साहित्य महासङ्घ साउथ युकेले मनायाे नयाँ वर्ष

लन्डन । विश्व नेपाली साहित्य महासंघ युके साउथले विक्रम सम्वत २०७४ लाई साहित्यिक र सांगीतिक कार्यक्रम गरी भव्यतापूर्वक सम्पन्न गरेको छ । आइतबार युके केन्टस्थित आसफोर्ड टाउन सेन्टर पीस हलमा आयोजित कार्यक्रममा प्रमुख आकर्षण नेपालबाट युके आएका गायक शिव परियार थिए भने उनकै मुख्य सांगीतिक प्रस्तुति रहेको थियो ।
पहिलो चरणमा प्रमुख अतिथि परियार, विश्व नेपाली साहित्य महासंघ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेला र शाखाका कार्यवहाक अध्यक्ष औतारी साईंलाले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए भने सुरेन्द्र थेवेले हेल्थ एण्ड सेफ्टीबारे बताए । कार्यक्रममा सुष्मा रुपावुङ राईले स्वागत मन्तब्य दिइन् ।
महासंघ केन्द्रको तर्फबाट अध्यक्ष तिगेलाले शुभकामना मन्तब्य दिंदै केन्द्रले सन् २०१५ मा आयोजना गरेको दोस्रो विश्वब्यापी कविता प्रतियोगितामा सहभागी ११४ मध्ये महिलातर्फ उत्कृष्ट हुन सफल कवयित्री भावना परिष्कृत सुनुवारलाई सम्मानसहित प्रमाणपत्र हस्तान्तरण गरे । सुनुवारले पुरस्कृत कविता वाचन गर्दै आयोजकप्रति आभार ब्यक्त गरिन् । कवि घनबहादुर थापा र कवयित्री टिमाया राईले नयाँ वर्षको कविता वाचन लगत्तै भीमु मेमोरियल ट्रष्टको तर्फबाट ट्रष्टका संस्थापक शिवकुमार राईले गायक बी.सी. राई र गंगाराज राईलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेका थिए ।

महासंघमा आवद्ध स्रष्टा थिर थापाको ‘बिहानी’ नामक गीति एल्बम, जानुका राईको गीति संग्रह ‘धर्तीको जन्म’, टी. माया राईको एल्बम ‘सौम्यलाई’ केन्द्र अध्यक्ष तिगेला, शाखा कार्यबाहक अध्यक्ष साईंला, गायक परियार र समाजसेवी घन थापाले विमोचन गरे । तीन जना स्रष्टाहरुले आ आफ्नो कृति र सिर्जनाबारे संक्षिप्त बोलेका थिए । अतिथि गायक परियारलाई आयोजकको तर्फबाट कार्यवहाक अध्यक्ष साईंलाले आभारपत्र हस्तान्तरण गर्दै पहिलो चरणको कार्यक्रम औपचारिक रुपमा विसर्जन गरेका थिए ।

दोस्रो चरणको धमाकेदार सांस्कृतिक कार्यक्रम सुरेन्द्र इङनामले मिठो बाँसुरीको धुनबाट शुरु गरे । कार्यक्रममा नवगायक मोहन लिम्बु, गायिकाहरु विमला लिम्बु, करिष्मा घम, जानुका पुन, गणेश पुनको प्रस्तुतिसंगै गायक परियारले सबैलाई नचाएका थिए । युकेका चिरपरिचित गायक थिर थापामगर, मधुसुदन थापामगर र गणेश पुनले पनि सुमधुर गीत पस्किए । उनीहरुलाई गायिका सुष्मा राईले पनि साथ दिएकी थिइन् । सीता शेरचन, सन्ध्या गुरुङ, मलियना तिगेला, नेहा लिम्बु, निङ्वा लिम्बु, सशांक राई र गणेश लिम्बुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्तिम चरणमा गरिएको राफल ड्रमा सुनको गहना माया शेरचनले जितिन् । कार्यक्रमलाई आकर्षक ढंगबाट महासचिव जानुका राई र कवि सन्जिव राई पारदर्शीले सञचालन गरेका थिए । अन्तमा कार्यवहाक अध्यक्ष साईंलाले कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्ने तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम आयोजनाका लागि गायक थिर थापा, महासचिव राई र श्रीमती कृष्णा थापाको विशेष भूमिका थियो ।

वातावरण कविता प्रतियोगितामा बन्दना राई प्रथम

१७ अप्रिल २०१७ का दिन विश्व नेपाली साहित्य महासंघ साउथ युके शाखाद्धारा आयोजित अर्थ आवर वातावरण साहित्य प्रतियोगितामा भोजपुरकी बन्दना राईको ‘यो साझा घरको मान्छे’ शिर्षकको कविता प्रथम भएको छ ।

नेपाली भाषाको अनलाइनमा पहिलो पटक प्रसारण शुरु गर्ने प्रभावशाली रेडियो बिएफबिएस गोर्खा रेडियोको काठमाडौं स्टेशनबाट १७ अप्रिल २०१७ का दिन नतिजा घोषणा गर्दै पुरस्कार वितरण गरिएको छ । विजयी तीनैजना रेडियो स्टेशनमा उपस्थित थिए । प्रतियोगितामा प्रज्वल अधिकारीको ‘शहरले गुमाएको प्राकृतिक पेन्टिंग’ शीर्षकको कविता दोस्रो र पवित्रा राईको ‘खर्पनमा धर्ती बोकेर’ शीर्षकको कविता तेस्रो बन्न सफल भए । पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद १२ हजार, १० हजार र ८ हजार रुपैंया पुस्कारसहित प्रमाणपत्र गोर्खा रेडियोका सञ्चालक विनोदध्वज खड्का र अध्यक्ष विजय हितानले हस्तान्तरण गरे ।

नेपालबाट मात्र सहभागिता जनाउन मिल्ने र वातावरणको विषयमा सिर्जना लेख्नुपर्ने प्रावधान रहेको प्रतियोगिताका लागि २४ मार्च भित्र आइपुग्नुपर्ने गरी आह्वान गरिएको थियो । यस वर्षको अर्थ आवर गत २५ मार्चका दिन विश्वब्यापी मनाइएको थियो । विभिन्न ४६ जनाको कवितालाई साहित्यकार विश्वासदीप तिगेला, सप्निल स्मृति र स्वयं अध्यक्ष हितानले मुल्यांकन गरेका थिए ।

नवीन प्यासी, एकु घिमिरे, उदास कार्की, पुष्पा घिमिरे, तुलसी बस्नेत, ह्दय लेकाली, सुरज शर्माका कविताहरु उत्कृष्ट १० मा पर्न सफल भएका थिए । साहित्य महासंघले विगत वर्षहरुदेखि विश्व अर्थ आवरको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

महासंघ साउथ शाखाले बैशाख ३ गते युके आसफोर्ड शहरमा भब्य कार्यक्रम सम्पन्न गरयो भने दोस्रो दिन प्रतियोगिताको नतिजा घोषणा गर्दै पुरस्कार घोषणा गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री