमा मात्र एक अर्ब गोटा विक्री भइसकेको, सिजी फुड्सले भारतको राजस्थान राज्यमा फुड पार्क निर्माण र सर्बिया, साउदी अरब र बंगलादेशमा समेत चाउचाउ फ्याक्ट्री विस्तारका लागि काम अगाडि बढाइरहेको जानकारी थिए । श्रीलंका, रुवान्डा र चितवन राष्ट्रिय निकुन्जभित्र भारतीय ताज होटलको साझेदारीमा न्यू ताज सफारी लजमा लगानी गरेको उनले जनाए । सिजीलाई न्यूयोर्क स्टक एक्सचेन्जको लिस्टमा राख्ने आफ्नो धोको पनि उनले सुनाए ।

आफ्ना बाबुलाई अचानक हृदयाघात भएबाट व्यापारमा होमिएको स्मरण गर्दै उनले अनेक समस्या सामना गर्दै आफू लक्ष्यबाट कहिल्यै विचलित नभएको बताए । आफ्नो पालाको पुरातन व्यवसाय शैली तुलना गर्दै चौधरीले नयां पुस्तालाई सूचना तथा प्रविधिको विकासले उद्यमी हुन धेरै अवसर प्रदान गरेको बताए ।

उनले बेलायत बस्ने नेपालीलाई नेपाली हुनुमा गर्व गर्न सुझाव दिंदै नेपाल समृद्ध बनाउन स्वदेशमै पर्याप्त साधन श्रोत भएको जनाए ।

गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले कार्यक्रम गरेको हो । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले चौधरी सफल उद्यमीसहित परोपकारी व्यक्तित्व समेत भएको चर्चा गरे । राजदूतले चौधरी आफैं खुल्ला किताब भएको टिप्पणी 
गर्दै चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व निर्वाह गरेको प्रसंग उठाए ।

बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली र एनआरएनए यूके महासचिव विजयविक्रम लिंग्देनले सञ्चालन गरेको कार्यक्रममा लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य सुवेदीले 
चौधरीलाई नेपाल समृद्ध बनाउने अभियानको नेतृत्व गर्न सुझाउंदै उनलाई विदेश बस्ने सबै नेपालीले साथ दिने बताए । बेलायती सांसद बीरेन्द्र शर्माले आफू चार पटक नेपाल पुगिसकेको जनाउंदै नेपाल समृद्ध बनाउन धनाढ्य चौधरीको आवश्यकता औंल्याए ।

एनआरएनए युरोप संयोजक कुल आचार्यले उद्योगपति चौधरी समस्त नेपालीको गर्व र प्रतिष्ठा भएको जनाउंदै संसारका ३० भन्दा बढि 
राष्ट्रमा आफ्नो व्यवसाय विस्तार गर्ने उनी सच्चा एनआरएन भएको टिप्पणी गरे ।

सफल उद्योगी चौधरीसंगको अन्तरसंवादले बेलायतस्थित नेपाली व्यवसायी, प्राज्ञ, विद्यार्थी र सिंगो डायस्पोरा लाभान्वित भएको कार्यक्रम संयोजक कृष्ण भट्टले बताए ।

छोटो बेलायत भ्रमणमा आएका चौधरीले अक्सफोर्ड युनिभर्सिटी र प्राइस वाटरहाउस कुपर्सको लन्डन कार्यालयमा समेत प्रवचन दिने कार्यक्रम छ ।

विश्वमै प्रख्यात वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपको बैंकिङ, फाइनान्स, इन्सुरेन्स, हाउजिङ, होटल, रियल स्टेट, इलेक्ट्रोनिक्स, सिमेन्ट, बियर आदिमा लगानी छ । उक्त समूहको इण्डियाको ताज ग्रुपसंग समेत सहकार्य छ ।

चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । महाबिनाशकारी भूकम्प लगत्तै उक्त समूहले ‘दि चौधरी फाउण्डेशन’ मार्फत भत्किएका स्कुल र घर निर्माणमा २५ लाख डलर खर्च गर्ने प्रतिवद्धता बमोजिम काम गरिरहेको छ ।

तस्विरः बीरेन्द्र श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री