साहित्यकार शर्मा र सञ्चारकर्मी नेपालीलाई क्रमशः वसुन्धराश्री र मानश्री पुरस्कार

खगेन्द्र नेपाली

लन्डन । सुप्रसिद्ध साहित्यकार प्रा.डा. तारानाथ शर्मालाई वि.सं.२०७४ सालको वसुन्धराश्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बिहीबार वैशाख ७ गते बसेको विशेष बैठकले उक्त निर्णय गरेको हो । त्यसै गरी प्रज्ञा प्रतिष्ठान बैठकले लन्डननिवासी चर्चित सञ्चारकर्मी तथा साहित्यकार खगेन्द्र नेपालीलाई वि.सं. २०७४ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

उत्कृष्ट, विशिष्ट र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाहरुका सिर्जनाद्वारा आधुनिक नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली भाषा-साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न जिन्दगी अर्पण गर्ने सुप्रसिद्ध साहित्यकार शर्मालाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । पुरस्कारका साथ नगद रु ५० हजार रुपैंयासहित सम्मानपत्र अर्पण गरिनेछ ।

वि.सं. १९९१ साल असार ९ गते इलाममा जन्मिएका विशिष्ट श्रष्टा डा. शर्माका बेलायततिर बरालिंदा, सम र समका कृति, घोत्ल्याईंहरु, भानुभक्तदेखि तेस्रो आयामसम्म, नेपाली साहित्यको इतिहास, पश्चिमका केही महान साहित्यकार, जमर्काहरु, जीवनका छाल, दुई पोका चुरा, मेरो कथा, ओझेल पर्दा, झझल्को, पाताल प्रवास र नेपालदेखि अमेरिकासम्म लगायत चार दर्जनभन्दा बढि कृति प्रकाशित भइसकेका छन् ।

त्यसैगरि, चर्चित सञ्चारकर्मी तथा साहित्यकार नेपालीलाई मानश्री पुरस्कारको साथमा नगद रु २५ हजार रुपैंयासहित सम्मानपत्र अर्पण गरिने सदस्य सचिव कृसु क्षेत्रीले जनाएका छन् । नेपालीले उत्कृष्ट स्तरीय र पठनीय नेपाली कविता, गीत, कथा तथा बौद्धिक, सांस्कृतिक र संस्मरणात्मक लेख-निबन्धहरुको सिर्जना एवं कालजयी श्रस्टाहरुका अजरामर कृतिहरुलाई आफ्नो श्रुतिमधुर स्वरद्वारा श्रव्यकृतिहरु प्रकाशन गरी नेपाली साहित्यलाई अझ सुपाठ्य, शालीन र समुन्नत बनाई नेपाली वाङ्मयको विकासमा महत्वपूर्ण योगदान गरी प्रवासमा रहेर पनि नेपाली साहित्यमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिस्ट्य कायम गरेको जनाइएको छ ।

सन् १९४६ अप्रिल २५ काठमाडौंमा जन्मिएका नेपालीले २७ वर्ष बीबीसी नेपाली सेवाको प्रमुखका रुपमा कार्यरत रही नेपाली भाषाको प्रचार प्रसारमा महत्वपूर्ण योगदान गर्नुका साथै जवाफ हाजिर छ (साझा प्रकाशन), महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदेखि शुन्यसम्म, विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, डायमनशमसेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, स्वामी आनन्द अरुणको सन्त गाथा, र झमक घिमिरेको जीवन कांडा कि फूल लगायत विशिष्ट साहित्यिक कृतिहरु स्वंरांकनगरी श्रव्यकृति तयार पार्ने प्रशंसनीय कार्य गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस अघि वसुन्धराश्री पुरस्कार कविवर माधवप्रसाद घिमिरे (वि.सं.२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट 
(वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल गोठाले (वि.सं. २०५९), वरिष्ठ समालोचक यदुनाथ खनाल 
(वि.सं. २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार डायमन शमशेर राणा 
(वि.सं. २०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), वरिष्ठ कवि वैरागी काईंला 
(वि.सं. २०६७), वरिष्ठ कवि धर्मराज थापा (वि.सं २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं २०६९), वरिष्ठ चित्रकार शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ गायक अम्बर गुरुङ्ग (वि.सं. २०७२) र वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३) लाई प्रदान गरिएको थियो ।

त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी (वि.सं. २०५७),साहित्यकार विनय रावल (वि.सं २०५८), नाटककार अशेष मल्ल (वि.सं २०५९), गजलकार ज्ञानुवाकर पौडेल (वि.सं २०६०), साहित्यकार मञ्जुल (वि.सं. २०६१), कथाकार मधुवन पौडेल (वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार श्रीमती भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार सनत रेग्मी (वि.सं. २०६६), कवि तथा गजलकार विजय बजिमय (वि.सं. २०६७), समालोचक डा.रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह (वि.सं. २०७१), गायक दीप श्रेष्ठ (वि.सं. २०७२) र साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ 
(वि.सं. २०७३) लाई प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री