आमा मेरो प्रेरणाको श्रोत

आज आमाको मुख हेर्ने दिन । मेरो आमा गौदेवी पुन साथमा नभएपनि यस पवित्र दिनमा म संसारभरका अन्य आमाहरुलाई नमन गर्न चाहन्छु । शुभकामना छ समस्त आमाहरुलाई जसले निस्वार्थ माया गरेर सधैं आफ्ना सन्तानको खुशी चाहनु भएको छ ।

म आज आमाको चौथो पूण्यतिथीका अवसरमा केही शब्दहरु लेख्ने जमर्को गर्दैछु । आमा साथमा नहुनुको पीडा म कसरी व्यक्त गरुं । आमा बिते यता यो संसार अन्धकार महशुस भइरहेको छ । 
मेरो साथमा विलासिता छ, अभाव केही कुराको छैन् । म बेलायत जस्तो विकसित र भौतिक सुखले भरिएको देशमा छु तर मन बेचैन छ । खुशी हुन खोज्छु तर सक्दिन । कहिले स्वर्गीय आमालाई सपनामा देखेर त्यो विपनामा सांचो भइदिए हुन्थ्यो भन्ने कामना गर्दछु । आमा बिनाको संसार वास्तवमा बाहिरबाट खुशी देखिएपनि मनबाट कत्ति रमाइलो नहुने रहेछ ।

आमाका नाममा केही शब्दहरु खर्चिरहंदा मैले आफ्नैबारे पाठकहरुसमक्ष संक्षिप्त जानकारी दिन उचित ठानें । आमाले मलाई यस धर्तीमा आंखा खोलिदिनुभयो ।
म भूपू गोर्खाकी छोरी हुं, हङकङमा जन्मिएं र नेपालमा पोखरामा हुर्किंए । अहिले मेरो लन्डन चाल्टनमा स्थायी बसोवास छ । पेशाले ब्युटी थेरापिस्ट, मोडल, डान्सर, कोरियोग्राफर र बेला बेला कलम चलाउने लेखिका भएपनि आफूलाई म स्वयंसेवी शिक्षक र सामाजिक कार्यकर्ता भन्न रुचाउंछु ।

मोडलिङ र नृत्य चाहना युवा अवस्थादेखि नै मेरो जीवनको अभिन्न अंग बन्यो । मैले सन् १९९६ देखि मोडलिङ शुरु गरें र रयाम्प मोडलिङमा मेरो सक्रियता खुबै रहयो । म पोखरा फुलबारी म्यागेजिन र टाइगर बियरको क्यालेन्डरमा मोडलका रुपमा छापिएको थिएं । म कन्दरा ब्याण्ड र इश्वर अमात्यका धेरै म्यूजिक भिडियोहरुमा छाएं कुनै बेला । मैले पोखरा महोत्सवमा मोडलिङ कोरियोग्राफीको जिम्मेवारी पनि निर्वाह गरें । म मोडलिङ करिअरको शिखर चढिरहेको थिएं । त्यही बेला इमेज च्यानलबाट अफर पनि आएको थियो । तर, दुर्भाग्यवश मैले त्यहां गर्न पाइन किनकि मेरो आमा पहिला मैले उच्च शिक्षा सकिदिओस् भन्ने चाहनुहुन्थ्यो । यद्यपि, मलाई गर्व छ मैले भुषण दाहाल, गौरी शंकर धोजु लगायत वरिष्ठ व्यक्तित्वहरुसंग काम गर्ने अवसर पाएं । मलाई लाग्छ यो सबै आमाको आशिर्वादले सम्भव भएको थियो ।

जब म यूके आएं, म अध्ययनमा समर्पित भएंं, काम स्वतन्त्र रुपमा गरें । मैले माथि भनेजस्तै मेरो आमा सधैं प्रेरणा श्रोत बन्नुभयो । आमाले मलाई भन्ने गर्नुहुन्थ्यो, जे गर्न मन छ आत्माबाटै गर जुन देखाइरहन जरुरी छैन् । त्यसकारण पनि म विस्तारै च्यारिटी र सामाजिक काममा आवद्ध भएर मानिसहरुलाई सहयोग गर्न थालें । मलाई सधैं लाग्ने गथ्र्यो किन म मानिसलाई आपतविपत परेका बेला उनीहरुका सामु पुग्न सकिन । मलाई महशुस पनि हुन्छ कि म भगवान त होइन तर गर्व छ आफैंप्रति किनभने मैले आफूले सकेको सहयोग गरिरहेको छु ।

जब मेरो आमा बित्नु भयो, म लन्डनका वृद्धवृद्धाको सहयोगमा बढि समर्पित हुन थालें । मैले विशेष गरि भूपू गोर्खा आमाहरुलाई अंग्रेजी कक्षा लिने गर्दछु र अप्ठेरोमा सहयोग पनि जुटाउने गरेको छु । मैले कयौं अंग्रेजी र नेपाली मौलिक फेशन शो र सांस्कृतिक नाचहरुमा कोरियोग्राफी गरेको छु । म बेलायतमै जन्मिएका नेपाली वालवालिकालाई सांस्कृतिक नाच, नेपाली संस्कार, परम्परा र पहिरन सिकाउने गरेको छु । यसले नेपाली पहिचान र मुल्य मान्यता बुझाउने मेरो विश्वास छ । विविध व्यवधानका बाबजुद पनि म यसमा खुशी छु र मलाई लाग्छ म केवल काम गरिरहेको छैन् बरु केही परिवर्तन ल्याउन पहल गरिरहेको छु । म मेरो आमाले भन्ने गरेको कुरा अहिले पनि सम्झिरहन्छु । त्यो के भने खुशी त्यति बेला हुन्छ जुन बेला आफ्नो कारण अरु कसैमा खुशीको बहार आओस् । त्यसकारण म मेरो आदर्श र प्रेरक व्यक्तित्व आमालाई मान्छु । मलाई खुशी पनि लाग्छ, मेरो सानो सहयोगले कयौं मानिसमा परिवर्तन आएको छ । म यो समाजसेवाबाहेक अरु सोच्न पनि सक्दिन । मलाई समाजसेवी हुनुमा गर्व छ जसले मानिसलाई परिवर्तन र सशक्त बनाउन सक्छ ।
म आफूलाई नेपाल आमाकी छोरी भनेर चिनिन रुचाउंछु । आमा भन्नु हुन्थ्यो रुप संगै यो धर्तीमा सबैको मनकी परी हुनु मेरो आशीर्बाद छ । दुःख बुझनु, दया गर्नु अनि माया बांड्नु । म कोशिस गर्छु सधैं कसरी अरुलाई सहयोग गरुं भनेर । सहयोग गर्न असमर्थ भएं भने मन अशान्त भइरहन्छ । म सक्दो कोशिस गर्छु र गर्दै आएकी पनि छु कि मेरो जीवनको अन्तिम समयसम्म मलाई भगवानले दिनु भएको या म संग भएको खुबी र आमाको प्रेरणा प्रयोग गर्न सकुं । अरुलाई खुसी बनाउनु नै आफू हुनु हो भन्ने मैले ठानेकी छु ।

मेरी आमा सांच्चिकै आदर्श हुनुहुन्थ्यो । आंखाको नानीमा बसे पनि नबिझाउने । सागरको गहिराइमा भेटिएकी मोती जस्ती । भौतिक शरि साथमा नरहे पनि मेरो मनका सयौं चोटहरुमा उहांले मलाई मल्हम लगाइरहनुहुन्छ अहिले पनि ।

आमा तपाईं मसंग साथमा नभएपनि जीवनभर माया गरिरहनेछु अनि सम्झिरहनेछु तपाईंको प्रेरणा, माया, आत्मियता र निडर बन्न सधैं मलाई झक्झकाइरहेको क्षण । धन्यवाद

प्रतिक्रिया

सम्बन्धित सामाग्री