विश्व शान्ति र स्थिरतालाई चुनौति दिंदै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

सोल, २३ चैत । अमेरिका र चीनका राष्ट्रपतिहरुको औपचारिक भेटबार्ता हुन लागेका बेला बुधबार उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

उत्तर कोरियाको पूर्वी बन्दरगाहा सिन्पोबाट क्षेप्यास्त्र प्रहार गरेको अमेरिका र दक्षिण कोरियाका अधिकारीहरुले दावी गरेका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले क्षेप्यास्त्रले ६० किलोमिटर अर्थात् झन्डै ४० माइलको दूरी पार गरेको जनाएको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरियाको यो कदमले विश्वको शान्ति र स्थिरतालाई ठुलो चुनौती दिईरहेको बताएको छ ।

अमेरिकी सेनाले अहिले प्रहार गरिएको क्षेप्यास्त्र मध्यम दुरिमा प्रहार गर्न सकिने क्षमताको भएकाले अमेरिकालाई कुनै चुनौती नभएको जनाएको छ । आतङ्कबादी सुरक्षा चुनौतीलाई सामना गर्न दक्षिण कोरिया र जापानसँग नजिकबाट सहकार्य गर्न प्रतिवद्ध रहेको पनि अमेरिकी सेनाका एक जना कमाण्डरले बताएका छन् ।

अमेरिकाकै विदेश मन्त्री रेक्स टिलरसनले उत्तर कोरियाको बारेमा अमेरिकाले यसअघि पनि पटक पटक पर्याप्त बोलिसकेकाले थप बोलिरहनु नपर्ने बताउनुभयो ।

जापानका प्रधानमन्त्री सिन्जे आवेले पछिल्लो प्रहार उत्तेजना फैलाउने खालको भएको टिप्पणी गर्नुभएको छ । यसले संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय मुल्य मान्यता र सन्धी सम्झौतालाई पनि उलङ्घन गरेको आवेको दावी छ ।

उत्तर कोरियाले श्रृखंलावद्धरुपमा यस्ता क्षेप्यास्त्र प्रहार गर्दै आइरहेको छ । यो अहिलेसम्मको सबैभन्दा पछिल्लो प्रहार हो । उत्तर कोरियाले यस्ता प्रहारहरु शान्तिपूर्ण प्रयोजनका लागि गरेको दावी गर्दै आएको छ ।

पश्चिमा जगतका देशहरुले भने यस्ता प्रहारलाई आणविक हतियार विकास गर्ने शिलशिलाका रुपमा लिने गर्दछन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्न चिनियाँ राष्ट्रपति सी जिनपिङ् अमेरिका जाँदै गरेको बेला भएकाले यस घटनालाई थप अर्थपूर्णरुपमा हेरिएको छ ।

अमेरिकाको फ्लोरिडामा शुक्रबार हुने तय भएको दुई विश्व नेताहरुको भेटबार्तामा उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र योजनालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषय मुख्य रुपमा छलफल गर्ने तयारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री