दयाहाङ र सौगात घेरिए बेलायतका दर्शकमाझ

लन्डन । नायकद्वय दयाहाङ राई र सौगात मल्ल शनिबार राती अबेरसम्म बेलायतका नेपाली दर्शकमाझ घेरिए । अल्डरसटस्थित 
प्रिन्सेस हलमा आयोजित रेड कार्पेट शोमा सयौं दर्शक उनीहरुसंग तस्बिर लिन र साक्षात्कार गर्न तल्लिन थिए । प्रिन्सेस हलको सबै टिकेट ‘सोल्ड आउट’ भएपछि कयौं दर्शक निरास बन्दै नायकद्वयलाई भेटेरमात्र फर्किए ।

निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिलो लिमोजिनमा ओर्लंदा उनीहरुलाई दर्शकले तालीले न्यानो स्वागत गरे । फिल्म प्रदर्शन सकिएपछि पनि उनीहरु उम्कन पाएनन् । राती एम्पायर हलमा गरिएको ‘मिट एण्ड ग्रीट आफ्टर पार्टी’ मा दुई कलाकारसंग गफिने र तस्विर खिचाउनेको कमी रहेन । दयाहाङ पटक पटक बेलायत आएपनि सौगातका लागि भने यूके पहिलो भ्रमण हो । उनी बेलायतमा समेत नेपाली फिल्म रुचाउने दर्शक पाएर मख्ख देखिन्थे ।

फिल्म हेर्न नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी धर्मपत्नी र अन्य कर्मचारीका साथ प्रिन्सेस हल पुगेका थिए । कलाकारहरुसंग अनौपचारिक भेटमा राजदूत सुवेदीले आफू नेपाली चलचित्रको नियमित दर्शक भएको बताउंदै शुभकामना दिएका थिए ।

फिल्म शुरु हुनु अघि आयोजित संक्षिप्त औपचारिक कार्यक्रममा प्रमुख अतिथी राजदूत सुवेदीले चलचित्र सफलताको कामना 
गर्दै नेपाली कला, संस्कृति र परम्परा जहां बसेपनि मनबाट कहिल्यै टाढा हुन नसक्ने धारणा राखे ।

हलमा उपस्थित दर्शकले दुई नायकलाई प्रश्न गरेका थिए । कार्यक्रममा दर्शक उपस्थितिप्रति आभार व्यक्त गर्दै ति कलाकारले नेपाली सिनेमा माया गरिदिन आग्रह गरे ।

चार वर्ष अघि बनेको ब्लकबस्टर ‘लुट’ को सिक्वेल हो ‘लुट २’ । यूके प्रिमियरका लागि नै बेलायत आएका हुन् नायकद्वय ।
निश्चल बस्नेत निर्देशित उक्त फिल्म शुक्रबार नेपालभर प्रदर्शन भएको थियो । फिल्म अल्डरसट शोपछि २६ मा फोकस्टन, ३ मार्चमा टिडवर्थ, ४ मार्चमा आसफोर्ड केन्ट, ५ मार्चमा हयारो लन्डन र ११ मार्चका दिन रेडिङमा प्रदर्शन गरिने आयोजक गोर्खा वरियर्सले जनाएको छ ।

‘लुट २’ को आइटम गीत ‘लाइदिउंला चोखो पियार, लैजाउ घुमाउन मलाई ठमेल बजार’ खुबै हिट छ । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, रिचा शर्मा, बिपीन कार्की, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने लगायतले अभिनय गरेका छन् ।

तस्विरहरुः बीरेन्द्र श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री