समय पैसा हो । समय गतिशील छ । समय कसैले रोकेर रोकिन्न, समय न त फर्कन्छ न त रोकिन्छ । यी वाक्यांशहरु हामी सबैले बारम्बार सुनेका र हामी सबैको लागि उत्तिकै रुपमा सधै लागु हुने कुराहरु हुन् । त्यसैले पनि हामी सबैको लागि यो प्रसङ्ग सिकाउनु पर्ने बिषय हैन । समयको महत्वको बारेमा मैले कुनै लेख लेख्नु पर्दैन, कुनै उपदेश दिनु पर्दैन र कसैलाई सिकाउनु पर्दैन । थप कुरा के भने बेलायतमा बस्ने हामी नेपालीहरुले बेलायतीहरूबाट समयको सदुपयोग कसरी गर्ने र समयलाई कसरी सम्मान गर्ने भन्ने बारेमा धेरै सिक्ने र जान्ने मौका पाएका छौ ।
विश्वको जुनसुकै विकसित मुलक जस्तै अमेरिका, यूरोप, अस्ट्रेलिया, क्यानाडा वा बेलायतमा जन्मे, हुर्के र बढ्नेहरुका लागि समयको जति महत्व छ त्यत्तिकै महत्व हामी विकासोन्मुख मुलुक जस्तै नेपालमा जन्मे, हुर्के र बढ्नेहरुका लागि पनि हुन्छ । तर फरक मात्रै के हो भने हामीले समयलाई कत्तिको चिनेका हुन्छौ, कत्तिको महत्व दिन्छौ र कत्तिको उपयोग गर्छौ भन्ने कुरामा हुन्छ ।
समयको कुरा गर्दा बेलायतमा बस्ने नेपालीहरुको नेपालीहरुसँग भेटघाट गर्दा वा कुनै कार्यक्रम गर्दा वा त्यस्तो कार्यक्रमहरुमा उपस्थित हुँदा आफ्नै समय मान्ने प्रचलन छ, जसलाई ‘नेपाली टाइम’ भनिन्छ । बिगत १२ बर्षमा मैले नेपालीहरुले आयोजना गरेका धेरै कार्यक्रमहरुमा सहभागी हुने मौका पाएँ । मैले अझैसम्म कुनैपनि कार्यक्रम तोकिएको समयमा शुरु भएको र तोकिएको समयमा अन्त्य भएको अनुभब गरेको छैन । अधिकांश ठाउँमा सबैले तोकिएको समय भन्दा एक डेढ घण्टा ढिलो कार्यक्रम शुरु गरेको देखेको छु । कार्यक्रम अन्त्य हुने समयको त झन् के कुरा गर्ने ? त्यसको त कुनै ठेगान हुँदैन । यो कुरामा न त कार्यक्रम आयोजक इमान्दार छन् वा समयको पालना गर्नु पर्छ भन्ने छन् न त सहभागी नै समयको महत्व चिन्ने र पालना गर्ने छन् । सबैलाई भन्न सजिलो भएको छ ‘नेपाली टाइम’ । ‘नानीदेखि लागेको बानी’ भने झैं नेपालदेखि लागेको नेपालीहरुको यो बानी बेलायत आएर पनि कुनै सुधार भएको देखेको छैन र सुधार हुने लक्षण पनि छैन ।
समयको कुरा गर्दा अधिकांश नेपाली बक्ताहरुलाई कुन कार्यक्रममा के बोल्नु पर्छ र कति बोल्नु पर्छ भन्ने हेक्का नै हुँदैन । यो कुरामा पनि नेपालीहरुले बेलायतमा ‘नेपाली टाइम’ नै लागु गर्छन । हालसालै एउटा नेताले लण्डनमा साहित्यिक कार्यक्रममा उपस्थित भएर आफू कुन कार्यक्रममा छु भन्ने हेक्का नराखी लामो राजनीतिक भाषण गरेको कुरा सबै सहभागीले अनुभब गरे। ती नेता त नेपालबाट आएका थिए त्यस्तो गरे होलान भन्नु स्वाभाविक हो । तर यो कुरामा अरु बेलायतमा बस्ने कतिपय नेपालीहरु पनि ती नेता भन्दा कम छैनन् । त्यस्तै सभालाई सम्बोधन गर्दा होस् वा अरु कुनै कुरामा सबै नेपाली बक्ता वा आयोजकले पनि खुब ‘नेपाली टाइम’ को पालना गर्छन ।
‘नेपाली टाइम’ को कुरा गर्दा सबै नेपालीलाई प्रतिनिधित्व गर्ने बेलायत स्थित नेपाली दुतावासले आयोजना गर्ने कार्यक्रमहरुको कुरा नगरी कसरी यो लेख पूरा होला र? म नेपाली दुतावासले लण्डनमा आयोजना गरेको कार्यक्रमको एक उदाहरण दिन चाहान्छु ।
नेपाल र बेलायतबीच दौत्य सम्बन्ध संस्थापनाको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा बेलायतस्थित नेपाली दूतावासले लण्डनमा १४ मार्च देखि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । यसै अवसरमा मैले पनि पहिलो दिनको उद्घाटन कार्यक्रम र चौथो दिनको साहित्यिक महोत्सवमा भाग लिएँ । यी दुवै कार्यक्रमहरुमा नेपाली दुतावासले सबै आगन्तुकहरुलाई निमन्त्रणा पत्रमा पाँच बजे उपस्थित हुन निमन्त्रणा गरेको थियो । तर, दुवै कार्यक्रमहरु भने एक घण्टा भन्दा पनि ढिलो गरी शुरु गरियो । तसर्थ दुतावासले नै नेपालीहरु यस्तै हुन्छन र दुतावासले पनि बेलायतमा ‘नेपाली टाइम’ नै चलाउनु पर्छ भन्ने दरिद्र मान्यता राखेको पनि देखियो ।
समयको पालनामा दरिद्रपन दुतावासको मात्र हैन कतिपय सहभागीहरुले पनि गरे । पाँच बजेको लागि निमन्त्रणा दिए पनि कतिपय सहभागीहरु साढें पाँच बजे वा छ बजे कुनै लाज नमानी हल्ली हल्ली आएको पनि देखियो । के यो कुरा उनीहरु काम गर्ने बेलायती संस्था वा बेलायतीले आयोजना गर्ने अरु कुनै बैठकमा गर्न सक्छन ? आफूले नै आफूलाई गिराए पछि अरुले के पो गर्न सक्छ र? अरुले गिराएकोलाई उठाउन सकिन्छ, तर आफैं गिर्नेलाई कसको के लाग्छ र ?
मसँग अर्को फरक अनुभब के पनि छ भने यदि नेपालीले आयोजना गरेको कुनै कार्यक्रममा बिदेशीहरु पनि सहभागी छन् भने नेपालीलाई ‘नेपाली टाइम’ अनुसार छिट्टो आउन आमन्त्रण गर्ने र विदेशीलाई भने केही समय पछि ठिक समयमा आउन छुट्टै आमन्त्रण गर्ने गरेको पनि मैले देखेको छु । त्यस्तै गरी त्यस्ता कार्यक्रमहरुमा बिदेशीहरु छन् भने समयमा नै कार्यक्रम सक्न प्रयास गर्ने तर नेपाली मात्रै छन् भने जे जसरी कार्यक्रम गरे पनि हुन्छ र जति ढिलो गरे पनि केही हुँदैन भन्ने हेपाहा प्रवृति पनि मैले भोगेको छु । मेरो बिचारमा यो भनेको नेपालीले नेपालीलाई नै हेप्ने र नेपालीहरुले नै ‘नेपाली टाइम’ वा अरु कुनै नाममा आम नेपाली समुदायलाई अपमान गर्नु पनि हो ।
भनिन्छ समयले सबै कुरा ठिक पार्छ । तर यो भनाईसँग म सहमत छैन । समयले कुनै कुरा आफै परिवर्तन गर्दैन । परिवर्तनको लागि नेतृत्व देखि सामान्य नागरिक सम्म हामी सबैको अथक र इमान्दार प्रयास हुनु पर्छ । यदि समयले सबै ठिक हुने भए २०४६ सालमा प्रजातन्त्र र बहुदलिय ब्यबस्था आएको पनि करिव २७ बर्ष भयो । तरपनि नेपाली जनताको जीवनस्तरमा खासै ठूलो परिवर्तन आएन, र कुनै आर्थिक क्रान्ति समेत हुन सकेन र देश विकासले खासै गति लिन सकेन । मेरो बिचारमा सबै दलका नेतृत्व र आम नेपाली जनताले समेत समयलाई चिन्न र समयको सही सदुपयोग गर्न सकेनन । सबैले आत्मा साक्षी राखेर भन्ने पर्छ, के दलका नेताहरुलाई गाली गर्ने सामान्य नागरिक वा कुनै पनि व्यक्तिले आफूले समयको सही सदुपयोग गरेर आफ्नो सिप, दक्षता र आय आर्जन गर्नको लागि कति कति समय उपयोग गरेका छन् ? मैले कतिपय मानिस देखेको छु जो जति बेला पनि अरुलाई बिशेस गरी नेताहरुलाई काम गरेनन भनेर गाली गर्ने, तर आफू मालपोतमा वा अरु कुनै जनसम्पर्क हुने ठाउँमा लाइन बसेर पालो कुरेर काम गर्नु भन्दा दुइ पचास सय रुपैयाँ घुस दिएर छिट्टै काम गराउने । अनि त्यस्तो मानसिकताले कसरी परिवर्तन सम्भब हुन्छ ?
समयलाई पैसामा कसरी रुपान्तरण गर्ने वा आफ्नो समयलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो । तर जहाँ कुनै कार्यक्रममा अरु सहभागीलाई आमन्त्रण गरिन्छ त्यो बेला हरेक सहभागी र आयोजकले पनि अरु सबैको समयको हेक्का राख्नु पर्छ । त्यस्तो बेला व्यक्तिगत बिचार र चाहना लागु हुँदैन । त्यस्तो बेला ‘नेपाली टाइम’ लागु गर्नु भनेको इमान्दार र समयको पालना गर्ने व्यक्तिलाई सजायं दिनु पनि हो । ढिलो आएर कार्क्रम ढिलो शुरु होला भन्नेहरुले पनि अरु र आफ्नै पनि अपमान गर्नु हो ।
थप कुरा के भने त्यसरी सजायं पाएकोमा वा अपमानित हुनु परेकोमा कसैले पनि आयोजकलाई चुनौती दिने गरेको मैले देखेको छैन । बिना कारण कुनै कार्यक्रम सही समयमा शुरु भएन भने प्रश्न गर्ने र बिनाकारण ढिलो सम्म कार्यक्रम संचालन गरेकोमा पनि चुनौती दिन वा तोकिएको समय सकिए पछि आफू उठेर हिड्न पनि सक्नु पर्छ । अनि मात्रै आयोजकले पाठ सिक्न सक्छन ।
मेरो बिचारमा हरेक मानिस र समाजले आफ्नो प्रगति र उन्नति गर्न समयको सही सदुपयोग गर्नु पर्छ । जुन बेलासम्म हामी ‘नेपाली टाइम’ भनेर बहाना बनाएर ढिलो कार्यक्रम गर्छौ वा कार्यक्रम ढिलो पुग्छौ त्यो बेला सम्म हाम्रो प्रवृति, मानसिकता र ब्यबहारमा कुनै सुधार हुँदैन । त्यसैले अब हामी ‘नेपाली टाइम’ हैन सही वा ठिक समय भन्ने गरूँ र हामी सबै परिवर्तनको सम्बाहक पनि बनुँ ।
(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा बरिष्ठ ब्यबस्थापक, डार्टफोर्ड काउन्सिलको काउन्सिलर, ग्रीनवीच स्कुल अफ म्यानेजमेन्ट, लण्डनमा स्वास्थ्य ब्यबस्थापनको एसोशिएट लेक्चरर र एनआरएन यूकेको सल्लाहकार छन् ।)
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम