इन्डोनेसिया पहिरोमा एकको मृत्यु, २८ बेपत्ता

तस्विरः एपी

जकार्ता (इन्डोनेसिया), १९ चैत । इन्डोनेसियामा शनिबार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने २८ जना पहिरोमा वेपत्ता भएका इन्डोनेसियाली राष्ट्रिय विपत् व्यवस्थापन निकायले शनिबार बताएको छ ।

पूर्वी जाभा क्षेत्रको पोनोरोगो जिल्लास्थित बानाराम गाउँमा गएको पहिरोले ३० घरमा क्षति पुरयाएको छ ।

पहिरोमा परी बेपत्ता भएका मानिसको सङ्ख्याका विषयमा परस्पर मेल नखाने सूचनाहरु बाहिर आएका छन् । यद्यपि घटनास्थलबाट एएफपीले प्राप्त गरेको सूचनामा शनिबार साँझसम्म एक जनाको मृत्यु भएको र २८ जना बेपत्ता भएको बताइएको छ ।

घटनास्थलमा उद्धारका लागि स्थानीय विपद् व्यवस्थापन निकायसहित सेना, प्रहरी र स्थानीय स्वयम्सेवकको सहयोगमा पहिरोपछि पनि खतरामा रहेका केही स्थानीयलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको छ ।

इन्डोनेसियामा पहिरोका कारण बर्सेनि सयौँ मानिसको ज्यान जाने गर्छ । पछिल्लोपटक गत फेब्रुअरीमा बालीमा गएको एक पहिरोमा परी तीन बालबालिका सहित १२ जनाको मृत्यु भएको थियो भने सेप्टेम्बरमा बाढी र पहिरोमा परी झन्डै तीसजनाको पश्चिमी जाभा क्षेत्रको गारुतमा ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री