बेनिफिट लिने भूपू गोर्खाहरुलाई नियम हेरफेर

लन्डन । ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकलाई सघाउन स्थापित गोर्खा कल्याणकारी परामर्श केन्द्रहरुले आइएलआर- आइएलइ भिसा लिएर बसिरहेका भूतपूर्व गोर्खा सैनिकहरुलाई नेपाल गएको बेला कुनै कारणले बसाई लम्बिए तत्काल बेलायतमा सम्बन्धित निकायलाई खबर गर्न सल्लाह दिएका छन् ।

गत शनिबार बन्टओकस्थित टेरिटोरियल आर्मी कार्यालयमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारजनसंग अन्तरकृया गर्दै गोर्खा वेलफेयर ट्रष्टका वेलफेयर अफिसर (रिटायर्ड) क्याप्टेन ग्यारी घलेले ब्रिटेनको स्थायी आवासीय अनुमति पाएका भूतपूर्व गोर्खा सैनिकहरुले आइएलआर भिसा लिएर प्रत्येक दुई वर्षमा भिसा नवीकरण गर्न मात्रै यूके आउनु ब्रिटिश सरकारको नियमको उल्लंघन भएकाले ब्रिटिश इमिग्रेशन अधिकृतहरुले त्यस्ता व्यक्तिप्रति कडा रवैया अपनाइरहेको बताए ।

उनले ब्रिटेनको नियमअनुसार पेन्सन क्रेडिट पाउने भूतपूर्व गोर्खा सैनिकहरुले २८ दिनमात्र बेलायतबाहिर बिताउन पाउने भएकाले कुनै कारणवश बसाइ लम्बिएमा कारणसमेत खुलाई ब्रिटिश सरकारको डिपार्टमेन्ट फर वर्क एण्ड पेन्सन्स (डिडब्लुपी) अफिसलाई फोन गरेर जानकारी दिनुपर्ने बताए । नेपाल वा अन्य कुनै पनि तेश्रो मुलुक जानु अघि र फर्केपछि पनि फोन गर्नुपर्ने उनले बताए ।

अहिलेको नियम अनुसार ब्रिटेन बाहिर गएको बेला दुर्भाग्यवश श्रीमान वा श्रीमतीको मृत्यु भयो भने आठ हप्तासम्म बस्न पाइन्छ । त्यस्तै नेपाल वा अन्य कुनै मुलुक गएको बेला सिकिस्त बिरामी भएमा २६ हप्तासम्म बस्न पाइन्छ, तर फर्कंदा चिकित्सकको पत्र र अन्य कागजातहरु संगै ल्याउन जरुरी छ ।

क्याप्टेन घलेले त्यसो नगर्दा डिडब्लुपीले भूतपूर्व गोर्खा सैनिकहरुले पाउने भत्ता रोकिदिन सक्ने तथा लामो समयसम्म बेलायतबाहिर बसेमा भत्ता कटौती पनि गरिदिन सक्ने बताए । त्यसो भयो भने बेनिफिट पाउन फेरि निवेदन दिनुपर्ने हुन्छ । २८ दिनभन्दा बढी नेपालमा बस्नुपर्ने भए कारण खुलाउनुका साथै त्यससम्वन्धि कागजातहरु संलग्न गरेर आफ्नो डिडब्लुपी पेन्सन अफिसलाई जानकारी दिन पनि उनले सुझाए । आफू बसिरहेको ठेगाना परिवर्तन भएमा वा आफ्नो आयस्रोत तल माथि भएमा बैंक, जिपी र डिडब्लुपीलाई तत्काल जानकारी दिन पनि उनले सल्लाह दिए ।

ब्रिटेनमा छिट्टै युनिभर्सल क्रेडिट- फुल सर्भिस भन्ने नियम प्रचलनमा आउन लागेको र यसले काम गर्ने उमेरका मानिसहरुले पाउने सबै बेनिफिटहरुलाई विस्थापित गर्ने तथा पेन्सन क्रेडिट पाउने फरक फरक उमेर समूहका दम्पतीहरुलाई पनि असर पर्ने उनले जानकारी दिए । क्याप्टेन घलेले सेप्टेम्बर २०१८ देखि सबै विवरण अनलाइन भर्नुपर्ने नियम आउन लागेको जानकारी पनि दिएका छन् । त्यसो गर्न नसक्ने भूतपूर्व गोर्खा सैनिकहरुलाई सहयोग गर्न उनले नेपाली संघसंस्थालाई आग्रह गरे ।

बेलायत सरकारले बायोमेट्रिक रेजिडेन्स पर्मिट (बीआरपी) प्रणाली ल्याउन लागेको र त्यसले पुरानो पासपोर्टलाई प्रतिस्थापित गर्ने उनले जनाए । यदि पुरानो पासपोर्टमा बेलायतको भिसा लागेको छ भने त्यो पनि साथै राख्‍न उनले सुझाव दिए । यी विषयमा कुनै जिज्ञासा भए बेलायतस्थित गोर्खा वेलफेयर एडभाइस सेन्टरहरुमा सम्पर्क गर्न सकिने उनले बताए ।

उक्त अवसरमा बोल्दै बन्टओक नेपाली समाजका सल्लाहकार लक्ष्य गुरुङले बेलायतमा भइरहेका नीतिगत परिवर्तनबाट आफूलाई पर्न सक्ने असरबारे भूतपूर्व गोर्खाहरु चनाखो हुनुपर्ने बताए । समाजका अध्यक्ष रमेश गुरुङले भूतपूर्व गोर्खाहरुको दैनिक जीवन सजिलो होस् भन्ने उद्देश्यले त्यस्तो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । उनले क्याप्टेन घले तथा सबै सहभागीहरुलाई धन्यवाद पनि दिए ।

हाल बन्टओकमा बन्टओक नेपाली समाजका संस्थापक अध्यक्ष उदयबहादुर गुरुङको संयोजकत्वमा भूतपूर्व गोर्खा सैनिकका लागि विभिन्न किसिमका कक्षा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री