५४ प्रतिशत अमेरिकी अझै ट्रम्पप्रति आशावादी

ट्रम्प । तस्विरः एपी

वासिङ्टन, २९ फागुन । अमेरिकाका आधाभन्दा बढीअर्थात् ५४ प्रतिशत नागरिक अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आशावादी नै रहेका छन् ।

पछिल्लो एक सर्वेक्षणको नतिजाअनुसार ट्रम्पले अमेरिकालाई राम्रो र सम्बृद्ध गराउने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

तर विगतका सर्वेक्षणको नतिजासँग तुलना गर्दा यसरी आशावादी हुनेको सङ्ख्या पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसको भन्दा कम रहेको छ ।

ओबामाका लागि आशावादी हुनेको सङ्ख्या ६१ प्रतिशत र बुसका लागि आशावादी हुनेको सङ्ख्या ६६ प्रतिशत रहेको थियो ।

सर्वेक्षणमा सहभागीमध्ये ४० प्रतिशत अमेरिकी नागरिकले अमेरिकालाई राम्रो बनाउन ट्रम्पले राम्रो काम गर्न नसक्ने मत राखेका छन् ।

जबकी यो सङ्ख्या ओबामाका लागि ३० प्रतिशत र बुसका लागि २३ प्रतिशत मात्रै रहेको थियो ।

वातावरण संरक्षणको क्षेत्रमा भने ट्रम्पले राम्रो काम गर्न सक्ने विश्वास गर्नेको सङ्ख्या ३६ प्रतिशत मात्रै छ । तर ५७ प्रतिशतले वातावरण संरक्षणका लागि ट्रम्पले राम्रो काम गर्न नसक्ने बताएका छन् ।

सन् २००९ मा गरेको सर्वेक्षणमा ७९ प्रतिशत अमेरिकी जनताले वातावरण संरक्षणका लागि ओबामाले राम्रो काम गर्ने विश्वास व्यक्त गरेका थिए । सन् २००१ मा गरेको सर्वेक्षणमा ५१ प्रतिशत अमेरिकी जनताले राष्ट्रपति बुसबाट वातावरणका लागि राम्रो काम हुने आशा गरेका थिए ।

ऊर्जा नीतिका बारेमा सोधिएको प्रश्नमा ४६ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पले अमेरिकाको ऊर्जा नीति राम्रो बनाउने विश्वास गरेका थिए भने ४८ प्रतिशतले राम्रो बनाउन नसक्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री