सोमबार, मंसिर ४ २०७४ | Mon, November 20, 2017
नेपालको समय: ०७:४० | UK Time: 01:55

‘तमुधिंले भन्दा राम्ररी नेपाली मेला चलाउँछु भनेर कोही आउँछ भने हामी छोड्न तयार छौँ’- ज्ञाम गुरुङ, अध्यक्ष तमुधिँ, युके 

विनेपाली
२०७३ चैत ७ गते १९:२४

तस्वीर मिलन तमु

पर्वत ठानामौला खाल्टेमा जन्मेका ज्ञाम गुरुङ, ५०, अहिले तमुधिं युकेको अध्यक्ष हुनुहन्छ । २१ वर्ष ब्रिटिश सेनामा बिताएका ज्ञामले भर्ती हुनुपूर्व नै पृथ्वीनारायण क्याम्पसबाट आइएस्सीसम्मको अध्ययन गर्नुभएको छ । सैन्य जीवनदेखि नै सामाजिक सेवामा आवद्ध हुन शुरु गर्नु भएका गुरुङले चारभन्ज्याङ तमू समाज र तमुधिं केन्ट शाखाको महासचिव र उपाध्यक्षको जिम्मेवारी वहन गरिसक्नुभएको छ । त्यसैगरी, उहाँ तमुधिं केन्द्रको सचिव, महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रही सक्नुभएको छ ।

करिब एक दर्जन विभिन्न सामाजिक संस्थामा क्रियाशील अहिले फोल्कस्टोन केन्टमा दुई छोरा, एक छोरी र श्रीमती प्रेमकुमारीका साथ बस्दै आउनुभएको छ । सन् २००९ देखि पोखरा ट्राभल्समार्फत व्यवसायमा हात हाल्नुभएका गुरुङसित गरिएको संक्षिप्त वार्तालाप- 

युकेमा नेपालीहरुको सबैभन्दा ठूलो संस्था तमुधिं युकेको अध्यक्ष बन्दा तपाईलाई कस्तो महसुस भएको छ ?
यस्तो ठूलो संस्थाको नेतृत्व गर्न पाउँदा गौरव लागेको छ । आफूलाई भाग्यशाली ठानेको छु । जिम्मेवारीको बारेमा भन्नुपर्दा बेलायत भौगोलिक रुपमा ठूलो र पूर्व मेचीदेखि महाकालीसम्मका गुरुङहरुलाई समेट्नु त्यति सजिलो छैन ।

तपाईको कार्यकालमा पुरानो कार्यकालको कार्यक्रमलाई निरन्तरताबाहेक केही नयाँ कार्यक्रम ल्याउने सोचाइ छ कि ?
प्रत्येक नयाँ अध्यक्षको नयाँ भिजन अवश्य नै हुन्छ । हिजोका अध्यक्षहरुको पनि त्यस्तो सपना नभएको होइन तर उहाँहरुलाई तमुधिँ भवनको मोर्गेजको कारण त्यस्तो भिजन लागू गर्न कठिनाई भयो । मोर्गेज घटाउने कार्यमा केन्द्रीत हुनुपर्दा आर्थिक अभावले त्यस्ता काम गर्न पाउनुभएन । तर अहिले मलाई त्यो कठिनाई छैन । तमुधिँ भवन अहिले मोर्गेज मुक्त भएको छ ।

अब दैनिक क्रियाकलापलाई प्रभावकारी बनाउने, विभिन्न संघ संस्थाबाट आउने निमन्त्रणा, नेपालबाट आउने अतिथिहरुलाई स्वागत,विदाई गर्ने, संस्थाका पाँच ठूला कार्यक्रमहरु गोरखा कप, नेपाली मेला, लाइफ मेम्बर डिनर नाइट, तमू छात्रवृत्तिका लागि कार्यक्रम र ल्होसार त नियमित कार्य नै भए । यसबाहेक मेरो सोचाइ अहिले ल्होसार रेडिङ र लण्डनमा मनाइने गरेकोमा त्यसलाई एक ठाउँमा मनाउनका लागि पहल गर्नेछु । तमूहरुबीच सामाजिक एकतामा जोड दिनेछु । यस्तै, तमुधिं भवनमा बेलायतको कानुनअनुसार कम्युनिटी हल चलाउन हुनपर्ने पावर प्वाइन्ट, डिसेबल ट्वाइलेट, लेडिज, जेन्ट्स ट्वाइलेट, किचेन सन् २०१७ भित्रैमा बनाउने छु । सन् २०१८ मा तमुधिं युकेलाई तमूहरुको उद्गमस्थल, ऐतिहासिक स्थल घोला सोँथर (जुन लमजुंग र कास्कीको बीचमा, अन्नपूर्ण हिमालको काखमा पर्छ) को भ्रमण गराउने मेरो योजना छ ।

युकेमा तमुधिं तमुहरुको मात्र संस्था नभएर समग्र नेपालीहरुको संस्था हो । यहाँका समग्र नेपालीलाई प्रभाव पार्ने गरी कुनै योजना छ कि ?
त्यस्ता कार्यक्रमहरु त हामीले दिइरहेका छौँ । अझै पनि युकेमा रहेका कुनै नेपालीलाई गाह्रो पर्दा तमुधिँ भवन चलाउन दिइरहेका छौँ । यदि ऊ आर्थिक रुपमा विपन्न छ भने हामीले निशुल्क पनि चलाउन दिइरहेका छौँ । आफ्नो भवनको नाम पनि तमुधिं भवन नभनेर नेपलिज कम्युनिटी भवन भनेका छौँ । त्यसले नै प्रष्ट पार्छ कि यो नेपालीहरुको लागि हो । हिजो नेपालमा भूकम्प गएको बेला, सेती बाढी पीडित, इराकमा मारिएका नेपालीहरुलाई गरिएको सहयोगलाई उदाहरणका रुपमा लिन सकिन्छ । त्यहाँ परेकाहरु सबै तमुमात्र थिएनन् ।

हिजोका दिनमा युकेमा नेपालीहरु थोरै थिए । उनीहरुलाई सहयोग गर्नुपर्छ भनेर पनि तमुधिँ खडा भएको हो । त्यसैले तमुधिंले १३ जना प्रतिष्ठित गैर तमुहरुलाई मानार्थ सदस्य बनाएको छ ।

photo:Milan Tamu

तमुहरुको संख्या युकेमा धेरै छ । त्यसमाथि चारैतिर छरिएर बसेका छन् । यस्तो अवस्थामा उनीहरुलाई समेट्नु चुनौतीपूर्ण छ । यसलाई कसरी सामना गर्नुहुन्छ ?

तमुधिंलाई विभिन्न शाखामा विस्तार गरेका छौँ र गाउँ र क्षेत्रको नाममा पनि तमूहरु संगठित छन् । हामीले गाउँले र क्षेत्रीय संस्थाहरुलाई स्वतन्त्र छाडिदिएका छौँ । उहाँहरुसित तमुधिंसित कार्यक्रम नजुधाउने र परिआउँदा तमुधिं हाम्रो केन्द्र हो भन्ने भावनाका आधारमा सम्बन्ध बनाएका छौँ । सबै तमु संस्थाहरुलाई समेट्नका लागि तमु फोरम पनि गठन गरिएको छ । तीन वर्षअघि गठित यो फोरमले शब्दकोष, इतिहास लेख्ने कार्य गरिरहेको छ । यदि हामीले सोचेजस्तै संयुक्त ल्होसार सफल गर्न हामी सफल भयौँ भने तमूहरुबीच धेरै समस्या समाधान भएर जाने छ ।

नेपाली मेलामा यहाँहरुले धेरै कम्युनिटीलाई समेट्ने गर्नुहुन्छ । तथापि कतिपयले गुनासो पनि गर्ने गरेका छन् । सबैको अपनत्व महसुस हुनेगरी उनीहरुलाई कसरी समेटेर लैजानुहुन्छ ?

तमुधिंको चौथो कार्यसमितिसम्म बार्बीक्यु गरेर, ठेलो फालेर, नाचगान गरेर समर कार्यक्रम गर्ने गरिन्थ्यो । यसलाई सानातिनो संस्थाले पनि गर्नसक्ने भए । अब सबैलाई समेट्ने ठूलो कार्यक्रम गर्नुपर्यो भन्दा गुरुङहरुको ट्होटे पर्व पारेर नेपाली मेला आयोजना गर्न शुरु गरियो । यो अहिले सबै नेपालीको पर्व बन्न पुगेको छ । जहाँसम्म सबैलाई समेटिएन भन्ने गुनासो छ, यो मेलाको उद्देश्य हाम्रो सँस्कृति, भेषभूषा, सँस्कार, सँस्कृतिको संरक्षण गर्ने, हाम्रो नयाँपुस्तालाई चिनाउने र बेलायतबासी समुदायलाई चिनाउने हो । सबै संस्थाहरुको उद्देश्य सँस्कार, सँस्कृतिको संरक्षण गर्ने त हुँदैन तैपनि त्यस्ता संस्थालाई परिचय दिन नेपाली मेलामा मंच प्रदान गछौँ । जो संस्थाहरुले आफैँ काम गर्न सकेनन् उनीहरुको गुनासो हो त्यो । तमुधिं उहाँहरुलाई सधैँ स्वागत गर्न चाहन्छ । भोलि उहाँहरुले हामी तमुधिँले भन्दा राम्रो गर्छौँ भनेर आउनुभयो भने हामी छोडदिन्छौँ । किनभने नेपाली मेला चलाएर तमुधिंले कुनै पनि फाइदा अहिलेसम्म गरेको छैन । तमुधिँका सयौँ स्वयंसेवकले तीन दिनको समय दिएर मात्र यो कार्यक्रम हुँदै आएको छ ।

तपाईको कार्यकालमा युथहरुका लागि कुनै कार्यक्रम छ कि ?
गोरखा कप, नेपाली मेला पनि युथकै लागि हो । त्यसको अलावा मैले गोरखा कप वा नेपाली मेलामा युथहरुका लागि एक कार्यक्रम गर्ने सोचिरहेको छु । त्यसको अहिले नै विस्तृत आइसकेको छैन । तमुधिं युथ संयोजक राजेन्द्र तमुसित यसबारेमा सल्लाह भइरहेको छ ।

बेलायतमा संस्था हाँक्नु समय व्यवस्थापन, आर्थिक, पारिवारिकरुपमा पनि चुनौतीपूर्ण छ । यसलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
सामाजिक काम गर्दा सबैभन्दा समस्या समयको हो । समय दिन सकिँदैन भने काम पनि गर्न सकिँदैन । बेलायतको परिवेशमा जो मान्छेको निजी व्यापार व्यवसाय छ उसलाई समय निकाल्न अलि सजिलो छ । यसो भन्दैमा व्यापारीले मात्र संस्था चलाउनु पर्छ भन्ने अर्थ नलागोस् । मैले सामाजिक जिम्मेवारीमा रहँदा परिवारलाई भन्दा संस्थालाई समय दिने वचन दिएको छु । यसमा मेरो परिवारको र कार्यसमितिको पनि पूर्ण सहयोग रहेकाले मलाई सजिलो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक