इराकमा फेब्रुअरीमा मात्रै ३८५ मारिए

इराकी विशेष बलका एक सैनिक मोसुल लडाईंमा फायर गर्दै । तस्विरः रोयटर्स

बग्दाद, १९ फागनु । इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले गत फेब्रुअरी महिना भरीमा इराकमा ३८५ जना नागरिकको मृत्यु भएको जानकारी दिएको छ ।

मिसनले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार फेब्रुअरीमा ६०९ जना घाइते भएका छन् ।

आतङ्ककारीका गतिविधि र हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्कमा सुरक्षाकर्मीको सङ्ख्या भने जोडिएको छैन ।

मिसनले यसअघि सार्वजनिक गरेको तथ्याङ्कमा मृत्यु भएका सुरक्षाकर्मीको सङ्ख्या पुष्टी भएको थिएन ।

फेबु्रअरीको तथ्याङ्कमा इराकको पश्चिमी प्रान्त अनबारमा भएको हिंसामा मृत्यु हुनेहरुको सङ्ख्या पनि समावेश गरिएको मिसनले जनाएको छ ।

इराकका लागि राष्ट्रसङ्घीय दुत तथा मिसनका प्रमुख जान कुबिजले आमनागरिकलाई लक्षित गरेर हिंसात्मक घटना गराउन इस्लामिक स्टेट (आईएस)का लडाकु दोषी रहेको बताउनुभयो ।

सरकारी सेनाले भने आतङ्ककारीबाट आम नागरिकको हत्या नियन्त्रण गर्न प्रयास गर्दा आफ्नो व्यवसायीकताको सम्मान गरेको उहाँले बताउनुभयो ।

मोसुलबाट विस्थापित हुनेको सङ्ख्यामा वृद्धि

संयुक्त राष्ट्रसङ्घ, १९ फागुन । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोगसम्वन्धी निकायले उत्तरी इराकको दक्षिणी मोसुलमा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरुको सङ्ख्या बढिरहेको जनाएका छन् ।

गत फेब्रुअरी २५ देखि अहिलेसम्म दैनिक चार हजारको दरले उनीहरु विस्थापित भएका राष्ट्रसङ्घका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ ।

“असुरक्षाका कारण विस्थापित भएका परिवारलाई शिविरमा राखेर मानवीय सहायता प्रदान गरिएको छ,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले मानवीय सहायता साझेदार हिजो मात्रै त्यस क्षेत्रमा प्रवेश गर्न सफल भएको बताउनुभयो ।

इराकी प्रधानमन्त्री हैदर अल अवाडीले गत जनवरीमा इस्लामिक स्टेटका लडाकुहरु विरुद्ध १०० दिने लडाइको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री