जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

(टोकियो) जापान, ७ वैशाख । जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गर्नुभएको छ । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उहाँले जनाउनुभएको हो ।

एसियाका उद्यमशील महिला सहकर्मी समाजले ४१ वर्षदेखि आयोजना गर्दै आएको एक दिवसीय च्यारिटी मेलामा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएकी राजकुमारी हिताचीले कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालसंग नेपाल र नेपालीको शीर उच्च रहेको भन्दै प्रशंसा गर्नुभयो ।

राजधानी टोकियो महानगरपालिकाको आकासाकास्थित इन्टरनेसनल होटलमा आयोजित एक मेलामा दौरा सुरुवाल र ढाका टोपी लगाएका नेपाली देखेर उहाँले नमस्ते अभिवादन गर्नुभयो । २६ राष्ट्रका राजदूत र अधिकारीका बीचमा नेपालीप्रतिको विश्वास कुनै शब्दमा व्यक्त गर्न नसकिने उहाँले बताउनुभयो ।

हिताचीले स्टलमा राखिएका नेपालीले बनाएका विभिन्न कलाका वस्तु, लत्ताकपडा, चिया तथा खानाको निरीक्षण गर्नुभयो । नेपाली स्टलमा राखिएका सामग्री तथा विभिन्न वस्तुको अवलोकनपछि हस्तकलाका सामग्रीका कला र निर्मित वस्तुको अवस्थाबारे जानकारी गराइएको कार्यवाहक राजदूत अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार अवलोकनपछि राजकुमारी हिताचीले दुई शताब्दीअघि नेपालको राजकीय भ्रमणका क्रममा पोखराको पर्यटकीयस्थल, प्राचीन काठमाडाँै र प्यागोडा शैलीमा निर्मित मन्दिर र गौतम बुद्धको जन्मस्थल लुम्बिनीको स्मरण गर्दै हाल कस्तो अवस्थामा छन् ? भनी जिज्ञासा राख्नुभएको थियो ।

सो अवसरमा नेपाली कार्यवाहक राजदूत अर्यालले राजकुमारीलाई मायाको चिनोस्वरुप चाँदीको करुवा प्रदान गर्नुभएको थियो । मेलामा अन्य स्टलमध्ये ममता रहेको भन्दै नेपाली चाँदीको गहना खरिद गर्नुभयो । ५० भन्दा बढी स्टलमध्ये नेपाली राजदूतावासका तर्फबाट हस्तकला सामग्रीअन्तर्गतका पश्मिना, नेपाली चिया र खानासहितका दुई स्टल मेलामा राखिएको थियो ।

नेपाली स्टलमा राखिएका हस्तकलाका सामग्रीअन्तर्गत पस्मिनामा सजाइएका वस्तु र चाँदीका गहनामा राजकुमारी हिताची आकर्षित देखिनुभयो । अवलोकनका क्रममा नेपाली हस्तकलाका सामानमा विशेष चासो राख्नुभएकी राजकुमारी हिताचीले नेपाली आस्थालाई अन्य राष्ट्रले पनि अनुशरण गर्नुपर्नेसमेत बताउनुभएको थियो । मेलामा नेपाली सामग्रीको ५० हजारभन्दा बढीले अध्ययन अवलोकन गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री