शेक्सपियरको जन्मस्थलले लोभ्याउंदैछ नेपाली साहित्यकार

लन्डन । लन्डनबाट करिब १३३ किमी लामो दुरीमा अवस्थित 
विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्मस्थल 
‘स्ट्राटफोर्ड अपन एभन’ भीडले घेरिन थालिसकेको छ । ब्रिटिस समरमा विश्वभरका पर्यटक ओइरिन्छन् त्यहां । त्यही भीडमा देखिए साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा । शर्मासंगै थिए अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतका अध्यक्ष विकलचन्द्र आचार्य र महिला श्रष्टा जया राई । शेक्सपियरको जन्मथलो एक चक्कर लगाइ सकेपछि शर्माले भने, ‘यदि इच्छाशक्ति भए नेपालमा पनि मुर्धन्य साहित्यकारहरुको जन्मस्थान र ऐतिहासिक सांस्कृतिक 
धरोहर संरक्षण गरेर वैभव थप्न सकिन्छ, पर्यटक बढाउन सकिन्छ र समृद्धिमा योगदान दिन सकिन्छ भन्ने लाग्यो ।’

शेक्सपियरको जन्मस्थानबाट केही ऐतिहासिक पत्थर लिएका उनले त्यसलाई साझा प्रकाशन परिसरमा राख्ने बताए ।

सन् १५६४ मा २३ अप्रिलमा जन्मिएर २३ अप्रिल १६१६ मा निधन भएका शेक्सपियरको जन्मस्थान अहिलेसम्म सुरक्षितमात्र छैन्, यो विश्व पर्यटनको एउटा आकर्षक गन्तव्य पनि बनेको छ । विश्व साहित्यका शिखर व्यक्तित्व शेक्सपियरको जन्मघर हेर्न टिकट काउन्टरमा लाम बसेका विदेशी पर्यटकको हुलले दर्शाइरहेको थियो ४ सय वर्ष अघि परलोक भइसकेका शेक्सपियरको लोकप्रियता अहिले झन् बढि छ । शेक्सपियरको इतिहास देखि उनको बस्ने कोठा, भान्छा, सुत्ने कोठा र पलङ, कृति लगायत त्यस बेलाको इतिहास जीवन्त बनाएर राखिएको दृश्यले सबैलाई तानेको छ ।

बाहिर पटांगिनीमा शेक्सपियरको नाटकमा अभिनय गर्ने पात्रहरुले इतिहास स्मरण गराइरहेछन् । हयाम्लेट नाटकका पात्रको भेषमा सजिएका कर्मचारीसंग फोटो खिच्नेको उस्तै भीड छ । प्रत्येक वर्ष करिब दश लाख मानिस यहां घुम्न आउने विश्वास गरिन्छ । शेक्सपियर बर्थ प्लेस ट्रष्टको तथ्यांकमा सन् २०१५ मा ८ लाख २५ हजारले जन्मघर भ्रमण गरेका थिए । यसले स्थानीय अर्थतन्त्रमा वार्षिक ६ सय मिलियन पाउण्ड र ११ हजार रोजगारी दिएको छ ।

जन्मघर अवलोकन, साहित्यिक जमघट होस् वा नयां कृति विमोचन । यही थलो रोजाइमा पर्ने गरेको छ नेपाली साहित्यकारमाझ । बेलायत आउने हरेक साहित्यिक मनहरुलाई शेक्सपियरको जन्मस्थलले तानेकै हुन्छ ।
साहित्य चौतारी यूकेले आफ्नो छैठौं श्रृंखला अन्तर्गत शेक्सपियरको जन्मथलोमा काव्ययात्रा गरेको धेरै बितेको छैन् । गत साता राजदूत डा. दुर्गाबहादुर सुवेदी दूतावास परिवारका साथ त्यहां पुगे ।

नेपालका प्रायः साहित्यकारलाई शेक्सपियरको जन्मथलो घुमाउन जिम्मा लिइरहने विकलचन्द्र आचार्य भन्छन्, ‘कला, साहित्य र 
संस्कृति संरक्षणमा राज्यको पनि दायित्व छ । शेक्सपियरको जन्मघरले साहित्यिक धरोहर विकास गर्न सके पर्यटकीय दृष्टिकोणले पनि लाभदायक हुन्छ भन्ने उदाहरण दिइरहेको छ ।’

शेक्सपियर जन्मघरको बगैंचा छेउमा भारतका महान साहित्यकार 
रविन्द्रनाथ टेगोरको मुर्ती देखाउंदै आचार्यले नेपालका महाकवि देवकोटाको मुर्ती पनि यहीं ल्याएर राख्न सके नेपाली साहित्य अझ उचाईंमा पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमा कुनै पनि साहित्यकारको जन्मघरलाई शेक्सपियरको जस्तो 
संरक्षण नगरिएको बताउंछिन् ‘भर्जिनिया उल्फ र आंसुका फूल’ कृतिकी लेखिका जया राई । उनले भनिन्, ‘नेपाली साहित्यकारको स्मृतिमा नेपालमा पनि यसरी नै साहित्यिकस्थल विकास गर्न सके पर्यटक आगमन वृद्धि र नेपाली साहित्यले थप उचाईं लिन सक्थ्यो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री