चुनाव चिह्न नदिए निर्वाचन हुन नदिने डा भट्टराईको चेतावनी

पालुङ्टार (गोरखा), ९ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ ।

नयाँ शक्तिले गोरखाको पालुङटारमा आज आयोजना गरेको बृहत् आमसभामा भट्टराईले ‘जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ’– भन्नुभयो ।

संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै भट्टराईले त्याग गरेर ल्याएको संविधानमा उल्लेख भएअनुसार नै प्रक्रिया पुरयाएर निर्वाचन आयोगमा दल दर्ता गरिएकाले चुनाव चिह्न पनि पाउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘आँखा चिह्न प्राप्त गरिछाड्छौँ । निर्वाचनको तयारीमा जुट्नुहोस् ।’

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिलाई चुनाव चिह्न दिनबाट रोक लगाएको भट्टराईले आरोप लगाउनुभयो ।

‘निर्वाचन आयोगमा प्रक्रिया पुरयाएर दर्ता भएको पार्टीलाई चुनाव चिह्न नदिने निर्णय षड्यन्त्र हो’– उहाँले भन्नुभयो, ‘राप्रपाको काँधमा प्रधानमन्त्री बस्नुभएको छ । त्यसैले आयोगलाई भनेर राप्रपाको माग पूरा गरिदिनुभयो ।’

संविधान संशोधन गरेर मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउन भट्टराईको आग्रह छ । मधेसीको माग पूरा गराउने बहानामा चुनावको मिति हेरफेर गर्न नहुने भन्दै उहाँले संविधान संशोधन पारित गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, पार्टी घोषणाको एक वर्षमै ७५ जिल्लामा सङ्गठन बनिसकेको भन्दै भट्टराईले जनताको भोटले निर्वाचन जितेर सत्तामा पुगेपछि आर्थिक समृद्धिका काम गरिने बताउनुभयो ।

समृद्ध नेपाल बनाउनका लागि लिगलिगकोटको फेदीबाट उद्घोष गर्दै भट्टराईले पालुङटार नगरलाई देशकै नमुना नगर बनाउने योजना सुनाउँदै नगर प्रमुख, उपप्रमुखमा नयाँ शक्तिलाई जिताउन आग्रह गर्नुभयो । वामपन्थी, दक्षिणपन्थीभन्दा माथि उठेको विचार नयाँ शक्ति भएको उहाँको भनाइ थियो ।

आमसभालाई नेता देवी ओझा, पासाङ शेर्पा, गङ्गा चौधरी, करिष्मा मानन्धर, हरिशरण आचार्य, डा लक्ष्मीप्रसाद देवकोटा लगायतले सम्बोधन गर्नुभएको नयाँ शक्तिका अशोक देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री