उत्तर कोरियाली समस्याबारे अमेरिका तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता

बेइजिङ्ग, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।

उक्त वार्तामा दुई देशका बीच रही आएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली समस्याको गम्भीर छलफल तथा बिश्लेषण गरिएको जनाइएको छ ।

केही हप्ता अघिदेखि उत्तर कोरियाले लगातार आफ्नो आणविक शक्ति र क्षेप्याश्त्र परीक्षण गरिरहेको र यसले कोरियाली प्रायद्वीप तथा जापान लगायतका राष्ट्रहरुमा चिन्ता पैदा भएकाले अमेरिकी तथा चिनियाँ राष्ट्रपतिले उक्त वार्तामा यसैलाई मुख्य बिषयबस्तु बनाउनु भएको पनि ज्ञात भएको छ ।

चीनले सदैव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको संकल्प प्रस्तावको सम्मान र कदर गर्ने प्रतिबद्धता ब्यक्त गर्दै राष्ट्रपति जिनपिङ्गले अमेरिकी राष्ट्रपतिलाई आश्वस्त पार्नु भएको छ ।

कुनै पनि राष्ट्रले सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन वा अनादर गरेमा चीन त्यसको कडा विरोधमा उभिने पनि उहाँले बताउनु भएको छ ।

साथै, कोरियाली प्रायद्वीपमा शान्ति स्थापनार्थ चीन जस्तोसुकै सहयोग गर्न तत्पर रहेको पनि राष्ट्रपति जिनपिङ्गले बताउनु भयो ।

त्यस्तै, उत्तर कोरियाको वर्तमान आणविक हातहतियार भण्डारण नष्ट गर्ने तथा उत्तर कोरियालाई निरश्त्रीकरण गर्ने सम्बन्धमा दुबै राष्ट्र मिलेर सहज र शान्तिपूर्ण मार्ग अबलम्बन गर्नु पर्ने पनि राष्ट्रपति जिनपिङ्गले बताउनु भएको छ ।

दुबै देशको साझा समस्या निराकरण गर्ने दिशामा सहकार्य गर्न चीन अग्रसर रहने र निर्वाह गर्नु पर्ने भूमिका चीनले समय मै पूरा गर्न कुनै कसर बाँकी नराख्ने पनि राष्ट्रपति जिन पिङ्गले बताउनु भएको जनाइएको छ ।

कोरियाली प्रायद्वीपका सम्बन्धमा ट्रम्प अबे फोनवार्ता

टोकियो, ११ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा देखिएको असहजताका विषयमा सोमबार फोनवार्ता भएको समाचार छ ।

समाचारअनुसार जापानी प्रधानमन्त्री आबेलाई अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार फोन सम्पर्क गर्नुभएको थियो । उक्त समाचार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले आज जनाएको छ ।

कोरियामा पछिल्लो समयमा शान्ति भड्किएको छ । सो असहज परिस्थितिको नियन्त्रण कसरी गर्ने भन्ने बारेमा उहाँहरुबीच कुराकानी भएको जापानी समाचार समिति, क्योडोले जानकारी दिएको छ ।

आबेले सो फोनका क्रममा भएको कुराकानीमा उक्त अशान्तिको अवस्थालाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको जानकारी दिएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री आबेले आजको फोनमा भएको कुराकानीको बारेमा सो जानकारी प्रेसलाई गराउनुभएको बताइएको छ । सो क्रममा उत्तर कोरियालाई शान्ति र संयमता अपनाउनका लागि आग्रह गर्ने बारेमा छलफल भएको थियो ।

उत्तर कोरियामा अहिले पनि आणविक परीक्षणको होडबाजी भइरहेको बताइएको छ । उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्ने गरेको छ ।

फेरि पनि उसले एक दुई दिनमै अर्काे परीक्षण गर्नसक्ने अनुमानहरु विश्वव्यापी रुपमा नै गरिरहेको छ । सो विषयमा पनि उहाँहरुबीच कुराकानी भएको पनि ह्वाइटहासले जानकारी दिएको छ । यदि फेरि पनि यस्तो आणविक परीक्षण गरिएमा यसको जवाफ सैनिक कारबाहीबाट दिने चेतावानी अमेरिकी राष्ट्रपति ट्रम्पले दिनुभएको छ ।

तर पनि यस्तो कारबाही आफूमाथि गरिएमा यसका विरुद्धमा आफूले आणविक आक्रमण गरेरै दिने उत्तर कोरियाले पनि बताउँदै आएको छ ।

अमेरिकी राष्ट्रपतिले विगतका केही समयदेखि नै उत्तर कोरियाका सामु आणविक परीक्षणसहित सबै प्रकारका विकल्प राखिएको जानकारी दिँदै आउनुभएको छ । यसको उत्तर कोरियाली नेताले कडा जवाफ दिँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री