बुधबार, असार १४ २०७४ | Wed, June 28, 2017
नेपालको समय: ०२:३० | UK Time: 21:45

मेरी आमा

डा. बच्चु कैलाश कैनी
प्रकाशित मिति:२०७४ वैशाख १२ गते १०:३४

आमा, आहा कति मिठो शब्द, कति प्रिय लाग्ने शब्द ! तर, यो शब्दको उच्चारण गर्ने बित्तिकै मेरो मन त्यसै भावुक हुन्छ । मलाई मेरी आमाको याद आउँछ ।  मेरी आमा जो सहनशीलताको प्रतिक हुनुहुन्थ्यो, जस्तै दु: ख कष्ट पनि खप्न सक्नु हुन्थ्यो र  आफूलाई खरो रुपमा जस्तो सुकै अग्नि परिक्षामा उतार्न सक्नु हुन्थ्यो ।

मेरी आमाले यो संसार छोड्नु भएको झन्डै २३ बर्ष पुग्न लाग्यो । उहाँले यो संसार छोड्दा म सँगै नभएकोले पनि म झन् भावुक हुन्छु । त्यो बेलाको कुरा सम्झेर मलाई धेरै पीडा हुन्छ । म काठमान्डूमा रहँदा मेरी  काकीले मेरी आमाले यो संसार छोडेको खबर सुनाएको भएको थियो । यो कुरा सम्झेर अहिले पनि मेरो मन दुख्छ ।

मलाई लाग्छ मेरी आमा सामान्य अरु नारी भन्दा फरक हुनु हुन्थ्यो । म अहिले पनि मेरी आमा जीवित हुँदा र आमासँग बिताएको सबै कुराहरु सम्झन्छु । उहाँले गर्नु भएको दु:ख र त्यो बेलामा सहनु भएका पीडाहरु अहिले पनि मेरो मनमा ताजै छ । यी सबै कुराहरुको अहिले विश्लेषण गर्दा धेरै अर्थमा र धेरै कोणमा मेरी आमा अरु सामान्य नारी भन्दा फरक हुनुहुन्थ्यो ।

स्कूलको अध्ययन सके पछि मेरो बुवाले सधै राजनीति गर्नु भयो ।  उहाँ प्रजातन्त्रको असल सिपाही हुनु हुन्थ्यो । जीवन भर कुनै स्वार्थ नराखी प्रजातन्त्रको लागि लड्नु भयो ।  मेरो बुवा केवल निष्ठाको राजनीति गर्नुहुन्थो । मेरा बुवासँगै  समकालीन राजनीति गर्ने सबैलाई थाहा छ, राजनीति गर्दा उहाँले आफ्नो धेरै धन सम्पत्ति सक्नु भयो र घर परिवारलाई भन्दा देश र जनतालाई पहिलो प्राथमिकतामा राख्नु भयो । यो सबै अवस्थामा मेरी आमा नै घर चलाउने र बुवालाई समेत आर्थिक रुपमा टेवा दिने श्रोत हुनु हुन्थ्यो ।

पंचायतकालमा प्रजातन्त्र प्राप्तिको लागि मेरो बुबा जेल बस्दा मेरी आमा नै हाम्रो लागि सबै हुनु हुन्थ्यो । उहाँले घर परिवारको लागि र मेरो बुबाको लागि जे गर्नु भयो त्यो अनुकरणीय  थियो ।  मलाई याद छ बुवा पोखरा जेलमा बस्दा मेरी आमाले हाम्रो छिमेकी काकासँग पैसा सापटी लिएर बुवालाई भेट्न जानु भएको थियो । मेरो बुवा पोखरा र दमौली जेलमा बस्दा म पनि बुवालाई जेलमा भेट्न आमासँग केही पटक गएको थिएँ । त्यति बेला बुवाको लागि आमाले घरमा नै पाकेका केही फलफूल र भुटेको मकै भट्मास कोसेलीको रुपमा लिएर जानु भएको थियो । त्यति बेला मेरी आमाले बुवालाई घर परिवारको बारेमा चिन्ता नलिन भन्नु हुन्थ्यो । उहाँको मनमा के कुरा खेल्थ्यो कुन्नि, तर बुवालाई भेट्दा उहाँ कत्ति पनि बिचलित भएको मैले देखिन ।  हामीलाई पनि बुवा देश र जनताको लागि जेल बस्नु भएकोले बुवाले निकै राम्रो काम गर्नु भएको भन्दै सम्झाउनु हुन्थ्यो ।

मेरो बुवासँगै समकालीन राजनीति गर्नेहरु सबै जसो  देशमा प्रजातन्त्र आए पछि ठूलो ठूलो पदमा पुगे । कतिले त आर्थिक रुपमा पनि धेरै छलाङ्ग मारे ।  देशमा प्रजातन्त्रको पून प्राप्ति पछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा बनेको सरकारले पंचायतकालमा जेल बस्ने र यातना पाउने पीडितहरुलाई आर्थिक क्षतिपूर्ति बाँडेको थियो । त्यति बेला कहिले पनि जेल नबसेका केही व्यक्तिहरुले समेत नक्कली कागज बनाएर क्षतिपूर्ति लिए । तर मेरी आमा भने मेरो बुवाको नाममा हामीले पाउन सक्ने क्षतिपूर्ति समेत लिन हुन्न भन्नु हुन्थ्यो । उहाँको भनाई थियो, ‘बुवाले देश र जनताको लागि नि:स्वार्थ सेवा गर्नु भएको थियो, त्यसैले उहाँ जस्तो व्यक्तिले गरेको सेवालाई पैसासँग तुलना गर्नु हुँदैन र हामीले कुनै आर्थिक क्षतिपूर्ति लिनु हुँदैन ।’ त्यति बेला हाम्रो परिवार आर्थिक संकटबाट गुज्रेको थियो । तर पनि मेरी आमाले हाम्रो पारिवारिक  संकट टार्न न त सरकारी आर्थिक सहयोगको याचना गर्नु भयो न त कुनै नेताको ढोका चाहार्नु भयो । उहाँले आफ्नो परिवार र मेरो बुवाको स्वाभिमान कुनै पनि स्वार्थसँग साट्नु भएन ।

त्यति बेला गाउँमा मेरी आमालाई सधै गाउँबेशी गर्नु पर्ने हुन्थ्यो । हरेक दिन जसो खेतबारीमा काम गर्न र बस्तुभाउ चराउनको लागि घरबाट तल फाँटमा झर्नु पर्ने दैनिकी थियो । साँझमा थाकेको शरीर लिएर करीब एक घण्टाको उकालो चढ्दै बेलुकी घर जानु पर्ने हुन्थ्यो । अनि मेरी आमा सानै देखि दमको रोगी पनि हुनुहुन्थ्यो । न त हिउँद भन्न पाउने, न बर्षा नै भन्न पाउने । उहाँको जीवन खेतीपाती, बस्तुभाउ, घाँस दाउरा र घर परिवारको लागि काम गर्दै बित्यो ।

मेरी आमाको बुवा र आमा दुवै उहाँ सानै हुँदा बित्नु भएको रहेछ । उहाँको एक जना दाई मात्रै हुनु हुन्थ्यो । उहाँ पनि युवास्थामा नै बित्नु भएको रहेछ । त्यसैले मेरी आमाको माइतीमा उहाँको भाउजु वा मेरो माइजु बाहेक अरु कोही थिएन । मेरी आमा कुनै दिन पनि माइती गएको मलाई थाहा भएन । म सानो हुँदा खासै त्यो कुरामा ध्यान दिईन । अहिले म अनुमान मात्रै गर्न सक्छु त्यो कुराले उहाँ कति दुखि हुनु हुन्थ्यो होला । मेरी आमाको माईती तिर सबै जना छिट्टै नै बितेकोले उहाँ आफू पनि धेरै नबाँच्ने कुरा बताउनु हुन्थ्यो । संयोग भनुँ वा भगवानको इच्छा मेरी आमा पनि त्रिपन्न बर्षको उमेरमा बित्नु भयो ।

करिब २०३३ साल तिरको कुरा होला । पृथ्वी राजमार्गको छेउमा रहेको हाम्रो एउटा जग्गामा मेरो बुवाले  फलफूलको बिरुवा उत्पादन गर्ने नर्सरी र त्यहीं सँगै फलफूलको बगैचा पनि बनाउनु भएको थियो ।  बिहान देखि बेलुकी सम्म राजनीति गर्ने मेरो बुवाले त्यो नर्सरीमा काम गर्न र त्यसको आर्थिक पक्ष हेर्ने फुर्सद कहिले पनि नहुने ।  अनि बुवा बेला बेलामा भूमिगत हुनु पर्ने र कहिलेकाँही जेल समेत बस्नु पर्ने । त्यसैले मेरी आमाको भरमा चलेको थियो त्यो नर्सरी । दमको रोगी, अनि नर्सरीमा गर्नु पर्ने चिसो काम ।  कति दु:खदायी थिए होलान उहाँका ती दिन । त्यस माथि आफ्नो खेतीपाती, बस्तुभाउ र परिवारको काम त छँदै थियो ।

मेरी आमा छयालीस बर्षको हुँदा मेरो बुवा बित्नु भयो । अनि घर परिवार हेर्ने र सबै कुरा सम्हाल्ने  जिम्मा मेरी आमाको थाप्लोमा आयो ।  त्यति बेला पनि उहाँले आफ्नो सबै कर्तब्य र जिम्मेवारी राम्रोसँग पुरा गर्नु भयो । बुवा बित्दा म जम्मा सोह्र बर्षको थिएँ । तसर्थ  परिवार चलाउनको लागि म खास कुनै जिम्मेवारी लिन सक्ने अवस्थामा थिईन । खेतीपाती भन्दा अरु हाम्रो आयश्रोत केही पनि थिएन । त्यसैले हामीलाई आर्थिक रुपमा घर चलाउन निकै गाह्रो थियो ।  त्यस्तो अवस्थामा पनि मेरी आमाले सकेको सबै गर्नु भयो र हामीलाई आज यो ठाउँ मा पुर्याउन ठूलो सहयोग गर्नु भयो ।

यी माथि लेखिएका कुराहरु त केही प्रतिनिधि घटना र कुराहरु मात्रै हुन् । मसँग मेरी आमाको बारेमा लेख्न धेरै यस्ता कुराहरु छन् जुन सबको लागि प्रेरणाको श्रोत बन्न सक्छन ।  उहाँ साँच्चै नै सबैका लागि उदाहरणनीय नारी पात्र हुनुहुन्थ्यो  । मेरी आमा अहिले हामी माझ नहुनु भएकोमा म निकै दुखी छु । तर उहाँको बारेमा मैले यो शब्दहरु लेख्न पाउँदा आज म आफै गौरवको महशुस गर्दै छु ।

मेरी आमा निराक्षर हुनु हुन्थ्यो । यो लेख लेख्दा यदि उहाँ कहींबाट मलाई अहिले हेर्दै  हुनु हुन्छ भने पनि मेरी आमालाई सायद थाहा नहोला म उहाँ कै बारेमा केही लेख्दैछु । तर मेरी आमाले पक्कै भन्नु हुनेछ कि मेरो कान्छो लेखपढ गर्छ, निकै मेहेनत गर्छ । यदी अहिले नै आत्माको आत्मासँग कुनै सम्पर्क हुने हो भने म उहाँ लाई यो लेख पढाएर सुनाउने थिएँ । उहाँलाई अहिले नै भेट्न पाउने हो भने म एक पटक उहाँको काखमा बस्ने थिएँ र धितमरुन्जेल मेरी आमाको न्यानो मायाको फेरि पनि अनुभूति गर्ने थिएँ ।

तपाईको प्रतिक्रिया




फेसबुक