राष्ट्रपति भण्डारी गुजरातका धार्मिक क्षेत्रमा

मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी भारतको मुख्य सहर गुजरातको प्रमुख तीर्थस्थल सोमनाथ मन्दिरमा पुगेर बुधबार दर्शन तथा पूजाआजा गर्नुभयो । तस्बिरः भरत केसी, रासस, राजकोट (भारत)

राजकोट (गुजरात, भारत), ६ वैशाख । भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नुभएको छ ।

गुजरातको राजकोटमा अपराह्न आइपुग्नुभएकी राष्ट्रपति भण्डारीलाई गुजरातका गृह, शिष्टाचार तथा संसदीय मामिला मन्त्री प्रदीप जडेजा लगायतका गुजरात सरकारका उच्च पदाधिकारीले राजकोट विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

राजकोट विमानस्थलबाट सिधै राष्ट्रपति भण्डारी भारतीय वायुसेनाको हेलिकप्टरबाट भारतको प्रसिद्ध तीर्थस्थल सोमनाथ तथा द्वारिकाधाम पुगी त्यहाँ भ्रमण तथा पूजाआजा गर्नुभयो । सोमनाथलाई भगवान् शिवजीका १२ ज्योतिर्लिङ्गमध्ये पहिलो ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गरिन्छ । राष्ट्रपति सोमनाथ मन्दिर क्षेत्रमा पुग्दा स्थानीय तथा मन्दिर व्यवस्थापनले भव्य स्वागत तथा सम्मान गरेका थिए ।

राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डललाई भारतीय वायुसेनाको हेलिकप्टरबाट सोमनाथ तथा द्वारिका भ्रमण गराइएको थियो ।

यसलगत्तै राष्ट्रपति सोही हेलिकप्टरबाटै द्वारिकानाथ धाम पुगेर त्यहाँ दर्शन तथा पूजाआजा गर्नुभयो । साथै, राष्ट्रपति भण्डारीले चढाउनुभएको तथा पूजा गर्नुभएको ध्वजा मन्दिरमा फहराइएको थियो ।

सोमनाथ तथा द्वारिकाधाम भ्रमण सम्पन्न गरेर राष्ट्रपति भण्डारी आज साँझ ७ः३० बजे राजकोट फर्कनुभएको छ । राष्ट्रपतिको आजको भ्रमणदलमा शान्ति मन्त्री सीतादेवी यादव, सांसदहरु, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण भण्डारी, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरी, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलगायत रहनुभएको थियो ।

राष्ट्रपति भण्डारीको सम्मानमा आजै साँझ गुजरात राज्यका मुख्यमन्त्री विजयभाइ रुपनीले रात्रिभोजको आयोजना पनि गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री