केन्याद्वारा नेपाल पाँच विकेटले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार किर्तीपुरस्थित क्रिकेट मैदानमा नेपाल र केन्यबीचको खेलमा विकेट झरेपछि खुसी हुदै नेपाली टोली । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २८ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ ।

वर्षाका कारण पटक पटक अवरुद्ध भएको खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथडअनुसार २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य केन्याले ११ बल बाँकी छँदै ५ विकेट गुमाउँदै पूरा गरयो ।

वर्षाका कारण ३८ ओभरमा छोट्याइएको खेलमा नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाउँदा पानीले खेल रोकिएको थियो । डकवर्थ लुइस मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । तर केन्याले २१ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा फेरि पानीले खेल रोकियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र केन्यबीचको भइरहेको खेल हेर्न उपस्थित दर्शक । तस्बिर ः रोशन सापकोटा, रासस

केन्याका कप्तान रकिप पटेलले २५औँ ओभरको पहिलो बलमा छक्का हान्दै आफ्नो टिमलाई जित दिलाए । जितसँगै केन्याले दुई अङ्क हासिल गरेको छ ।

यसअघि निर्धारित समयभन्दा करिब साढे दुई घन्टा ढिला मध्याह्न १२ बजेपछि खेल सुरु भएको थियो । नेपालका तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन बनाएका थिए । उनले ३५ बलमा पाँच चौकासमेत हाने । यस्तै दीपेन्द्रसिंह ऐरीले १९, शक्ति गौचनले अविजित १८ तथा सोमपाल कामीले अविजित १५ रन बनाए । यस क्रममा दुवै जनाले दुई-दुई चौका प्रहार गरेका थिए । सागर पुनले १० रन बनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री