राम्रो संकल्प गर्न नयाँ वर्ष नै किन कुर्ने ?

हामी सबै खुसियालीका साथ नेपाली नयाँ वर्ष मनाउंदैछौ । यो अवसरलाई परिवारसंग घुमफिर गर्ने, साथीभाई र इष्टमित्रहरुलाईसँग रमाउने, आफूले चाहे जस्तै गरी रमाइलो गर्ने र शुभ कामना साट्ने मौकाको रुपमा सबैले लिन्छौ ।  यो स्वाभाविक पनि हो । त्यति मात्रै हैन, नयाँ वर्षको दिनलाई राम्रो संकल्प गर्ने दिनको रुपमा पनि लिन्छौ ।

राम्रो कुराको शुरुवात गर्न के नयाँ वर्ष नै कुर्नु पर्छ ? यसको जवाफ सजिलो छ । कसैको लागि नयाँ वर्षको दिन नै कुर्नु पर्ला, जुन हरेक वर्ष एक दिन मात्रै आउँछ ।  तर, कसैको लागि हरेक दिन नै काम गर्ने, राम्रो कुराको शुरुवात गर्ने वा त्यस्ता कुराहरुलाई निरन्तरता दिने र आफ्नो जीवन ब्यबस्थित गर्ने दिन हो । यो आ-आफ्नो सोचाई र विचारको कुरा हो ।

वास्तवमा भन्ने हो भने हाम्रो जीवनमा हरेक दिन एक पटक मात्रै आउँछ । यो अर्थमा भन्ने हो भने हरेक दिन नयाँ दिन हो । हरेक दिन बितेको दिन भन्दा सबै किसिमले फरक हुन्छ । हामीले गर्ने नियमित कामहरु र हाम्रा दिनचर्या उस्तै हुन सक्छन् । हाम्रो मानसिकता र कार्यशैलीहरु उस्तै हुन सक्छन् । हाम्रो वरिपरिको वातावरण र परिस्थितिहरु उस्तै हुन सक्छन् । तर, हरेक दिन फरक दिन हो । जीवन यात्राको सिंढीमा हरेक दिन एक नयाँ खुड्किलो हो ।

हाम्रो जिन्दगी धेरै जसो दैनिक अर्थात नियमित रुपमा गर्ने कामहरु जस्तै खानपिनको तयारी गर्ने, घरको काम गर्ने, परिवारसँग समय बिताउने, जागिर गर्ने, पढ्ने वा अरु त्यस्तै काम गर्दैमा बित्छ । हामीलाई आफ्नो जीवनसँग सम्बन्धित अरु धेरै कुराहरु सोच्ने वा गर्ने मौका मिल्दैन ।  त्यसैले त नयाँ वर्षको दिनमा हामीहरु एउटा न एउटा संकल्प गरेर राम्रो गर्ने वा आफू  सुध्रने कुरा गर्ने संकल्प गर्छौ ।

नियमित हुने काम वा दिनचर्याहरुको बिचमा पनि हामीलाई केही नयाँ कुरा सोच्ने, दिल र दिमागलाई ‘रिफ्रेश’ गर्ने र आफ्नै जिन्दगीलाई मुल्यांकन गर्ने बारेमा सोच्ने फुर्सद हुँदैन । यान्त्रिक रुपमा चल्ने हाम्रो जीवनलाई समय समयमा फरक दृष्टिकोणबाट सोच्ने, हेर्ने र बुझ्ने समय पनि दिनु पर्छ । जीवन सधैं उस्तै हुँदैन । जीवनमा कतिपय पटक नसोचेका कुराहरु पनि हुन्छन । त्यसैले पनि समय समय मा नयाँ संकल्प र प्रतिबद्धता गर्नु पर्ने आवस्यकता हुन्छ ।

यहाँ संकल्प गर्ने त धेरै हुन्छन । तर, संकल्पको पालना गर्ने र आफ्नो संकल्प पूरा भयो वा भएन भनेर मुल्यांकन गर्ने भने धेरै हुँदैनन् । नयाँ वर्षको अवसरमा अरुको देखासिकी गरेर कुनै संकल्प गर्ने अनि अर्को हप्ता देखि बिर्सनेको भिड बढी हुन्छ यहाँ । यो कुरामा हामी धेरै चुकेका हुन्छौ ।  तसर्थ पनि संकल्प गर्नु जति महत्वपूर्ण छ त्यति नै जरुरी कुरा संकल्पको पालना गर्नु पनि हुन्छ । अनि, यदि कुनै संकल्प पालना नै गर्न सकिंदैन वा पूरा गर्न नै सकिंदैन भने संकल्प गर्नु ब्यर्थ हुन्छ ।  जीवनमा धेरै गर्नु पर्ने काम र संकल्पहरुमध्ये कुन आफू र आफ्नो जीवनको लागि जुन महत्वपूर्ण हुन्छ निर्क्योल गरेर प्राथमिकता तोक्नु पर्छ । अनि त्यही प्राथमिकता असुसार संकल्प तोक्ने र पूरा गर्न लाग्नु पर्छ ।

एक अर्थमा भन्ने हो भने जीवन संकल्प नै संकल्पको संग्रह हो । आफ्नो लागि संकल्प, घर परिवारको लागि संकल्प, समाजको लागि संकल्प, र देशको लागि संकल्प । पढ्नको लागि संकल्प, पेशामा सफल हुन पनि संकल्प र स्वस्थ वा निरोगी हुनको लागि पनि संकल्प ।  जिन्दगीमा संकल्पको सूचि निकै लामो हुन्छ । हाम्रो जिन्दगीमा हरेक कुरामा सफल हुन संकल्प, प्रतिबद्धता, निरन्तरता र लगनशीलता  जस्ता कुराहरुको आवश्यकता पर्छ ।

अब त्यति धेरै संकल्प चाहिने हाम्रो जीवनमा कुनै संकल्प गर्न किन नयाँ वर्ष नै किन कुर्ने ? हरेक दिन नयाँ दिन भएकोले कुनै राम्रो कामको शुरुवात गर्नु छ भने जुन सुकै दिन पनि संकल्प गर्न सकिन्छ । मैले यो लेख नयाँ वर्षको अवसरमा लेखेको भए पनि यसको सान्दर्भिकता भने हरेक दिन छ । किनकि सफल, खुसी र सुखी जीवन जिउने चाहना सबैको हुन्छ । र, सबै सफल, खुसी र सुखी हुनको लागि नयाँ वर्ष कुर्नु पर्ने आवश्यकता हुँदैन । त्यसैले, आउनुस आजै एउटा प्रतिबद्धता र संकल्प गरूँ, हरेक दिन असल मानिस हुने, असल काम गर्ने र जुन सुकै दिन पनि रामो काम गर्ने संकल्प गर्ने ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री