पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

photo/ Everest Gautam

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको छैँटौँ वार्षिक साधारणभा आइतबार लण्डनमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको साधारणसभाको पहिलो सत्रमा बीबीसी विश्वसेवाका पर्यावरण सम्वाददाता नविनसिंह खड्काले ‘जलवायु परिवर्तन नेपाली पत्रकारहरुका लागि किन महत्वपूर्ण छ’ भन्ने बारेमा प्रवचन दिएका थिए । उनले जलवायु परिवर्तनबाट हुनसक्ने असरहरु प्रष्ट्याउँदै खाडी मुलुकमा काम गर्नै नसक्ने वातावरण आउनसक्ने र त्यसबाट नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्नसक्ने खतरा औँल्याए । जलवायु परिवर्तनलाई अर्थतन्त्रसित जोडेर हेर्नपर्ने उनको जोड थियो । उनको प्रस्तुतिपछि पत्रकारहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

साधारणसभाको उद्घाटन शाखाका सल्लाहकारहरु भगिरथ योगी, नविन पोखरेल, हरिकुमार गुरुङ काजी, केशव भण्डारी, रिटायर्ड मेजर सोनामछिरिङ शेर्पा र नविनसिंह खड्काले मैनबत्ती बालेर गरेका थिए । महासचिव लीलामान शेरपुञ्जा र उपाध्यक्ष ध्रुवराज अर्यालले संचालन गरेको सो साधारणसभामा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले व्यक्त गरेका थिए । साधारणसभाले महासचिव शेरपुन्जाले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष पूर्ण गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा पत्रकार नृपेश उप्रेतीको गजलको म्यूजिक भिडियो पनि पत्रकार नविनसिंह खड्काले सार्वजनिक गरेका थिए ।

भेलामा शाखाले मे २१ मा गर्न लागेको च्यारिटी कार्यक्रम लगायत पत्रकारितासित सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो । यसअघि सो साधारणसभामा वेष्टमिनिस्टर युनिभर्सिटीका प्रोफेसर दयाकिसन ठुसुले प्रवचन दिने भनिएको भए पनि उनी छोरीको शल्यक्रिया परेका कारण सो साधारणसभामा आउन नसकेको बताइएको छ ।

photo/Shiba Bhandari

प्रतिक्रिया

सम्बन्धित सामाग्री